ख्वप इन्जिनियरिङ कलेजमा सेमेस्टर टपर र गरिब तथा जेहनदार विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण
- श्रावण १, २०८३
भक्तपुर, २२ वैशाख । ख्वप कलेज तथा शारदा क्याम्पसमा स्नातक तह पहिलो र दोस्रो वर्ष, बीबीएम पहिलो सेमेस्टर तथा स्नातकोत्तर तह दोस्रो सेमेस्टरमा अध्ययनरत गरिब तथा जेहेनदार ८० विद्यार्थीहरूलाई आइतबार छात्रवृत्ति वितरण गरियो ।
छात्रवृत्ति पाउन सफल विद्यार्थीका अभिभावकहरूको उपस्थितिमा भएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख एवम् कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले छात्रवृत्ति वितरण गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रजापतिले छात्रवृत्ति पाउन सफल विद्यार्थीहरूबाट कलेजले लिएको उद्देश्य पूर्तिमा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।
उहाँले भन्नुभयो, “आर्थिकरूपले कमजोर जनताले उच्च शिक्षामा पहुँच पु¥याउन सकियोस् भन्ने उद्देश्यले भनपाले कलेजहरू सञ्चालन गरिरहेको छ । हाम्रा विद्यार्थीहरू अनुशासित हुनुका साथै २१ औँ शताब्दीको चुनौतीलाई सामना गर्नसक्ने सक्षम हुनुपर्छ ।”
आर्थिक कमजोरीका कारण बीचमा पढाइ छोड्न नपरोस् भन्ने भावनाका साथ भनपाले रू. ५ लाखसम्मको सहुलियत दरमा छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरेको जानकारी गराउँदै उहाँले भन्नुभयो, “सबै विद्यार्थीहरूलाई सम्मानढङ्गले अगाडि बढाउने सोच भनपाले लिएको छ । भनपाको अनुमतिमा अनुसन्धान तथा रिपोर्ट तयार गर्ने विद्यार्थीहरूलाई नगरपालिकाले आर्थिक सहयोग दिने व्यवस्था गरेको छ ।”
सोध÷अनुसन्धानको निचोडअनुसार नगरपालिकाको सरसफाइ, सम्पदा संरक्षण, पुनःनिर्माण, स्वास्थ्य सेवा, पर्यटन विकास र शिक्षा क्षेत्रमा विशेष जोड दिई कार्य गरिरहेको जानकारी दिँदै प्रमुख प्रजापतिले समाज उपयोगी हुने विषयमा अनुसन्धान गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।
“नगरमा बस्ने हरेक नागरिक स्वस्थ र शिक्षित होस् भन्ने उद्देश्यले नगरपालिकाले काम गरिरहेको छ । भनपालाई देशकै नमुना नगर बनाउने हाम्रो योजना छ । भनपाबाट सञ्चालन हुने ख्वप विश्वविद्यालय देशकै नमुना विश्वविद्यालय हुनेछ”, उहाँले भन्नुभयो ।
ख्वप कलेजका प्राचार्य रूपक जोशीले कलेजका छात्रवृत्ति प्रदान गरिने नियमहरूबारे जानकारी दिँदै विश्वविद्यालयले निर्धारण गरेअनुसार कलेजले छात्रवृत्ति प्रदान गर्दै आएको जानकारी दिनुभयो ।
कार्यक्रममा कलेजका उपप्राचार्य राजेशकुमार श्रेष्ठले पनि बोल्नुभएको थियो ।
Leave a Reply