भर्खरै :

बिस्का सकियो, रथ जहाँको त्यहीं

भक्तपुर, २१ वैशाख । बिस्का जात्रा सकिएको झण्डै बीस दिन बितिसकेको छ । तर, बिस्का जात्रामा तानिएको जीर्ण भैरवनाथको रथ (भैलखः) भने अझै पनि जहाँ छोडिएको हो, त्यही छ । बिस्काको अन्तिम दिन वैशाख ५ गते रथ तानेर भक्तपुरको तेखापुखुमा पु¥याइएको भैलखः अहिले पनि जस्ताको तस्तै छ । बीच बाटोमा रथ त्यत्तिकै धेरै दिन अलपत्र रहँदा सवारी आवागमनमा समस्या भइरहेको छ । भक्तपुर नगरको मुख्य सडकमा यसरी झण्डै महिना दिनसम्म रथ राख्दा बाटो हिँड्ने सर्वसाधारण र सवारी चालकहरूलाई समस्या भइरहेको छ ।
खुला आकाशमुनि बाटोमा रहेको जीर्ण बनिसकेको भैलखःलाई नियमित जस्तो परेको वर्षा र चर्को घामले अझ जीर्ण बनाउने निश्चित छ । जात्राको लागि रथ बनाउने, जात्रा पछि रथ बिगार्ने र रथका पाट‘पुर्जाको सुरक्षा गर्ने जिम्मेवारी गुठी संस्थानको हो । तर, झण्डै महिना दिनसम्म गुठी संस्थानले कुनै पर्वाह गरेको देखिएन । रथको कुनै पनि भाग चोरी वा भाँचकुँच भए पनि कसैले जिम्मेवारी लिने अवस्था छैन ।
भैलखः तान्न प्रयोग हुने डोरी नजिकैको पाटीमा केटाकेटी खेल्ने खेलौना बनेको छ । डोरी काम नलाग्ने गरी टुक्रा टुक्रा बनाइएको छ । रथमा दैनिक केटाकेटी खेलिरहेका छन् । स–साना केटाकेटी अग्लो रथमा खेल्दा दुर्घटना हुने सम्भावना पनि उत्तिकै छ ।
गुठी संस्थानले कमसल रथ बनाउँदा यो वर्ष बिस्काको सुरुकै दिन रथ बिग्रेको भनी आलोचना पनि भएको थियो ।
बिस्का जात्रामै तानिने भद्रकालीको रथ (नकिंजु खःचा) पनि बेवारिसे अवस्थामा अझैसम्म तालाक्वमा राखिएको छ । तालाक्व जाने साँघुरो गल्लीमा राखिएको रथका कारण बाटोमा आवागमन नै बन्द भएको छ ।
जात्राको लागि समयमै रथ बनाउने र जात्रालगत्तै रथ बिगार्ने काम भए रथका पार्टपुर्जा कमजोर नबन्ने स्थानीयको भनाइ छ ।
“रथ बिगँ्रदा सरकारी सम्पत्ति नोक्सान भए पनि गुठी संस्थानका प्रमुखदेखि रथ बनाउने ठेकेदारलाई फाइदा हुने भएकोले रथ सम्भारमा जिम्मेवार व्यक्तिहरूको ध्यान जाँँदैनन् । अनि कसरी सम्भार होस् !”, तेखापुखु निवासी एक स्थानीयले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *