भर्खरै :

कम्युनिष्ट आन्दोलन र राष्ट्रवाद

प्रो. माणिकलाल श्रेष्ठ
हुन त कम्युनिष्ट आन्दोलन र राष्ट्रवाद भिन्नाभिन्नै विषय हुन् । राष्ट्रवाद एउटा राजनैतिक सिद्धान्त हो, कम्युनिष्ट आन्दोलनको सिद्धान्त यो भन्दा छ, किनभने कम्युनिष्ट आन्दोलनको निर्देशक विचारधारा माक्र्सवाद–लेनिनवाद हो, जसको सैद्धान्तिक आधार द्वन्द्वात्मक भौतिकवाद हो र यो आन्दोलनको स्वरूप अन्तराष्ट्रयवाद हो ।
तर, राष्ट्रवादसँग यो आन्दोलनको के सम्बन्ध छ ? अझ स्पष्ट भन्ने हो भने राष्ट्रवादप्रति कम्युनिष्ट आन्दोलनको के रुख छ, के प्रतिक्रिया छ बुझ्नु उपयुक्त छ । आजको परिप्रेक्ष्यमा यो सान्दर्भिक र आवश्यक पनि छ । खास गरी महाकाली सन्धिलाई संसदको संयुक्त सदनले अनुमोदन गरेपछि हाम्रो देशको एउटा कम्युनिष्ट समूह नेकपा (एमाले) का केही नेताहरूले उक्त सन्धिको विरोध गर्नेहरूलाई ‘अन्धराष्ट्रवादी’ भनी आलोचना गरी आएका छन् र अझ आफ्नै पार्टीभित्रका महाकाली सन्धि विरोधीहरूलाई “यिनीहरू राष्ट्रवादी भावनामा बगे, कम्युनिष्टहरू त अन्तर्राष्ट्रवादी हुन्छन्, त्यसकारण उनीहरू कम्युनिष्टभन्दा विरानो सिद्धान्त–प्रेरित भए” भनी अभियोग लगाएको पनि देखियो, सुनियो । त्यसकारण राष्ट्रवादबारे कम्युनिष्टहरूको धारणा सैद्धान्तिक दृष्टिले कस्तो हुनुपर्दछ भनी विचार गर्नु आवश्यक छ ।
वास्तवमा राष्ट्रवाद कम्युनिष्ट आन्दोलनभन्दा भिन्न विचारधारा हो । कम्युनिष्ट विचारधाराको आधार र स्वरूप अन्तर्राष्ट्रवाद हो र राष्ट्रवादी सिद्धान्तको आधार पुँजीवादी विचारधारा हो । तर, यसको मतलब राष्ट्रवादी भावना राख्नेहरू कम्युनिष्टहरूको सधैं, शत्रु होइन, परिस्थिति हेरी कहिले विरोधी भए, कहिले घनिष्ट मित्र पनि हुनसक्छन् ।
यो कुरा बुझ्न राष्ट्रवादको उत्पत्ति र विकासको इतिहासतर्फ अलिकति ध्यान दिनु आवश्यक छ । राष्ट्रवाद एक सिद्धान्तको रूपमा जन्म हुनु पुँजीवादको उत्थान र विकाससित सम्बन्धित छ । औद्योगिक क्रान्तिपछि युरोपमा पुँजीवादको विकास सुरु भयो र त्यसको लगत्तै एक राजनैतिक विचारधारात्मक आन्दोलनको रूपमा राष्ट्रवादी विचारधारा हुर्कन थाल्यो । सत्रौं शताब्दीको अन्ततिर र अठारौं शताब्दीको सुरुतिर राष्ट्रवादी आन्दोलनले केही आदर्शहरू, केही मान्यताहरू अगाडि प्रस्तुत ग¥यो । त्यसमध्ये एउटा थियो– राष्ट्रिय–राज्यको धारणा । यो धारणाअनुसार एउटा रगत वा नश्लमा आधारित जाति, एउटै भाषा, एउटै संस्कृति भएका सबै मानिसहरू एउटा राष्ट्रको रूपमा सङ्गठित हुनुपर्दछ र त्यस राष्ट्रको आफ्नै स्वाधीन राज्य हुनुपर्दछ ।
यो राष्ट्रिय राज्यको भावनाले विभिन्न साना–साना राज्यमा टुक्रिएर रहेका जर्मन वा ट्युटोनिक जाति सब एउटै सिङ्गो राज्यमा सङ्गठित पारेर एकीकृत जर्मनीको जन्म गरायो, त्यसैगरी इटलीको पनि एकीकरण भयो । एकातिर यसरी स–साना एकाइमा विभाजित रहेका राज्यहरूलाई जोडेर एकीकृत राज्यहरूको जन्म भयो भने यही राष्ट्रिय भावनाको प्रभावस्वरूप अस्ट्रो–हङ्गेरियन साम्राज्यजस्ता बहुराष्ट्रिय वा बहुजातीय साम्राज्यहरू टुक्रिएर अलग्ग अलग्ग राज्यमा विभाजित हुनपुग्यो, किनभने त्यस साम्राज्यअन्तर्गत रहेका भिन्न जातिका जनताले आफ्नै स्वाधीन राज्यको अधिकार खोजे । यसरी राष्ट्रवादी विचारधारले ‘आत्म–निर्णयको सिद्धान्त (Principle of Right to Self Determination) लाई जन्म दियो । यो आत्म–निर्णयको सिद्धान्त पुँजीवादी उत्पत्तिको र पुँजीवादी मूलको सिद्धान्त हो तर पुँजीवादी मूलको भए पनि त्यसबेलाको परिस्थितिमा यो प्रगतिशील धारणा थियो । विश्व सर्वहारा वर्गीय आन्दोलनका महान गुरु तथा विश्वको पहिलो सर्वहारा राज्यका संस्थापक कामरेड लेनिनले यो सिद्धान्तलाई स्वीकार गरी सोभियत सङ्घका सदस्य राज्यहरूलाई स्वेच्छाले सङ्घमा सामेल हुने र चित्त नबुझेमा सङ्घबाट अलग्ग हुने अधिकार दिनुभएको थियो । सोभियत सङ्घमा सुरुमा सदस्य राज्य रहेको फिनलाण्डले सोभियत सङ्घबाट अलग्ग हुने इच्छा गर्दा लेनिनले फिनलाण्डलाई एउटा स्वतन्त्र राज्यको रूपमा मान्यता दिनुभएको घटना हाम्रो अगाडि उदाहरणको रूपमा खडा छ ।
यही पुँजीवादी– मूलको राष्ट्रवादी सिद्धान्तको आधारमा ‘संविधानसभा’ को धारणा निस्क्यो । पुँजीवादी विचारधाराले प्रेरित ‘संविधानसभा’ को मागलाई हाम्रो देशमा कम्युनिष्टहरूले परिस्थिति हेरी समय – समयमा प्रस्तुत गरेको उदाहरण पनि हाम्रो अगाडि छ ।
त्यसो त, संसदीय व्यवस्था पनि पुँजीवादकै उपज हो । त्यतिमात्र होइन, यो व्यवस्था पुँजीवादी सिद्धान्तको राजनैतिक व्यवस्था हो । तर, संसदीय निर्वाचनमा भाग लिने नलिने, संसदीय प्रवेश गर्ने कि नगर्ने, संसदमा व्यवस्थाअन्तर्गत सरकारमा प्रवेश गर्ने कि नगर्ने भन्ने कुराहरू कम्युनिष्टहरूको निम्ति साश्वत सिद्धान्तको प्रश्न होइन, कार्यनीति र रणनीतिको प्रश्न हो । कम्युनिष्टहरूको मूलभूत लक्ष्य वा हेतुको निम्ति अर्थात क्रान्तिको हितमा हुने अवस्थामा ती सबमा भाग लिन हुन्छ, लिनुपर्दछ, त्यस्तो नहुने वा क्रान्तिलाई फाइदा नहुने भयो भने त्यसलाई बहिष्कार गर्नुपर्दछ । परिस्थिति हेरी लेनिनले ड्युमामा कुनै बेला चुनाव लडेको र कुनै बेला बहिष्कार गरेको उदाहरण पनि इतिहासमा छ । संविधानसभाकै बारेमा कुनै बेला लेनिनले संविधानसभाको नाराको समर्थन गर्नुभएको र अर्को परिस्थिति आउँदा संविधानसभालाई लत्याउनु भएको घटना पनि हाम्रो अगाडि छ ।
पुँजीवादी राष्ट्रवादले प्रस्तुत गरेका केही मान्यतालाई साम्यवादीहरूले कार्यनीतिको रूपमा मात्र अङ्गालेका होइनन्, कुनै कुनै मान्यताहरूलाई सिद्धान्तकै जातीय राज्यमा, जहाँ तीनवटा भाषाभाषी जनता छन् त्यहाँ पुँजीवादी राष्ट्रवादीहरूले सबै जातिको समानताको सिद्धान्तको दृष्टिले कुनै एउटा भाषालाई विशेष स्थान दिने अर्थात् राष्ट्र भाषा, सम्पर्क भाषा आदिको स्थितिको मान्यता दिने काम नगरी तीनवटै भाषालाई समान स्थान दिने नीति प्रस्तुत गरेका थिए । पुँजीवादीहरूले प्रस्तुत गरेको यो नीतिलाई कामरेड लेनिनले मानेर सोभियत सङ्घमा सबै भाषाहरूलाई समान स्थान दिनुभयो, जारशाही सरकारले रुसी भाषालाई राष्ट्र भाषाको दर्जा दिइ गरेको घोषणालाई रद्द गर्नुभयो ।
पुँजीवादी–राष्ट्रवाद पनि जन्म भएर सुरुको समयमा त्यसमा प्रगतिशील तत्वहरू धेरै थिए, त्यसको जन्म नै सामन्तवादविरुद्ध विद्रोहको रूपमा उठेको थियो, पछि यसको विकास–क्रममा पुँजीवादले प्रतिक्रियावादी रूप धारणा गर्नलाग्यो र राष्ट्रवादमा पनि घोर प्रतिक्रियावादी खालको राष्ट्रवाद देखा पर्नथाल्यो ।
पुँजीवादले प्रतिक्रियावादी रूप लिनुभन्दा पहिले पुँजीवादी राष्ट्रवादका केही कुरा साम्यवादीहरूको लागि स्वीकार योग्य र केही कुरा अमान्य थिए । राष्ट्रवादीहरूले प्रत्येक राष्ट्रको आफ्नो भाग्यको निर्णय आफैले गर्ने अधिकार हुनुपर्दछ, विदेशीहरूको आधिपत्य, प्रभुत्व वा बाहिरी हस्तक्षेप । दबाब सहन गर्न सकिन्न भन्ने धारणा कम्युनिष्टहरूले स्वीकार गर्दछन् र यो कुरामा राष्ट्रवादीहरूलाई कम्युनिष्टहरूले मित्र–शक्ति ठान्छन् । खास गरी औपनिवेशिक र अर्ध–औपनिवेशिक मुलुकका हकमा विदेशी प्रभुत्व र नियन्त्रणको विरुद्ध सच्चा राष्ट्रवादीहरू पनि इमानदारीसाथ लड्दछन्, त्यस स्थितिमा उनीहरूलाई साम्यवादीहरूले मित्रशक्ति ठानेर राष्ट्रिय–मुक्ति आन्दोलनमा उनीहरूसित एकताबद्ध भई देशभक्तिपूर्ण संयुक्त मोर्चा गठन गर्दछन् ।
तर, राष्ट्रवादीहरू विदेशी प्रभुत्व र शोषणको मात्र विरोध गर्दछन्, राष्ट्रभित्रका सम्पूर्ण जनता एकगठ हुनुपर्दछ भन्ने सिद्धान्तअनुसार राष्ट्रभित्र हुने वर्गीय शोषणको विरोध गर्दैनन्, देशभित्रका शोषकको विरुद्ध शोषितहरूले सङ्घर्ष गर्ने कुराको उनीहरू विरोध गर्दछन् । उता कम्युनिष्टहरूले भने मानव जातिको पूर्ण मुक्ति चाहने हुनाले विदेशी शोषण र प्रभुत्वको विरुद्धमात्र होइन, देशभित्रका घरेलु शोषकहरूविरुद्ध पनि लड्छन् । वर्गीय शोषणको विरुद्ध लड्ने कुरामा कम्युनिष्टहरूको विचारअनुसार शोषित श्रमिक जनताको निम्ति आफ्नो देशभित्रका शोषकहरू शत्रु हुन्, तर विदेशका कुनै पनि देशका शोषित पीडित जनता मित्र–शक्ति हुन् । विश्व कम्युनिष्ट आन्दोलनका जन्मदाता माक्र्स र एँगेल्सले ‘विश्वभरिका मजदुरहरू एकै होऔं’ भनी नारा दिनुभएको हो । यस दृष्टिले कम्युनिष्टहरू अन्तर्राष्ट्रवादी हुन्, राष्ट्रवादी होइनन् । यसको मतलब कम्युनिष्टहरूले राष्ट्रवादलाई सिद्धान्तको रूपमा लिंदैनन् तर राष्ट्रवादले उठाउने सबै नाराहरू र राष्ट्रवादीहरूका सबै आदर्शहरू र मान्यताहरूलाई कम्युनिष्टहरूले विरोध गर्नुपर्छ भन्ने छैन ।
फेरि आफ्नो देशको हित हेर्ने र आफ्नो देशलाई माया गर्ने देशप्रेम राष्ट्रवादको पेवा होइन, कम्युनिष्टहरू देशलाई प्रेम गर्छन् । अझ साँच्चै भन्ने हो भने देशप्रेम नभएको मानिस कम्युनिष्ट बन्नै सक्दैन । देशप्रेमको भावना भएका सामन्तीहरू पनि थिए, पुँजीवादी राष्ट्रवादको उदय हुनुभन्दा पहिले सामन्ती युगमा पनि धेरै देशभक्त वीरहरू थिए, जो देश र राष्ट्रका विभूति बने जो पुँजीवादी युगका लागि पनि कम्युनिष्टहरूका लागि पनि श्रद्धाका पात्र बने । राष्ट्रिय विभूतिहरू श्रद्धा गर्छन् । अझ मुखले मात्र प्रशंसा गर्ने नभई उनीहरूको देशप्रेमको आदर्शलाई सबभन्दा बढी अङ्गीकार गर्नेहरू कम्युनिष्टहरू हुन् । समाजवादीहरूमा देशप्रेम जत्ति बलियो पुँजीवादीहरूमा हुनसक्दैन । अर्को कुरा, कम्युनिष्ट आन्दोलन राष्ट्रवादी आन्दोलन होइन अन्तर्राष्ट्रवादी आन्दोलन हो, कम्युनिष्ट आन्दोलन अन्तर्राष्ट्रिय सर्वहारा वर्गीय आन्दोलन हो । तर, कम्युनिष्ट आन्दोलन राष्ट्रवादी आन्दोलन होइन भन्नुको मतलब राष्ट्रिय आन्दोलन होइन भन्न मिल्दैन । कम्युनिष्ट आन्दोलन अन्तर्राष्ट्रिय आन्दोलन र सर्वहारा–वर्गीय विश्व आन्दोलन भए तापनि यो आन्दोलनमा एक राष्ट्र वा राज्यलाई एकाइ बनाएर आन्दोलन गरिन्छ । प्रत्येक राज्यका जनताको राष्ट्रिय मुक्ति र वर्गीय मुक्ति प्राप्त गर्न अलग्ग अलग्ग राज्यमा अलग्ग अलग्ग आन्दोलन अगाडि बढाइने हुनाले कम्युनिष्ट आन्दोलनले आ–आफ्नो देशको खास खास परिस्थिति अनुसार कार्यक्रम बनाई क्रान्ति अगाडि बढाइन्छ, आ–आफ्नो देशका जनताको स्वाधीनताको लागि सङ्घर्ष गरिन्छ, क्रान्ति गरिन्छ ।
महाकाली एकीकृत परियोजनासम्बन्धी सन्धि नेपालको हितअनुरूप छैन, नेपालको भन्दा भारतको स्वार्थअनुसार यो सन्धि ल्याएको छ भनी कसैले भन्छ भने त्यहाँनिर तिनले राष्ट्रिय स्वार्थको कुरा गरेको जरुर हो । राष्ट्रिय स्वार्थको कुरा गर्ने बित्तिकै राष्ट्रवाद भयो, अन्तर्राष्ट्रवाद भएन भनी त्यसको विरोध गर्नेहरूले के त अन्तराष्ट्रवादको अर्थ राष्ट्रिय हितको हिमायत नगरी राष्ट्रघातको विचार लिने भनेको हो त ?
राष्ट्रवाद अन्तराष्ट्रयवादभन्दा भिन्न छ, तर राष्ट्रवाद अन्तराष्ट्रवाद–विरोधी नै हुनुपर्छ भन्ने छैन । सुरुमा त राष्ट्रवाद एउटा प्रगतिशील धारणा थियो, पुँजीवाद पनि सुरुमा प्रगतिशील र क्रान्तिकारी सिद्धान्त थियो । पछि पुँजीवादको विकास हुँदै जाँदा यसले साम्राज्यवादको रूप लियो र अरु देशहरूमाथि आक्रमण गर्न थाल्यो । सामन्त वर्गको वर्गीय शोषणको विरुद्ध विद्रोह गरी समानता र जनतन्त्रको नारा दिएर जन्मेको पुँजीवाद आफैले पुँजीवादी वर्गीय शोषण गर्नथाल्यो । साथै पुँजीवादको विकसित रूप साम्राज्यवाद निक्लेपछि प“ुजीवादी देशहरूको आपसी प्रतिस्पर्धाले युद्धको रूप लिनथाल्यो र दुईवटा विश्व युद्धलाई जन्म दियो ।
राष्ट्रवादको नाममा अरु जाति र अरु राष्ट्रमाथि आक्रमण गर्ने, जातीय घृणा प्रचार गर्ने घोर प्रतिक्रियावादी अत्याचारी नाजीवादी (जर्मनीको हिटलर) को फासिष्टवाद (मुसोलिनीको इटालीको) र जापानी सैन्यवाद (जापानका तोजोको) जस्ता जन–विरोधी राष्ट्रवादको उदय भयो र तिनीहरूले मानव जातिकै विरुद्ध अपराध गरे । यस प्रकारको राष्ट्रवाद जन–विरोधी, प्रगति–विरोधी र युद्धपिपासु राष्ट्रवाद हो ।
आफ्नो राष्ट्रको दुहाइ दिएर अरु राष्ट्रमाथि थिचोमिचो गर्ने अन्ध–राष्ट्रवाद जति प्रतिक्रियावादी र प्रगति–विरोधी घातक विचारधारा हो, त्यत्तिकै घातक र जन–विरोधी धारणा हो राष्ट्रिय हितलाई तिलाञ्जली दिएर ठूला राष्ट्रको दलाली गर्ने आत्म–समपर्णवादी धारणा । हिटलर जति जन–विरोधी छ, त्यतिकै जन–विरोधी छ क्विसलिङ । विस्तावादीहरू जति अपराधी हुन्, त्यतिकै अपराधी हुन् लेन्दुप दोर्जेहरू र मिर जाफरहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *