भर्खरै :

ओखलढुङ्गादेखि युद्धसम्म

चिन्मय
“सिद्धिचरण श्रेष्ठलाई चिन्दछु । उनको घर हाम्रै गाउँमा थियो । बुढाले धेरै कविता लेखेका छन् रे !” युगकवि सिद्धिचरणलाई बुढा भन्ने यी बाजे आफै पनि डाँडामाथिको घाम भइसकेका छन् । तैपनि जवानीको छाप ! उनलाई आफूभन्दा एक पुस्ताअघिका सिद्धिचरण बुढा नै लाग्छन् ।
“ओखलढुङ्गा भन्ने गीत रेडियोमा आउँछ । म पनि त्यहीँ ओखलढुङ्गाको हुँ । पहिले गाउँमा खेतीपाती गरिन्थ्यो । पछि लाहुर लागियो ।” ३० वर्षअघि तराई झरेका यी बाजेलाई आजभोलि ओखलढुङ्गाभन्दा विराटनगर नै प्यारो लाग्छ । विराटनगरसँग जोडिएको नमीठो अनुभूति भने मच्छेड वा लामखुट्टेको हो । गर्मीले गर्दा विराटनगरमा मच्छेडको हमला नै हुन्छ । मच्छेडको कुरा बताएर बाजे फिस्स हाँसे ।
“यहाँ कसकोमा बस्नुहुन्छ ?” जवाफमा उनले भने, “कान्छो छोराले यहीँ घर बनाएको छ । ऊसँग बस्छु आजभोलि । उसैको छोरा पढेर आउँछ । बसमा यहीँ ओर्लन्छ । त्यहीँ नातीलाई पर्खिरहेको छु ।” बसबिसौनीको फलामे बेन्चमा बसेका सेतो इस्टकोट र सेतै दौरा लगाएका बाजेले बेलिबिस्तार लगाए । बेलाबेला उनी सामाखुसीबाट आउने गाडीतिर नजर दौडाउँथे ।
ओखलढुङ्गाबाट सिद्धिचरण काठमाडौँ आए । आफ्ना साथी गंगालाल श्रेष्ठहरूसँगै प्रगतिशील विचारबाट प्रभावित भए । युगलाई ब्युँझाउने गरी रुमानी कविता लेख्न थाले । एउटा कविता लेखेको अभियोगमा जेल चलान गरिए । यी र यस्ता खबरबारे मेरो छेउमा लट्ठी अड्याएर बसेका बाजे जानकार छन् छैनन् जान्न मनलाग्यो । त्यसैले सोधेँ, “सिद्धिचरणले त राणाहरूविरुद्ध सङ्घर्ष गरे । तपार्इँ पनि राजनीतिमा लाग्नुभयो होला नि ?” धरोधर्म लागेको छैन भनेजस्तो हाउभाउमा खैरो टोपी लगाएका बाजेले भने, “अहँ ! लागिन । नेपालको १० सालमा इन्डियन सेनामा भर्ती भएँ । उताको ५३ सालमा । नेपालको २७ सालमा पेन्सन आएको हुँ ।”
नेपालीको जुनी पनि अनौठो छ । बेलायती साम्राज्यवादलाई रिझाउन राणाहरूले गोर्खा भर्तीको बाटो खोले । सिद्धिचरणहरूले राणा शासन त मेटे तर राणाहरूले आफ्नो ढुकुटी भर्न थालनी गरेको कुप्रथा भने मेट्न सकेनन् । प्रजातन्त्र आएको ३ वर्षपछि उनकै गाउँले यी बाजे भारतीय सेनाको अघिल्लो पङ्क्तिमा ज्यान थाप्न बाध्य थिए । बाजेले १९६२ को भारत–चीन युद्ध देखे । १९६५ को भारत पाकिस्तान युद्ध पनि भोगे । पुराना कुरा सम्झिँदै उनी भन्छन्, “त्यसबेला नेपालमा महेन्द्र राजा थिए । चिनियाँ सेना नो मेन लेण्ड भन्ने मान्छे नबस्ने देशमा आयो । हाम्रो गोर्खा राइफलको कमान्डरले हामीलाई यो कुरा सुनायो । त्यसपछि हामी पनि लडाइँमा गयौँ । मोर्टार भन्ने ठूलो बन्दुक हुन्छ । म त्यहीँ बन्दुक चलाउँथे । त्यसैको चर्को आवाजले गर्दा आज पनि म कानले राम्ररी सुन्दिनँ । बाबु नजिकै बसेको भएर मात्र सुनेको छु ।” सुरुदेखि नै उनको अस्वाभाविक हाउभाउको कारण बल्ल मैले थाहा पाएँ ।
बाजे भन्दै थिए, “त्यसबेला भारत युद्धको लागि तयार थिएन । चिनियाँहरूसँग अटोमेटिक हतियार थियो । हामीसँग भने हरेकपटक लोड गर्दै हान्नुपर्ने हतियार थियो ।” तैपनि यो युद्ध बराबरीमा टुङ्गिएको हो भनेर उनीलगायत सबै पल्टनियाँलाई कमाण्डरले भनेछन् । यी बाजे यति सोझा छन् कि उनी अझै पनि यहीँ भ्रममा छन् । वास्तवमा यो युद्धमा भारत नराम्ररी हारेको थियो । यस युद्धमा भारतको पक्ष नलिएकै कारण नेपाललाई भारतले बैरीको नजरले हेर्न थाल्यो । यहीँ युद्धमा नेपालको कालापानी क्षेत्रमा पसेको भारतीय सेना आजसम्म पनि नेपालको हजारौँ हेक्टर जमिन हडपेर बसेको छ । यस्ता कुराबारे बाजे बेखबर छन् ।
बाजेले सरल शैलीमा फेरि भने, “चीनले भारतको आँखा खोल्दियो । त्यसैले ६५ मा पाकिस्तानलाई भारतले जित्यो । त्यो लडाइँ चीनसँगको लडाइँभन्दा धेरै डरलाग्दो थियो । हामी गोर्खालीलाई इन्डियनहरूले सधैँअगाडि राख्थे । चिनियाँ सेनाले हाम्रो पल्टनका धेरै नेपालीहरूलाई, आसाम राइफलका आइमार्ई र भारतीयहरूलाई पनि समातेका थिए । तर भारतीयहरूलाई कुकुरको मासु ख्वाएको बाहेक अरू केही नराम्रो गरेनन् । तर पाकिस्तानीहरूले धेरै पञ्जाबी महिलालाई जबरजस्ती गरे । उनीहरूलाई जन्तुजस्तै मारे । तिनीहरूको लास जथाभावी चिरिएको र जलाएको हुन्थ्यो ।” भारत–पाकिस्तान युद्धका विभत्स तस्वीरहरू आफ्ना आँखाअगाडि झल्झली आइरहेकोले हुनुपर्छ बाजेको स्वर अलि सुकेजस्तो भयो, “लडाइँ भनेको रद्दी हुन्छ बाबु । आइमाईहरूलाई त झनै डरलाग्दो हुन्छ । सिपाहीको जिन्दगी भनेको गधाकै जिन्दगी हो बाबु ।”
गोर्खा भर्तीको करुण कथा नेपाली मानसिकतामा शूल बनेर गडेको छ । आज पनि नेपाली युवाहरू विदेशी सेनामा भाडाका टट्टु बन्न बाध्य छन् । साम्राज्यवादी र विस्तारवादीहरूले नेपालीलाई “गोर्खाली गोर्खाली” भन्दै जतिसुकै पुल्पुलाए पनि हाम्रोजस्तो तेस्रो विश्वका देशभक्त जनताले गोर्खाली सेनालाई दुष्ट सेनाको रूपमा लिन्छन् । यी बाजेलाई भारत–चीन युद्ध पश्चिमा साम्राज्यवादीहरूको उक्साहटमा भारतले सुरु गरेको थियो भन्ने थाहा भएन । तैपनि मनमा न्यायको लागि लडियो भन्ने भ्रम लिएर नेपालका दुई मित्र देश चीन र पाकिस्तानसँग लडे । त्यस्तै गोर्खा पल्टनको नाममा नेपाली युवाहरूले इण्डोनेसिया, कम्बोडिया, मलायाजस्ता देशका देशभक्तहरूलाई सखाप पारे । अफ्रिका र ल्याटिन अमेरिकामा पनि यसरी नै मान्छे काटे । वीर गोर्खालीको नाममा बेलायती रानीको मुकुट चम्काउन अर्जेन्टिनी भूभाग फोकल्याण्ड टापु कब्जा गरिदिए । कुनै बेला भारतीय सेनाले कालापानीको नेपाली भूभाग त्यसरी नै कब्जा गरेको थियो । के यस विषयमा विदेशी सेनामा भर्ती हुन जम्जमाउने नेपाली युवाहरूले सोच्नुपर्दैन ? नेपालमा भारतले सीमा अतिक्रमण गरिरहँदा अर्काको देश रक्षा गर्न जाने, धनी देशको ढुकुटी भर्न गरिब देशका हिरा, सुन, फलामजस्ता खानी लुट्न जाने युवाहरूले आफूलाई बुद्धको देशको नागरिक हँु भन्न सुहाउँछ ?
यस्ता थुप्रै प्रश्न मेरो मथिङ्गलमा खेल्छन् । बाजेका छोरा नेपाली सेनामा रहेछन् । त्यसैले चित्त बुझ्छ । बिदा लिँदै म जुरुक्क उठ्छु । यत्तिकैमा गोरो र फुर्तिलो उनको नाति पनि आइपुग्छ । उनी म हिँड्नुभन्दा पहिले नै शरीर ढल्काउँदै बाटो काट्छन् र मलाई “लौ जान्छु त सर !” भन्दै दुई हात जोड्छन् । उमेरका कारण मलाई अलि अप्ठ्यारो महसुस हुन्छ । नमस्ते फर्काउँदै गर्दा म घोरिन्छु, “आफ्नो १७ वर्षे सेवाकालमा उनले सिकेकै यहीँ हो ।”
मैले यो अशिष्टता लुकाउन सकिनँ । पाठक साथी, यो कटाक्षपूर्ण विचार सुनेर तपार्इँ मसँग रिसाउन सक्नुहुन्छ । किनभने तपार्इँ नेपालमै हुनुहुन्छ र आनन्दले गाउन सक्नुहुन्छ, “मेरो प्यारो ओखलढुङ्गा…..।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *