भर्खरै :

खानेपानीका लागि बस्ती सार्दै स्थानीय

– विमलबहादुर विष्ट
डोटी, २० वैशाख । डोटीमा खानेपानी समस्या समाधानका लागि स्थानीयवासी बस्ती सार्दैछन् भन्ने सुन्दा अचम्म लाग्न सक्छ । गर्मी बढेसँगै यहाँको जोरायल गाउँपालिका–३ थलीगाउँका बासिन्दा धामधम बस्ती सार्न थालेका हुन् । गाउँमा पानीका मुहान भटाभट सुकेका छन् । गाउँबाट करीब एक घण्टाको दूरीमा खोप्चेपानी र पूर्वेली मुहान भए पनि पानी पर्याप्त नहँुदा उनीहरू बस्ती नै सार्न थालेका हुन् ।
झिसमिसे बिहानैबाट स्थानीय मुहानबाट चुहिने पानी सङ्कलन गरेर गुजारा गरिरहेका छन् । करीब ४५ परिवार भने पानीको समस्या झेल्न नसकेर बस्ती नै सरेर ठुलीगाडमा झरेको स्थानीयवासी कृष्णा थापाले बताउनुभयो । उहाँले भन्नुभयो, “पानीको अभाव झेल्न नसकेर थलीगाउँको बस्ती वर्षेनी गर्मीयाममा ठुलीगाडमा आउन थालेको चार दसक हुन लागेको छ, पानीकै लागि बस्ती सारिँदैछ, पानीको पहल हुनसकेको छैन ।”
पानीको अभाव झेल्न नसकेर थलीगाउँको बस्ती वर्षेनी गर्मीयाममा ठुलीगाडमा आउन थालेको चार दसक हुन लागेको ठुलीगाडस्थित विपीनगरका स्थानीय रोज कलेलले बताउनुभयो । उहाँले भन्नुभयो, “गर्मीयाममा पानीका मुहान सुक्ने भएपछि थलीगाउँका स्थानीयवासी पानी नहुँदा ठुलीगाड आउने गरेको लामो समय भएको छ, पानीको पहल हुन सकेको छैन ।” खानेपानीका लागि थुप्रै निकायमा पहल गरे पनि अहिलेसम्म योजनामा नपरेको थलीगाउँका स्थानीयवासीको आरोप छ । उनीहरूका अनुसार पानीका लागि वर्षेनी बस्ती सार्नुपरेको छ, कसैले पहल गर्दैनन् ।
अहिले ३५ परिवारका २५० जनसङ्ख्या अझै थलीमा छन् । विसं २०५८ मा वर्षातको पानी सङ्कलन गर्ने घैँटा बनाइएको थियो । तर, घैँटा चुहिने भएकाले वर्षात् सकिएसँगै पानीको हाहाकार सुरु हुन्छ भने अर्कोतिर सङ्कलित पानी पिउँदा अधिकांश गाउँलेमा कमलपित्त रोग देखिने गरेको स्थानीयवासी बताउँछन् ।
जोरायल गाउँपालिकास्थित नेपाल आदिवासी जनजाति महासङ्घका अध्यक्ष सुरज रोकामगरले खानेपानीको अभावले विभिन्न क्षेत्रमा असर पर्दै गएको बताउनुभयो । उहाँका अनुसार पढ्ने विद्यार्थीसमेत समस्यामा परेको बताउनुभयो । गाउँमा पानी नहुँदा स्थानीयवासी बिहानैदेखि करीब दुई घण्टा टाढाको दूरीमा रहेको सकिनाखोलाको पानीले गुजारा चलाइरहेको बताइएको छ । उता जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले भन्नुभयो, “पानीको मुहान टाढा छ, गाउँमा पानीको ठूलै समस्या भएकाले योजनाका लागि प्रदेश सरकारलगायतका सरोकारवाला निकायमा पहल सुरु गरेका छौँ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *