यिङस्युमा वैशाख १२ को सम्झना
- बैशाख ११, २०८३
नारायणमान बिजुक्छें (रोहित)
कार्ल माक्र्सको मृत्यु १४ मार्र्च १८८३ मा भएको थियो । सय वर्षको यस अवधिमा संसारमा धेरै ठूल–ठूला परिवर्तनहरू भइसकेका छन् । यसकारण पुँजीवादी र सर्वहारावादी दुवै पक्ष माक्र्सवादबारे अनेक टीका–टिप्पणी र लेखाजोखा गर्दैछन् । पुँजीवादी पक्षले माक्र्सवाद पुरानो भइसकेको दाबी गर्दै माक्र्सवादको वैज्ञानिक पक्षलाई नै काम नलाग्ने सावित गर्ने कोसिसमा लागेको छ । तिनीहरू माक्र्सवादको वैज्ञानिक पक्षलाई अस्वीकार गर्नुभन्दा त्यसको क्रान्तिकारी पक्षलाई नै अस्वीकार गर्ने उद्देश्य राख्दछन् । माक्र्सवादलाई विरोध र कम मूल्याङ्कन गरेर तिनीहरू सर्वहारा क्रान्ति र समाजवादको अनिवार्यतालाई पन्छाउने सैद्धान्तिक आधार तयार गर्न खोज्दैछन् । तर, त्यो तिनीहरूको दिउँसोको सपनामात्रै हुनेछ ।
ऐँगेल्सले एकचोटि भन्नुभएको थियो, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, जर्मनी आदि हरेक देशको पुँजीवादी क्रान्तिपछि कामदार वर्गलाई निःशस्त्र पार्ने शोषक वर्गको मुख्य धर्म बनेको थियो । लियोनमा भएको मजदुर विद्रोहदेखि पेरिस कम्युनसम्म मजदुर वर्गले आफ्नो देशभित्र आफूलाई मद्दत गर्ने कुनै वर्ग तयार भइसकेको पाएनन्, न त बाहिरबाटै मद्दत दिने कुनै शक्ति पाए । तर, हरेक पुँजीवादी क्रान्तिले आध्यात्मिक (वैचारिक) र भौतिक प्रत्यक्ष वा अप्रत्यक्ष रूपबाट अन्य देश र जनताबाट मद्दत पाएरै सफलता हासिल गरेको थियो । सन् १६४० को बेलायती पुँजीवादी क्रान्तिमा युरोपका अन्य देशहरूको धार्मिक र कूटनैतिक योगदान थियो । अमेरिकी स्वतन्त्रता आन्दोलनमा पनि बेलायत र फ्रान्सकै वैचारिक, भौतिक र कूटनैतिक योगदान थियो । फ्रान्सेली राज्य क्रान्तिमा बेलायत र अमेरिकाको प्रत्यक्ष प्रभाव र सहयोग थियो । तर, लियोन विद्रोहदेखि पेरिस कम्युनसम्म मजदुर वर्गलाई वैचारिक र भौतिक सहयोग गर्ने कुनै देश थिएन ।
सन् १९१७ को रुसी क्रान्तिपछि स्थितिमा हेरफेर आयो । सन् १९१९ मा जर्मनीको क्रान्ति र युरोपका अन्य विद्रोहहरूमा बोल्शेविक क्रान्तिबाट मानसिक प्रेरणा पाए तर रुसी क्रान्तिका अनेक जटिल स्थितिले गर्दा भौतिक वा प्रत्यक्ष सहयोग पाएनन् । त्यसकारण ती क्रान्तिहरू असफल भए ।
दोस्रो विश्वयुद्ध सुरु हुनुभन्दा अगाडि सम्म रुसमा समाजवादले एक निश्चित स्थिति कायम गरिसकेको थियो र अन्तर्राष्ट्रिय क्षेत्रमा पनि साम्राज्यवादविरोधी अनेक मुक्ति युद्ध र स्वतन्त्रता आन्दोलनहरू परिपक्वतातिर अग्रसर हुँदै थिए । पुँजीवादी देशहरूमा मजदुर आन्दोलनको आफ्नै आधार तयार भइसकेको थियो । दोस्रो विश्वयुद्धमा रुसी सेनाको सहयोगले पूर्वी युरोपेली मजदुर वर्गले जर्मनी र इटालियाली आक्रामक पुँजीवादी हमलाबाट आ–आफ्नो देशलाई मुक्त पारे । सोभियत पार्टीकै सहयोगबाट चीनले जापानी साम्राज्यवादलाई हरायो । चीन र अन्य समाजवादी देशकै सहयोगले उत्तर कोरिया संरा अमेरिकी साम्राज्यवादको आक्रमणबाट मुक्त भयो । भियतनाम, लावस र कम्बोडिया फ्रान्सेली उपनिवेशवादबाट मुक्त भए ।
रुसी क्रान्तिमा सर्वहारा वर्ग र किसान एकताले पेरिस कम्युनको राजनैतिक कमजोरी दोहोरिन दिएनन् र पेरिस कम्युनले नपाएको बाहिरी शक्तिको मद्दत चिनियाँ क्रान्तिले पायो । तर, भौगोलिक र अन्य कारणहरूबाट स्पेनको क्रान्तिलाई अन्तर्राष्ट्रिय मजदुर आन्दोलनले सहयोग पु¥याउन नसक्दा स्पेनको क्रान्ति असफल भयो । क्युवाली क्रान्तिमा भौगोलिक दूरता क्रान्तिको सहयोगको बाधा बनेन ।
अहिले एसिया, अफ्रिका र ल्याटिन अमेरिकी देशहरूमा भइरहेको मुक्ति युद्ध र मजदुर आन्दोलनले माक्र्सवाद पुरानो भइसकेको कुरा बताउँदैन । माक्र्सवाद पुँजीवादको विकास भइरहेको बेलाको सर्वहारा दृष्टिकोण थियो । सुरुमा विश्वव्यापीढङ्गले साम्राज्यवादको उत्थान, विकास र पतनबारे सबै कुरा प्रस्ट भइसकेको थिएन । यातायातको विकास, व्यापारको विश्वव्यापी रूप, नयाँ नयाँ वैज्ञानिक आविष्कार र पुँजीवादी राज्य शक्तिमा आउँदै गएको परिपक्कताबाट स्वाभाविकरूपमा हुने समाजको विकासबारे माक्र्सले गर्नुभएको कति भविष्यवाणीअनुरूप समाजको परिवर्तन हुनमा बाधा अड्चन तेर्सियो ।
बेलायती समाजको स्वाभाविक विकासको बाटो पहिले सर्वहारा क्रान्ति र समाजवाद नै थियो । माक्र्सको त्यो भविष्यवाणी दर्शन, वर्गसङ्घर्ष र आर्थिक नियममा आधारित थियो । तर, उपनिवेशका जनताको शोषणको केही भाग बेलायती मजदुर वर्गलाई समेत आर्थिक सहुलियत ‘घूस’ को रूपमा दिनसक्नु, बेलायती मजदुरहरूलाई अष्ट्रेलिया, अमेरिका, दक्षिण अफ्रिकाजस्ता उपनिवेशहरूमा विस्थापित गर्न सफल हुनु र अनेक प्रकारका मजदुरविरोधी थिचोमिचो र कृत्रिम बाधाहरू बेलायती मजदुर वर्गको अगाडि तेर्सिए । २ सय वर्षदेखि राजनैतिक सङ्घर्षको अनुभव भएको पुँजीपति वर्गलाई राजनैतिक सङ्घर्षको सारेगममात्र सिकिरहेको बेलायती मजदुर वर्गले जित्न सकेन । धर्म, जाति, इलाका जस्ता साम्प्रदायिक भावनाहरूबाट बेलायती मजदुर वर्ग मुक्त भइ नसक्नु, कूट–युद्ध र मन्त्र युद्धका अनेक अनेक छलछामहरूमा पोख्त सामन्त र पुँजीवादी राजनैतिक शक्तिलाई त्यस क्षेत्रमा हराउन सक्ने राजनैतिक सङ्गठन बनी नसक्नु, देश भित्रका सबै मित्र वर्गलाई एकगठ गर्नसक्ने अर्थात् देश र विदेशको शत्रुको शत्रुलाई समेत मित्र बनाई साझा शत्रुको विरोधमा राजनैतिक र सैनिक सङ्घर्ष गर्नसक्ने राजनैतिक नेतृत्वको विकास भइ नसक्नु नै बेलायत पहिलो सर्वहारा क्रान्तिको थलो बन्न नसक्नुका कारणहरूमध्ये हुन् । पुँजीपति वर्ग भने ‘अगुल्टोले हानेको कुकुर बिजुली देख्ता तर्सन्छ’ भनेजस्तै स–साना हड्तालको गड्यौलालाई समेत ‘डै«गन’ सम्झेर युद्धस्तरमा जाल–झेल र दमन कार्य गर्न थाल्दथ्यो । त्यसबेला आजको जस्तो सर्वहारा अन्तर्राष्ट्रिय शक्तिको मद्दत पाएको भए बेलायतको ‘माग–पत्रको व्यापक आन्दोलन’ र पेरिस कम्युनजस्तो पहिलो सर्वहारा राज्यले हार्नुपर्ने थिएन । नेपोलियनलाई दुई दुईचोटि घेरामा पार्न जान्ने सामन्त र पुँजीपति वर्गको कूटनैतिक र राजनैतिक सुझबुझले त्यसबेला सैनिक दृष्टिबाट पनि परिपक्वता नआइसकेको बेलायत, फ्रान्स र जर्मनीको मजदुर आन्दोलनलाई दबाउन गा¥हो परेन ।
बेलायतमा स्वाभाविकरूपले सर्वहारा क्रान्ति भएन र समाजवाद झन् परपर पुग्यो । यसकारण माक्र्सले पछि क्रान्तिलाई ‘प्रसव वेदना’ सँग दाँज्नुभयो । आज त्यसको दुई अर्थ लाग्छ । पहिलो अर्थ हो – क्रान्ति शान्तिपूर्णढङ्गले भएन भने सशस्त्र र रक्तरञ्जित हुनेछ– नर्सले कैंची प्रयोग गरेर बच्चा जन्माएजस्तै । अर्को अर्थ हो – कुनै एक देशको समाजको स्वाभाविक विकासमार्फत नै हुने क्रान्तिमा विदेशी शक्तिले बाधा दिएमा सर्वहारा अन्तर्राष्ट्रिय शक्तिको सहयोगले पनि क्रान्ति हुनेछ । यसको उदाहरण पूर्वी युरोपेली देशहरू, चीन, कोरिया, भियतनाममात्रै होइन क्युवा पनि यसको ज्वलन्त उदाहरण हो । यसकारण माक्र्सवादको सारतत्व समय बित्दै गएपछि झन् झन् स्पष्ट हुँदैछ ।
माक्र्स र ऐँगेल्सको मृत्युपछि क्रान्तिमा असफलताका अनेक कारणहरूलाई राम्रोसँग केलाउनुको साटो वर्नस्टिनले माक्र्सवादलाई पुनः मूल्याङ्कन गर्नुपर्ने आवश्यकतामा जोड दिन थाले । पुँजीवादमा उत्पादनका साधनहरूको विकास हुँदै जाँदा पुँजीको केन्द्रीकरण केही व्यक्तिहरूको हातमा हुन्छ । समाज, पुँजीपति र मजदुर वर्ग दुई ठूला वर्गमा विभाजित हुन्छ । आखिर अत्यन्त विशाल मजदुर वर्गले पुँजीपति वर्गलाई सत्ताबाट फाल्छ र समाजवाद आउनेछ भन्ने माक्र्सको दृष्टिकोण अव्यवहारिक सावित भयो भनेर वर्नस्टिनले दाबी गरे । अन्तमा उनले भने “आन्दोलन नै सबथोक हो, अन्तिम लक्ष्य केही पनि होइन ।”
आज त्यही कुरा पुँजीवादी लेखक र प्रजातान्त्रिक समाजवादका समर्थक सम्झने देश–विदेशका केही नेता र लेखकहरू दोह¥याउँदै छन् । वर्नस्टिनको के भनाइ थियो भने पुँजीवादको विकास हुँदै जाँदा समाज पुँजीपति र मजदुर दुई वर्गमा विभाजित हुँदै जानुपर्नेमा समाजमा एक नयाँ वर्गको उदय भयो, त्यो हो– मध्यम वर्ग । यसकारण माक्र्सवादलाई पुनः विचार गर्नुपर्ने भयो । माक्र्सवाद पुँजीवाद सँगसँगै विकास भएको सर्वहारा दृष्टिकोण भएको हुँदा पुँजीवादका सबै भावी रूपहरू त्यसैबेला माक्र्स र ऐंगेल्सको जानकारीभित्र पर्ने कुरै थिएन । त्यसबेला मध्यम वर्गको रूपमा विकास भएका कति भाग आज मजदुर वर्गमै देखिनेछन् । पुँजीवादको सुरुमा गाउँबाट आएका वा पुराना दासहरूबाट फेरिएका मजदुरहरूलाई पुँजीवादमा विकास भइसक्दाको प्राविधिक मजदुरहरूसँग दाँज्नु वर्नस्टिनको अदूरदर्शिता नै थियो । मजदुरको अर्थ अशिक्षित र शारीरिक काम गर्नेहरूमात्र नभई शिक्षित र सुसंस्कृत, आफ्नो बौद्धिक श्रम बेची खाने शासक वर्गमा नपरेका बुद्धिजीवीहरू पनि हुन् । नेपालको सन्दर्भमा पनि अरबपति र करोडपतिको अगाडि २–४ लाखको सम्पत्ति भएका मध्यम र स–साना पुँजीपति वर्ग एक दिन मजदुर वर्गकै पक्षमा आउनेछन् । चीन र अन्य देशकै क्रान्ति यसको उदाहरण हो । यसकारणले पनि माक्र्सवादप्रतिको वर्नस्टिनको दृष्टिकोण सङ्कीर्ण र हचुवा सावित भएको छ ।
तर, कसै कसैको भनाइ छ– पश्चिमी युरोपमा प्राविधिक व्यक्तिहरू आफूलाई सर्वहारा मान्दैनन् ।
कुरा आफूलाई के भन्छन् र के ठान्छन् भन्ने चाहिं होइन, बरु व्यवहारमा उसले कस्तो भूमिका खेल्छ भन्ने हो । राजाले आफूलाई गरीब, दुःखी र जनताको सेवक भने पनि यथार्थ जीवनमा ऊ शासक र सम्पन्न वर्गमै आउँछ । त्यस्तै कुनै एक सर्वहाराले आफूलाई सा¥है सुखी र शासक ठान्छ भने पनि वास्तवमा त्यो उसको भावनामात्र हुनेछ । नेपालमा अहिले केही ठूल–ठूला इन्जिनियर, डाक्टर, कर्मचारी र व्यापारीहरू भ्रष्टाचार र कालो व्यापारले करोडपति बन्दैछन् । नेपालमा पुँजीवादको विकास भइरहेको हुँदा केही व्यापारी, माथिल्ला कर्मचारी, डाक्टर र इन्जिनियरहरू पुँजीपति वर्गमा पुग्नेछन् । तर, सबै कर्मचारी, व्यापारी र प्राविधिक मजदुरहरू पुँजीपति वर्गको रूपमा विकास हुने छैनन् । प्राविधिक आविष्कार, आर्थिक विकास र अन्य देशहरूसँगको जेलिएको राजनैतिक र आर्थिक सम्बन्धहरूले युरोपका मजदुर वर्गको आर्थिक स्थितिमा केही सुधार अवश्य भएको छ तर तिनीहरूको तुलना विकासशील मुलुकका मजदुरहरूसँग गर्नुहुन्न । नेपाली मजदुरको ज्यालासँग विकसित देशको मजदुरको ज्याला तुलना गर्नु त नेपालको एक उठ्दो पुँजीपतिलाई रकफेलरसँग तुलना गर्नु जत्तिकै हुनेछ । संसारमा सर्वहारा क्रान्ति र समाजवादको विजय अगाडि बढ्दै गएपछि बेलायत र अन्य विकसित देशहरूमा पनि क्रान्ति अनिवार्य छ । यसमा अनेक जेलिएका आर्थिक र राजनैतिक कारणहरू छन् तर त्यसलाई रोक्न पुँजीपति वर्ग सैनिक शक्ति र अनेक राजनैतिक छलछामलाई बलियो बनाउँदै छ । तर, निश्चित छ बढ्दै गएको जीउमा पुरानो लुगा फेरिएन भने त्यो आफै फाट्छ । माक्र्सवादमा यस्तो उद्देश्य राख्ने कति काव्यात्मक अभिव्यक्तिलाई भौतिक विज्ञानको सूत्रको रूपमा देखिनु निश्चय पनि गभीर विश्लेषण कै अभाव वा अल्छिपना हुनेछ । यहाँ स्वतः क्रान्ति हुन्छ भन्ने होइन, बरु मजदुर वर्गको अगुवाइको लोप भएको मात्र हो ।
माक्र्सवादका केही आलोचकहरू सशस्त्र क्रान्तिको सम्भावना विस्तारै घट्दै गएको कुरा बताएर माक्र्सवादको सशस्त्र क्रान्तिलाई पुरानो सिद्धान्त सावित गर्न खोज्छन् । तर, अहिले एसिया, अफ्रिका र ल्याटिन अमेरिकामा भइरहेको सङ्घर्षमा बम र तोपका घन्काइले सबैको कान खोलेकै हुनुपर्छ । तर, क्रान्ति पहिलो प्रयासमै सफल हुन्छ भन्ने कुरा अवश्य होइन । सामन्त वर्गको विरोधमा पुँजीवादी क्रान्तिले पनि अनेक नागबेली बाटो लिएको थियो । सशस्त्र क्रान्तिको सम्भावना समाप्त भएको आधारमै माक्र्सवाद पुरानो भएको हुँदो हो त पुँजीवादी देशहरूले हात–हतियारको विकासमा जोड नदिए पनि हुन्थ्यो । यसकारण अहिले पनि सशस्त्र क्रान्तिको सम्भावना पहिले जत्तिकै छ । यस अर्थमा पनि माक्र्सवाद पुरानो भइसकेको छैन ।
युरोपमा केही कम्युनिष्ट पार्टीहरूले मताधिकारबाटै मजदुर वर्ग सत्तामा जाने सम्भावना देख्नु र सर्वहारा हुकुमबारे तिनीहरूको लचकदार नीतिले माक्र्सवादको मुख्य–मुख्य आधारहरूलाई नै छोडेको देखिन्छ । युरोपमा अत्यधिकरूपले बढ्दै गएको पुँजीवादी प्रभावको कारणबाट तिनीहरूले लिएका कूटनैतिक र राजनैतिक नाराहरूले माक्र्सवादका सारहरू पुरानो भएको सावित गर्दैन । वर्गीय शोषणको रूप र राजसत्ताको थिच्ने प्रवृत्तिमा पूर्ण परिवर्तन नआएसम्म माक्र्सवाद पुरानो हुनेछैन ।
अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा देखापरेको मतभेद र सङ्घर्षले पुँजीवादी लेखकहरू अन्तर्राष्ट्रिय भ्रातृत्व कायम रहेन र माक्र्सवाद व्यवहारिक रहेन भनेर भन्छन् । तर, कुरो यसको ठीक उल्टो छ । माक्र्सवादको विकास नै समाजवाद र साम्यवादका अनेक ढाँचा र अव्यवहारिक दृष्टिकोणहरूसँग सङ्घर्ष गर्दै विकास भएको वैज्ञानिक समाजवादको सिद्धान्त हो । त्यसकारण समाज विकास सँगसँगै सैद्धान्तिक र राजनैतिक सङ्घर्षमा पनि अनेक जटिलता र समस्याहरू आउँदै जानु स्वाभाविक हो । चेनपाउ टापुबारे रुस र चीन माझको सीमा सङ्घर्ष, चीन–भियतनाममाझको सीमा सङ्घर्ष र भियतनामद्वारा समाजवादी कम्बोडियामाथिको आक्रमणले नै अन्तर्राष्ट्रिय भ्रातृत्व समाप्त हुँदैन । संसारमा मजदुर वर्ग रुस, चीन र भियतनाममा मात्रै सीमित छैनन् । सर्वहारा अन्तर्राष्ट्रयवादको अर्थ सत्तामा रहेका पार्टीहरूको बीचको भ्रातृत्वमात्रै होइन, त्यो त अन्तर्राष्ट्रिय प्रतिक्रियावादको आक्रमण र थिचोमिचोको विरोधमा सङ्घर्ष गर्न संसारका मजदुर वर्ग एकगठ गर्ने एक आह्वान हो ।
माक्र्सवादलाई कोरा सिद्धान्तको रूपमा हेर्नेहरू ‘पूर्वी’ युरोपमा बनेका कम्युनिष्ट राज्यहरू क्रान्तिबाट भएको थिएन भन्छन् । सर्वहारा अन्तर्राष्ट्रवाद माक्र्सवादका आधारहरूमध्ये एक हो । जर्मनी र इटालियाली हिंस्रक पुँजीवादको आक्रमणको विरोधमा यूरोपेली देशमा मजदुर वर्गले सशस्त्र सङ्घर्ष गरेको थियो । त्यो सङ्घर्ष एउटा देशको क्रान्ति नभई नयाँ परिस्थितिले तयार गरेको मजदुर वर्गको महादेशीय रूपको क्रान्ति बन्यो । एउटा देशको क्रान्ति होस् वा केही देशको शोषण र आक्रमणको विरोधमा मजदुर वर्गले गर्ने उथल–पुथल होस् सबै क्रान्ति हो । त्यो देश र ठाउँ हेरी फरक–फरक हुनसक्छ । माक्र्सवादलाई आ–आफ्नो परिस्थितिमा लागू गर्नु भनेको त्यही हो ।
केही आलोचकहरू भन्छन् कार्ल माक्र्सले सर्वहारा क्रान्तिको कल्पना गरेका थिए तर १९१७ को रुसी अक्टोबर क्रान्ति सर्वहारा वर्गले गरेको नभई सिपाही र किसानहरूले गरेका थिए । तिनीहरूको भनाइको आशय हो, माक्र्सवाद अव्यावहारिक सिद्धान्त हो ।
तर, रुसी क्रान्तिको अध्ययनले के थाहा हुन्छ भने रुसी अक्टोबर क्रान्ति सर्वहारा क्रान्ति नै थियो । त्यस क्रान्तिको नेतृत्व सर्वहारा वर्गको पार्टीले गरेको थियो, सचेत सर्वहाराहरू क्रान्तिको निम्ति वर्षौंदेखि सक्रिय थिए, तिनीहरू नै क्रान्तिको मोहडामा थिए, तिनीहरूले नै सिपाहींहरू र किसानहरुलाई क्रान्तिको निम्ति तयार गरेका थिए र एक गरेका थिए । त्यो समझदारी रुसी सर्वहारा वर्गलाई सन् १९०५ को क्रान्तिमै भइसकेको थियो । तिनीहरू समाजवादका निम्ति लडेका थिए । माक्र्सवादलाई नै तिनीहरूले क्रान्तिको दिशानिर्देशक मानेका थिए । यसकारण रुसी
अक्टोबर क्रान्ति सर्वहारा क्रान्ति थियो । तर, आलोचकहरूले सर्वहारा वर्ग र सर्वहारा क्रान्तिलाई शाब्दिक रूपमा मात्रै लिएर त्यसको भावना, ऐतिहासिक तथ्य र भविष्यको व्यापकतालाई लिएनन् । त्यसो त सबैजसो पुँजीवादी क्रान्तिमा भाग लिनेहरूमध्ये सङ्ख्याको हिसाबले पुँजीपति वर्ग अति अल्पमतमा थिए । बेलायत, फ्रान्स, अमेरिका र जर्मनीका पुँजीवादी क्रान्तिमा लड्ने र मर्नेहरूको अत्यन्त ठूलो भाग मजदुर, किसान र स–साना साहु महाजनहरू नै थिए ।
चिनियाँ क्रान्तिको बेला चीनमा औद्योगिक मजदुरहरूको सङ्ख्या सा¥है थोरै थियो । पार्टी नेतृत्वमा समेत मध्यम वर्ग स–साना पुँजीपति र किसान वर्गबाट आएका नेताहरू अत्यधिक थिए । यसकारण आलोचकहरू भन्छन्, चिनियाँ क्रान्ति औद्योगिकरूपले पिछडिएको देशमा भएको किसान क्रान्ति हो, त्यो क्रान्ति माक्र्सवादअनुरूप सर्वहारा वर्गबाट नभई मध्यम वर्गबाट आएका व्यक्तिहरूको इच्छाशक्तिबाट भएको हो, अन्य तेस्रो विश्वका क्रान्तिहरू पनि यस्तै हुन् ।
सन् १९२१ मा चिनियाँ कम्युनिष्ट पार्टीको स्थापना हुनुभन्दा पहिले नै चीनमा सर्वहारा क्रान्ति र समाजवादको प्रचार भइसकेको थियो । पेरिस कम्युन, समाजवादी विचार र माक्र्सवाद चिनियाँ बुद्धिजीवी समुदायमा प्रचार कार्य सुरु भइसकेको थियो । सन् १९१७ को रुसको सर्वहारा क्रान्तिको बन्दुकको आवाजले चिनियाँ कामदार जनतालाई व्यँुझाइदिएको थियो । चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनापछि व्यवस्थितरूपले खानी र यातायातका मजदुरहरूको ठूल–ठूला आन्दोलनहरू सुरु भए । शाङ्घाई र अन्य औद्योगिक क्षेत्रहरूका पनि मजदुर वर्ग सङ्गठित थिए । चिनियाँ किसानहरूको जीवनस्तर युरोपेली मजदुरहरूको जीवनस्तरभन्दा सा¥है तल र शोषित थियो । त्यस्तै युरोपका मजदुर वर्गजस्तै चिनियाँ किसानहरूको पनि लडाकू परम्परा थियो । मध्यम वर्गबाट आएका कम्युनिष्ट नेताहरूको इच्छाशक्ति माक्र्सवाद र लेनिनवाद थियो । तिनीहरूका प्रेरणाका स्रोतहरू युरोपका मजदुर आन्दोलनहरू, सर्वहारा क्रान्ति र संसारका क्रान्तिहरू थिए । चीनको क्रान्तिलाई किसान क्रान्ति भनिए पनि त्यसको प्रेरणा स्रोत र उद्देश्य माक्र्सवाद र समाजवाद नै थियो । यसकारण चिनियाँ क्रान्तिलाई रुसी सर्वहारा अक्टोबर क्रान्तिकै सिलसिला भनिएको हो । माक्र्स, एँगेल्स र लेनिनको वर्ग स्रोतसमेत सर्वहारा नभई मध्यम र पुँजीपति वर्ग हो । तर, उहाँहरूको उद्देश्य र सम्पूर्ण गतिविधि सर्वहारा वर्गको मुक्तिको निम्ति समर्पित थियो । त्यस्तै चिनियाँ कम्युनिष्ट नेताहरू मध्यम वर्गका भए पनि तिनीहरू देश र जनताको मुक्ति र समाजवादप्रति समर्पित थिए । चिनियाँ नेताहरूले माक्र्सवादलाई कोरा सिद्धान्तका रूपमा नलिई त्यसलाई आफ्नो देशको परिस्थितिमा लागू गर्ने दिशा निर्देशनको रूपमा लिए । कोरिया, भियतनाम र क्युवाजस्तो तेस्रो विश्वका देशहरूको क्रान्तिबारे पनि यही कुरा लागू हुन्छ ।
सालाखाला १० वर्षको एकचोटि आउने आर्थिक सङ्कटहरूले पुँजीवादलाई समाप्त पार्छ भन्ने माक्र्सको ठम्याइबारे आलोचकहरू सन् १९२९–१९३९ को आर्थिक सङ्कटले पुँजीवाद समाप्त नभएको हुँदा माक्र्सवाद असफल भयो भन्ने तर्क अगाडि सार्छन् । पुँजीवादको १० वर्षे आर्थिक सङ्कट माक्र्सको आफ्नै आविष्कार नभई पुँजीवादका अनेक आर्थिक जटिलताबाट आउने परिणामलाई माक्र्सले पुँजीवादको कमजोरीको रूपमा देखाइ दिनुभएको थियो । माक्र्सकै समयमा पनि बरोबर आर्थिक सङ्कटले पुँजीवादलाई हल्लाउने गथ्र्यो । तर, पुँजीवाद आफै पतन भएन । यदि माक्र्सको भनाइ त्यस्तो हुँदो हो त माक्र्सले सर्वहारा क्रान्तिबारे लेख्नैपर्ने थिएन । तर, पुँजीवादका आफ्नै कमजोरीहरू छन् । त्यसमध्ये आर्थिक सङ्कट र युद्ध पनि हो । पहिलो विश्व युद्ध पुँजीवादको एक कमजोर पक्ष रह्यो । युद्धले आर्थिक सङ्कट ल्याउँछ वा आर्थिक सङ्कटबाट पार पाउन युद्धलाई निम्त्याउँछ । यातायातको व्यापकताले पुँजीवाद विश्व बजारसँग गाँसिएको हुँदा एक ठाउँको हार–जितलाई विश्व पुँजीवादकै हार–जितका रूपमा लिइन्छ । पहिलो विश्व युद्धले उसको कमजोरी देखायो र उसको कमजोर ठाउँ रुसमा सर्वहारा क्रान्ति भयो ।
त्यस्तै आर्थिक सङ्कटलाई जोगाउन पुँजीवादले विश्व बजारलाई भागबण्डा गर्न आवश्यक देख्यो । बजार कब्जा गर्ने त्यस हान–थापले दोस्रो विश्व युद्ध भड्कायो । विश्व पुँजीवादको कमजोर ठाउँ पूर्वी युरोपेली देशहरू, चीन, कोरिया र भियतनाम पुँजीवादी दाम्लोबाट मुक्त भए । क्युवाको क्रान्तिले पुँजीवाद अब सानो आर्थिक सङ्कट र ‘स्थानीय युद्ध’ बाट पनि तर्सन थाल्यो । त्यसको परिणाम ऊ भियतनाममा फस्यो, डलरको अवमूल्यन भयो । पुँजीवादी देशहरू मुद्राको मूल्यबारे एक आपसमा लुछाचुँडी गर्न थाले, कारखानाहरू बन्द हुन थाले, मजदुरहरू बेकार भए, व्यापार र बजेटमा घाटा हुन थाल्यो । पुँजीवादी संसारमा त्यो पनि एक सानो आर्थिक सङ्कट थियो । त्यसबाट जोगिन संरा अमेरिका अर्थात् पुँजीवाद भियतनाम छोडेर भाग्नुप¥यो अथवा पुँजीवादको एक कमजोर ठाउँमा ऊ पतन भयो ।
सैद्धान्तिक रूपले हेर्ने हो भने हरेक राजनैतिक सङ्घर्ष आर्थिक कारणबाटै हुन्छ । साथै विकसित अर्थतन्त्रले पिछडिएको अर्थतन्त्रलाई पछार्छ । पुरानो अर्थतन्त्रको खस्दै गएको दास समाजलाई तुलनात्मकरूपले विकास गर्दै गएको सामन्तवादले पराजित ग¥यो । बन्द व्यापार र उद्योगधन्धा विकास गर्दै आएको पुँजीवादी अर्थतन्त्रले ¥हासोन्मुख सामन्ती अर्थतन्त्रलाई जित्यो । बलियो अर्थतन्त्रले सैन्य शक्तिलाई पनि कमजोर पार्छ । तेस्रो विश्वमा समाजवादी क्रान्तिहरूले अन्ततः पुँजीवादमा विविध ढङ्गका आर्थिक सङ्कट ल्याउनेछन्, जसले राजनैतिक र युद्धका सङ्कटहरू ल्याउनेछ । यसप्रकार घुमाइ फिराइ पुँजीवाद नष्ट हुनेछ । त्यसको मुख्य कारण आर्थिक सङ्कटको दृष्टिले पनि माक्र्सवाद पुरानो भइसकेको छैन । हुन त पुँजीवादले आफ्नो आर्थिक स्थितिलाई यथावत राख्न ऋण, ‘सहायता’, दान वा हतियारको बेचबिखनजस्ता अनेक जटिल आर्थिक उपायहरू प्रयोगमा ल्याई आफ्नो आयु लम्ब्याउने छ । तर, हरेक वस्तुको सीमा हुन्छ र हरेक वस्तुको विपरीत सम्भावना पनि हुने भएकोले अन्ततः माक्र्सले भन्नुभएजस्तै पुँजीवाद आफैले खनेको चिहानमा गाडिने छ ।
समाजवादी समाजमा उत्पादनका सबै साधनहरूमा व्यक्तिगत स्वामित्व समाप्त भई समाजवादी स्वामित्व स्थापना हुन्छ । उत्पादनका साधनहरूमा सामूहिक वा सबै जनताको स्वामित्व कायम भएपछि समाजमा वर्गभेद रहनेछैन । समाज वर्गविहीन हुँदा अथवा दबाउनुपर्ने वर्ग नै नरहने हुँदा साम्यवादी समाजमा राजसत्ता ओइलाउँछ । तर, माक्र्सवादका आलोचकहरू ‘चीन र अन्य समाजवादी देशहरूमा राजसत्ता ओइलाउनुभन्दा झन निरङ्कुश र अधिनायकवादी भयो’ भनी माक्र्सको भविष्यवाणी गलत भएको सिद्ध गर्न खोज्दैछन् ।
पुँजीवादले एकपछि अर्को हार खाँदै गए पनि त्यसले पूर्णतःआत्मसमर्पण नगरिसकेको, पुँजीवादका पुनःस्थापनाका सम्भावनाहरू पनि निर्मूल भइसकेको, साम्राज्यवादी शक्तिहरूको हस्तक्षेप, थिचोमिचो र सैन्य शक्तिको विकासले समाजवादी देशहरूलाई आफ्नो सैन्यशक्ति घटाउने तथा आफ्नो रक्षात्मक स्थिति र चनाखोपनालाई खुकुलो पार्दै लाने कुरो छैन । शत्रुको सम्भावित हस्तक्षेप, थिचोमिचो र आक्रमणसँग जुझ्ने शक्तिलाई सुकाउने वा ओइलिन दिने होइन बरु त्यसलाई हरियो र केन्द्रिकृत गर्नुपर्ने हुन्छ । यसकारण माक्र्सले भन्नुभएजस्तै विजयी सर्वहारा वर्गले समाजवादको रक्षा गर्न आफ्नो हुकुमलाई बलियो बनाउँछ । लेनिन, स्तालिन र माओ त्सेतुङ्गले यसबारे धेरै कुरा बताइसक्नुभएको छ ।
पोल्याण्डको सोलिडारिटी र मजदुर आन्दोलनबारे आलोचकहरू भन्छन्, सर्वहारा वर्गको हुकुम होइन । सर्वहारा वर्गमाथि हुकुम चलाउँछ, त्यसकारण पोल्याण्डका युवकहरू कम्युनिष्ट पार्टीमा लाग्दैनन् ।
एकचोटि माओ त्सेतुङ्गले समाजवाद र पुँजीवादको माझको सङ्घर्षमा कुनचाहिँले विजय पाउनेछ त्यसको अन्तिम टुङ्गो नलागिसकेको कुरा बताउनुभएको थियो । यो कुरो चीनको लागि मात्र होइन अन्य देशको निम्ति पनि लागू हुन्छ । पुँजीवादी राजसत्ताको अन्त र समाजवादको स्थापनाको अर्थ भित्री बेमेल र समस्याहरूको पूर्ण उन्मूलन होइन । कुनै पनि देशको युवा वर्गमा परिस्थितिको छापपर्नु स्वाभाविक हो । सामन्तवाद र पुँजीवादी शोषणले थिचिएका युवा वर्ग र अर्कै परिस्थितिमा हुर्केका युवा वर्गको चरित्रमा फरक हुनु अस्वाभाविक होइन । उपनिवेशवादविरोधी सङ्घर्षमा लागेको देशका युवा वर्ग र पुँजीवादी शोषणको विरोधमा सङ्घर्ष गरिरहेका युवा वर्गको उद्देश्य र सोचाइमा भेद हुन्छ । त्यस्तै चीन र अन्य समाजवादी देशका युवा वर्ग र नेपाली युवा वर्गको इच्छा र आकाङ्इक्षामा भेद हुनु स्वाभाविक छ । युवा वर्ग पनि आर्थिक, राजनैतिक र सांस्कृतिक परिवेशबाट मुक्त हुँदैन ।
सर्वहारा हुकुमबारे माक्र्सले ठाउँठाउँमा भन्नुभएको छ, सर्वहारा वर्गको हुकुमको अर्थ हो –शोषक वर्गमाथि थिचोमिचो । माक्र्सले स्वतन्त्रता शब्दलाई कहिले पनि गौण रूपमा प्रयोग गर्नुभएको देखिँदैन । स्वतन्त्रता शब्द सधैँ वर्ग र समयसापेक्ष हुन्छ । कुनै पनि पुँजीवादी देशमा अस्तित्वमा रहेको व्यवस्थालाई सशस्त्र ढङ्गले उल्टाउने स्वतन्त्रता दिएको हुँदैन । बेलायतका मजदुर वर्गको ‘मागपत्रको आन्दोलन’, फ्रान्समा पेरिस कम्युन र संरा अमेरिकामा १ मईको मजदुर आन्दोलनलाई विकास गर्न पुँजीपति वर्गले ‘स्वतन्त्रता’ दिएको थिएन । त्यस्तै विजयी सर्वहारा वर्गले पनि ‘स्वतन्त्रता’ को नाममा समाजवादलाई उल्टाउने गतिविधि गर्न दिनेछैन । यसकारण आलोचकहरू ‘माक्र्स स्वतन्त्रताको पक्षपाति थिए तर समाजवादी देशमा स्वतन्त्रता छैन’ भनेर माक्र्सलाई निरपेक्ष ‘स्वतन्त्रता’ का पक्षपातीको रूपमा अगाडि सार्छन् । त्यो गलत प्रस्तुतीकरण हो ।
केही आलोचकहरू भन्छन्, पुँजीवादी देशमा मजदुरहरूले जिउनको लागि मात्रै ज्याला पाउँछन्, आर्थिक सङ्कटबाट पार पाउन साम्राज्यवादी बाटो लिनेछ र अन्त्य हुनेछ । ज्याला बढाउन सक्नेछैन भनेर कम्युनिष्टहरू भन्छन् तर त्यसको उल्टो पुँजीवादी देशहरूमा ‘ज्याला बढेको छ’ ।
मजदुरहरूलाई जिउनको लागि मात्रै ज्याला दिने एक पुँजीवादी सिद्धान्त नै हो । पुँजीपति वर्गका विभिन्न किसिमका ज्यालाको सिद्धान्तले मजदुरहरू नै चुसिने हुन्छन् । आर्थिक सङ्कट र साम्राज्यवादी बाटो र त्यसको अन्त एक दीर्घकालीन र रणनीतिक सच्चाइ हो । आर्थिक स्रोतहरूको पूर्ण सञ्चालन प्राविधिक उपलब्धि र विकासशील देशहरूमा सेवा र उपभोगको सामानको चर्को मूल्य र मजदुरहरू पनि त्यस स्थितिबाट सन्तुष्ट छैनन् र तिनीहरूको ज्याला पुँजीपति वर्गको नाफा र सम्पत्तिको तुलनामा कुनै पनि रूपले बढी होइन ।
केही आलोचकहरू भन्छन्, नैतिकता र संस्कृतिलाई आर्थिक आधारमा मात्रै बन्ने र शोषणलाई अनैतिक सम्झनेहरू सत्ताको निम्ति सिद्धान्तहीन सङ्घर्ष गर्न थाले ।
कुनै पनि समाजको नैतिकता र संस्कृति निश्चय पनि आर्थिक आधारमै विकास हुने गर्छ । तर एकचोटि स्वीकारिसकेको नैतिकता र संस्कृतिलाई आर्थिक आधारमा हेरफेर आइसकेर पनि समाजले त्यसलाई चटक्क छोड्दैन । श्रमको शोषण ‘मानवीय’ दृष्टिले अनैतिक छ । राजनीतिमा सत्ताको सङ्घर्ष नौलो होइन । राज्यसत्ता समाजलाई बदल्ने एक माध्यम हो । समाजवादलाई कार्यान्वयन गर्ने भिन्न भिन्न दृष्टिकोणहरु छन् । मजदुर, किसान, गाउँ र सहरको भेद हटाउनु समाजवादको आजु हो । तर त्यसलाई पूरा गर्ने उपायहरुमा कम्युनिष्टहरुको बीचमा मतभेद रहनु स्वाभाविक हो । समाजवादलाई लागू गर्ने उपायहरुमा कम्युनिष्टहरुको सदा भिन्नभिन्न मत रहेको छ । अराजकतावाद, काल्पनिक समाजवाद र निम्न पुँजीवादी समाजवाद यसका उदाहरणहरु हुन् । त्यस्तै अहिले पनि अन्तर्राष्ट्रिय कम्युनिष्ट आन्दोलनमा समाजवादलाई अगाडि बढाउनेबारे विभिन्न पक्षमा विभिन्न मतहरु देखापर्नु स्वाभाविक हो । सत्तामा पुगेको पार्टीमा पनि विभिन्न पक्षहरु हुन्छन् । तिनीहरुले आ–आफ्नो समझदारीअनुसारको नीतिमार्फत समाजवादलाई बलियो पार्ने र अगाडि बढाउन राज्यसत्ता र अन्य सबै साधनहरुलाई उपयोग गर्नु खोज्नु आश्चर्यको कुरा होइन । समाजवादी देशमा मात्र राज्यसत्ता फूलदानको गुलाफ हुने कुरा होइन ।
– समाजवाद र सान्दर्भिक विषयवस्तु
Leave a Reply