भर्खरै :

अङ्ग्रेज उपनिवेशवादविरोधी माक्र्स

फकरुल आलम
कार्ल माक्र्सले भारतीय कपडा निर्यातमा आएको कमीलाई भारतमा बेलायतले थोपरेको मलमल कपडाको एकाधिकार र ढाकामा भएको नरसंहारसँग जोडेका थिए । हाम्रो सहर (लेखक बङ्गलादेशका प्राध्यापक हुन् र यहाँ उनी ढाका सहरको कुरा गरिरहेका छन्) मा उपनिवेशवादले पारेको प्रभाव र बेलायती उपनिवेशवादले अङ्गालेको घातक नीतिले तत्कालीन भारतअन्तर्गत हाम्रो भागमा थोपरेको परिणामबारे माक्र्सले भनेका छन् ः
“सन् १८१८ देखि १८३६ सम्ममा बेलायतबाट भारतमा हुने निर्यातको अनुपात १ः५२०० पुग्यो । (अर्थात् भारतले बेलायतमा एउटा वस्तु निर्यात गरे बेलायतले ५२०० वटा वस्तु भारतमा निर्यात गथ्र्यो ।) सन् १८२४ मा भारतमा निर्यात गरिने बेलायतको मलमल कपडा १० लाख गज थियो भने १८३७ मा आइपुग्दा भारतमा निर्यात हुने बेलायतको मलमल कपडा ६ करोड ४० लाख गज पुगेको थियो । त्यही समयमा ढाका सहरको जनसङ्ख्या भने १ लाख ५० हजारबाट २० हजारमा झरेको थियो । कपडा उत्पादनको लागि नाम कमाएको सहरमा जनसङ्ख्या यसरी घट्नुले ज्यादै नराम्रो परिणाम निम्त्यायो । बेलायती भाप इन्जिन र विज्ञानले सम्पूर्ण हिन्दुस्तानबाट कृषि तथा उत्पादनमूलक उद्योगबीचको सम्मिलनलाई भत्काइदियो ।”
त्यही लेखमा माक्र्स उपनिवेशविरोधी विश्लेषणमा गहिरो गरी पस्दै (इस्ट इन्डिया) कम्पनीले भारतको सामाजिक बनावटलाई कसरी भत्कायो र आर्थिक रुपमा भारत कसरी कमजोर बन्यो भन्नेबारेमा विस्तृत व्याख्या गरेका छन् ।
त्रिव्युनमा प्रकाशित अरु लेखहरूमा माक्र्सले भारतमा बेलायती कब्जाका अन्य कारण र परिणामबारे लेखेका छन् । ‘द इस्ट इन्डिया कम्पनी– इट्स हिस्ट्री एन्ड रिजल्स’ (इस्ट इन्डिया कम्पनी–त्यसको इतिहास र परिणाम) शीर्षकको लेखमा उपनिवेशवादका दाँतहरूले कसरी नयाँ नयाँ भूमि लुछ्ने गर्छ भन्ने विषयमा व्याख्या गरेका छन् । उनले ‘उत्तर अमेरिकामा आफ्ना उपनिवेश गुमाएको’ अंग्रेजहरूले ‘कुनै अर्को ठूलो उपनिवेश बनाउन पर्ने आवश्यकता’ महसुस गरेका थिए भन्ने विषयमा लेखेका थिए । त्यो लेखमा माक्र्सको विश्लेषण आजको भूमण्डलीकरणको हाम्रो युगको सन्दर्भमा पनि त्यत्ति सान्दर्भिक छ ।
हिन्दुस्तानमा भएको सिपाहीं विद्रोहको विषयमा धाराबाहिक लेखहरू लेखेर माक्र्सले आफ्ना अङ्ग्रेजी भाषी पाठकलाई कसरी बेलायती सेनाले निर्मम दमन चलाएको थियो भन्नेबारे व्याख्या गरेका थिए । बेलायती उपनिवेशवादी शासनको सुरुदेखि नै उपनिवेशवादीहरूले भारतीयमाथि गरेको रक्तपिपासु व्यवहारको अवश्यम्भवी परिणामको रूपमा भारतीय सिपाहींहरूको विद्रोहलाई माक्र्सले प्रष्ट घोषणा गरेका छन् । माक्र्सको बुझाइमा त्यस्तो विद्रोह अरु केही नभई ‘ऐतिहासिक प्रतिकार’ को प्रदर्शन हो । त्यस्तो प्रतिकारको लागि उत्पीडित स्वयम्सँग हतियार हुने गर्दैन । उत्पीडकका हतियारबाटै प्रतिकार हुने गर्छ ।
तत्कालीन समयमा माक्र्सले गरेजस्तै अङ्ग्रेज शासकमाथि यसप्रकारको हमला गर्ने हिम्मत र विश्लेषण गर्ने क्षमता निकै कम पश्चिमासँग मात्र थियो । सिपाहीं विद्रोहको क्रममा भएका घटनालाई बङ्ग्याएर प्रस्तुत गर्ने बेलायती प्रयासलाई उनले उदाङ्ग्याइदिए । उनले बेलायती उपनिवेशवादलाई तीखो प्रहार गर्दै आफ्ना पाठकलाई सम्झाएका थिए,“सबै निशृंसता
(भारतीय) सिपाहींहरूको तर्फबाट भएको र बेलायती पक्षबाट मानवीय सद्भावको दूधको धारा बगेको थियो भनी सोच्नु ठूलो गल्ती हुनेछ ।” माक्र्सले कम्पनीका एक पक्षीय सञ्चारमाध्यममार्फत प्रसारण गरिएका भारतीय उग्रतासम्बन्धी प्रचारबाजी र गलत सूचनाको झूट उदाङ्ग्याइदिए । छोटो समयको सम्पादनमा प्रकाशित उनका अखबारी लेखहरूमा माक्र्सले भारतीय उपमहाद्विपमा बेलायती कब्जाको वास्तविक इतिहास र त्यसक्रममा भएका लडाईंमा भारतीय र बेलायती पक्षबीचको वास्तविक मानवीय क्षतिबारे व्याख्या गरेका थिए । उनले अङ्ग्रेज शासन र हमलाविरुद्ध भारतीयहरूको विद्रोहमाथि बेलायती शक्तिले गरेका अन्यायपूर्ण निर्मम हमलाबारे छर्लङ्ग लेखे । यस्ता कुरा कम्पनीको पैसाले पालिएका अङ्ग्रेजी पत्रकार र राजनीतिज्ञहरूले पूरै छोपेका हुन्थे । विद्रोहीमाथि बेलायती उपनिवेशवादी सेनाले प्राप्त गर्ने प्रत्येक विजयपछि हुने लुटपाटबारे माक्र्सले ध्यानाकर्षण गरे ।
आफ्ना पछिल्ला लेखहरूमा माक्र्सले बङ्गालमा अर्को भोकमरीको सम्भावनाका सङ्केतबारे लेखेका छन् । उनले उन्नाइसौँ शताब्दीको त्यत्तिञ्जेलसम्म कहिल्यै भारतमा अनिकाल नभएको तर अङ्ग्रेजले कब्जा गरे यताअनिकाल ‘त्रासद पीडाको स्रोत’ बनेको लेखेका छन् । सन् १७७० मा भएको ठूलो बङ्गाल अनिकालका निम्ति कार्ल माक्र्सले इस्ट इन्डिया कम्पनी र अंग्रेजी उपनिवेशवाद जिम्मेवार भएको ठहर गरेका छन् ।
सिपाहीं विद्रोहमाथि दमनपछि अङ्ग्रेज शासकहरूले भारतलाई अझ नयाँ जोस र जाँगरका साथ दमन गरेको वास्तविकता माक्र्सले निर्भिक भएर उजागर गरे । सन् १८५८ को जुलाई महिनाको लेखमा माक्र्सले भारतीय उपमहाद्विपमाथि अङ्ग्रेज शासकले ‘कम कर लगाएको’ भन्ने दाबीको खण्डन गरे । बरु अङ्ग्रेजले थोपरेको करले भारतीय जनतालाई धुलोपिठो बनाएको र जनतामाथि चर्को कर थोपर्दा यातनाको रुपमा भारतीय जनता भोकमारी सामना गर्न बाध्य भएको लेखेका छन् । माक्र्सको विश्लेषणअनुसार त्यसरी सङ्कलन गरी जम्मा गरिएको कर अङ्ग्रेज उपनिवेशका ‘शासक वर्ग’ र तिनका वरपरका मानिले आफ्नो सम्पन्नता र स्वार्थको लागि प्रयोग गर्ने गर्थे । उनको बुझाइमा कम्पनीको शासनले बेलायती सरकारलाई प्रत्यक्ष शासनको लागि बाटो खोलिदिंदा पनि कुनै खालको भिन्नता हुने थिएन । बरु उपनिवेशवादीहरूले हिजोदेखि गर्दै आएको शोषण र दमनकारी नीति अझ बलियो बन्दै जाने विश्लेषण गरे । निजी र सार्वजनिक क्षेत्र हुनुले खास कुनै भिन्नता नहुने माक्र्सको बुझाइ थियो ।
सारमा माक्र्सका अनुसार साम्राज्यवादी शक्तिले अवलम्बन गरेका जाली नीतिलाई बेलायती साम्राज्यले नमिल्काएसम्म भारतीय हुनु वा चिनियाँ हुनुमा कुनै भिन्नता हुँदैन । सिपाहीं विद्रोहपछिको अवस्था भनेको अर्को आँधीहुरी आउनुपूर्वको शून्य अवस्था भएको माक्र्सको बुझाइ थियो । ‘अङ्ग्रेजविरोधी भावनाको आगो कुनै पनि बेला उठ्न सक्ने’ लेखेका थिए–माक्र्सले ।
भारतसम्बन्धी लेखनमा माक्र्सले लगातार उपनिवेशवादविरोधी मान्यता छोडेनन् । यसमा हामीबीच कुनै दुविधा हुनुहुन्न ।
(यो लेख जनवरी ८, २०१९ मा मन्थ्ली रिभ्यु पत्रिकाको अनलाइन संस्करण एमआरअनलाइनमा प्रकाशित फकरुल आलमको लेख ‘कार्ल माक्र्स अन इन्डियाःएन असेसमेन्ट, भाग–दुई’ को सानो अंशको अनुवाद हो । यसको पहिलो भागको नेपाली अनुवाद २०७५ फागुन ७ को मजदुर दैनिकमा प्रकाशित छ ।)
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *