भर्खरै :

काइसोङ औद्योगिक क्षेत्र खुला गर्न व्यापारी समुदाय उत्सुक

सियोल, २० वैशाख (योनहाप) । दक्षिण कोरियाका एकीकरण मन्त्री किम योन–चुलले प्रजग कोरियाको सीमावर्ती सहर काइसोङमा रहेको औद्योगिक क्षेत्र पुनः सञ्चालनमा ल्याउन व्यापारिक समुदायसँग छलफल गर्नुभएको छ ।
प्रजग कोरियाले आणविक परीक्षण गरेसँगै काइसोङ औद्योगिक क्षेत्र बन्द भएको थियो । यस क्षेत्रमा दक्षिण कोरियालीको लगानीमा केही कारखानाहरू सञ्चालनमा थिए । यो क्षेत्रले प्रजग कोरियाली नागरिकहरूलाई रोजगारीको अवसर सिर्जना गरेको थियो ।
छलफलका क्रममा सन् २०१६ मा एकाएक बन्द भएको उक्त औद्योगिक क्षेत्रमा रहेका औद्योगिक उपकरणको अवस्था बुझ्न २०० जनाभन्दा बढी उद्योगी–व्यवसायीले काइसोङ भ्रमणका लागि अनुमति चाहेको बताएका थिए । औद्योगिक क्षेत्र बन्द भएयता उद्योगी व्यवसायीले यस्तो अनुरोध गरेको यो नवौं पटक हो ।
एकीकरण मन्त्रालयले व्यवसायीहरूले प्रजग कोरिया भ्रमणका लागि सहयोगको आग्रह गरेको जनाएको छ ।
मन्त्रालयका अनुसार मन्त्री किमले व्यवसायीको अनुरोधलाई ध्यानपूर्वक सुन्नुभएको र निरन्तर सम्पर्कमा रहने बताउनुभएको थियो ।
यसअघि दक्षिण कोरिया सरकारले काइसोङ औद्योगिक क्षेत्रको भ्रमणमा जान व्यवसायीलाई रोक लगाउँदै आएको थियो । खासगरी संयुक्तराज्य अमेरिकाले लगाइरहेको आर्थिक प्रतिबन्ध तथा प्रजग कोरियाले जारी राखेको आणविक परीक्षणका कारण काइसोङ औद्योगिक क्षेत्र सञ्चालनका बारेमा अन्यौल कायम छ ।
सन् २००४ मा खुलेको काइसोङ औद्योगिक क्षेत्र प्रजग–दक्षिण कोरियाको सफल आर्थिक सहयोग परियोजनाका रूपमा लिइएको थियो । यो औद्योगिक क्षेत्रमा दक्षिण कोरियाको पँुजी र प्रजग कोरियाको सस्तो श्रम प्रयोग हुने गरेको थियो । तर सन् २०१६ मा तत्कालीन राष्ट्रपति पार्क ह्युन–हेको आदेशमा उक्त औद्योगिक क्षेत्रबाट व्यवसायीहरू पलायन भएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *