भर्खरै :

बालकसँग कस्तो व्यवहार गर्ने ?

प्रा. कृष्णराम खत्री
गर्भाधान भएको दिनदेखि लगभग २८० दिनमा बालक जन्मिन्छ । बालक चञ्चल हुन्छ, सोझो हुन्छ अथवा अन्य कुनै किसिमको हुन्छ भन्ने कुरा गर्भबाटै थाहा पाउन सकिन्छ भन्ने कुरा बाल विशेषज्ञहरू बताउँछन् । हुन त बालकहरूको स्वभाव र व्यवहारलाई विभिन्न कोण र दृष्टिले धेरैले अध्ययन गरेका छन् तर भविष्यमा यस्तै बन्छ वा यस्तै हुन्छ भनेर कसैले भविष्यवाणी गर्न भने सकेको छैन । वाट्सनले एकपल्ट “तपाईंले आफ्नो बच्चा दिनोस् तपाईंले चाहेजस्तो बनाई दिउँला” भनेका थिए तर पछि आफैले यस भूलको सुधार पनि गरे । बालकहरू आफ्नो दुनियाँका आफै मालिक हुन् र उनीहरूलाई बालक भएर बाँच्ने अवसर र अधिकार प्रदान गरिनु पर्दछ भन्ने कुरामा लगभग सबै मनोवैज्ञानिकहरू, विशेषतः शिक्षा मनोवैज्ञानिकहरू एकमत छन् ।
बालक कसरी हुर्किन्छ ? के पुर्खौली गुण (वंशानुगत) नै महत्वपूर्ण हो ? के बालकको स्वभाव, व्यवहार, वृद्धि, संवेग आदि वंशानुगतरूपमा नै रहन्छ वा कुनै परिवर्तन पनि हुनसक्छ ? के बालकलाई उसको वृद्धि र विकासमा पथ प्रदर्शन, मार्ग निर्देशन गर्न सकिन्छ ? बालकको सामाजिक विकासमा परिवार, शिक्षक वा अन्य वयष्क लब्ध प्रतिष्ठित व्यक्तित्वहरूको कस्तो भूमिका हुन्छ वा हुनसक्छ ? यी र यस्ता थुप्रै प्रश्नहरू छन् जसको उत्तरको खोजी समय सापेक्षरूपमा शिक्षा मनोवैज्ञानिकहरूको चासो र दायित्वको पनि विषय बन्दछ । आमा बुबाले पनि आफ्ना सन्ततिको निमित्त कम वा बेसी मात्रामा सोच्ने र सम्झने प्रयास गर्दछन् ।
बालकको समाजप्रतिको दृष्टिकोण निर्माणमा आमा बाबुको अत्यन्त अहम् भूमिका हुन्छ । आमाबुबाको शिक्षाको स्तर, शिक्षाप्रतिको धारणा र मान्यता र आफू र समाजलाई हेर्ने दृष्टिकोण, आर्थिक अवस्था उच्च, मध्यम वा निम्न सामाजिक परिवेश–सुसंस्कृत, सचेत, स्पष्ट र स्वस्थ वातावरण – भौगोलिक अवस्था अवसरहरूसम्म पहुँच, आवागमनको सुगमता÷दुर्गमता आदि कुराहरूले सामाजिक विकासलाई अत्यन्त प्रभावित गर्दछ । बालकको व्यवहारलाई सकारात्मकता प्रदान गर्न आमाबुबा वा परिवारजनले विशेषतः दुई विधि अपनाउने गर्दछ र हाल तेस्रो विधि देखा पर्दैछ । यी विधिहरूलाई सैद्धान्तिक नामकरण गर्नुभन्दा प्रचलित भाषामा उपयोग गर्नु उचित हुनेछ तथापि विधिहरूको नाम पनि थाहा पाइराख्दा कुनै खराबी हुनेछैन । यसभन्दा अगाडि सामाजिकीकरणको आवश्यकता र महत्व विषयमा केही कुरा राख्नु सान्दर्भिक हुनेछ ।
मानिसलाई सामाजिक वा राजनैतिक जीव भनिन्छ । समाज वा समूह नभए र त्यस समूहसँग व्यक्तिको सापेक्षिक सम्बन्ध नरहे मानिस न सामाजिक जीव हुन्छ न त राजनैतिक प्राणी नै । तसर्थ मानिसलाई मानिसको रूपमा आफ्नो पहिचान कायम गर्न गराउन सामाजिकीकरणको नितान्त आवश्यक छ । मानिस जति बढी मात्रामा सामाजिक बन्दै जान्छ उसको समाजसँगको सम्बन्ध भने दरिलो बन्दै जान्छ । सामाजिकिकृत व्यक्तिले सभ्यताले दिएका ज्ञान, सीप र साधनलाई संरक्षण गर्दै अझ सुसंस्कृत र परिष्कृतसमेत गर्दै जान्छ । सामाजिक व्यक्तित्वको व्यवहार संवेगात्मकरूपमा परिपक्व हुनाको साथै शिष्ट एवम् सच्चरित्र हुन्छ या यस्तो भनौँ लोकप्रिय र ख्यातिप्राप्त बन्न पुग्छ । प्रायःआमाबुबाहरू आफ्ना छोराछोरीहरू लोकप्रिय बनून्, आत्मनिर्भर होऊन, समाजमा प्रतिष्ठित बनून् भन्ने चाहन्छन् र सोहीअनुसार आफ्नो शिक्षा–दीक्षा, परिवेश, आर्थिक, सामाजिक अवस्था आदिअनुसार आफ्ना सन्तानहरूलाई सामाजिकृत गर्दछन् । यसमध्ये एउटा विधिलाई हप्कीदप्कीको रूपमा (दमनात्मक विधि) र अर्कोलाई समझदारीपूर्ण स्वीकारको रूपमा (स्वीकारात्मक विधि) हेरिनेछ ।
दमनात्मक वा हप्की–दप्कीद्वारा सामाजिकीकरण गर्ने विधि
यो विधि नेपालको ९० प्रतिशतभन्दा बढी आमा बुबाले आफ्ना छोरा छोरीहरूलाई सामाजिकीकरण गर्दा उपयोग गर्ने विधि हो । यस विधिबाट हुर्काउँदा बालक आफ्नो भनाइ वा इच्छाको कुनै पनि कदर हुँदैन, उल्टै आफूभन्दा ठूलाले चाहेजस्तो गर्न बाध्य तुल्याइन्छ । घरमा सानाहरूले छिटो र मसिना कामहरू ठूलाको आदेशानुसार गर्नुपर्ने बाध्यता हामी सबैलाई थाहा नै छ । चुरोट सुपारी किन्ने, नजिकको कुनै व्यक्तिलाई बोलाउन जाने, बच्चा हेर्ने, सामान ओसार्ने आदि कामहरू ठूलाहरूकै निर्देशनमा गर्नुपर्ने हुन्छ । सानातिना गल्ती वा भूल भएमा हप्कीदप्की खानुपर्ने, कहिलेकाहीँ त हात पनि खानुपर्ने हुन्छ । अत्यन्त खुसीको अवस्थामा आकलझुकलमा सानातिना पुरस्कार पनि (चक्लेट, एक सुका) पाउने गर्छ तर त्यो अत्यन्त दुष्कर हुन्छ । ठूला र सानाहरूको कतै अन्यत्र भेट भएमा सानाहरू भाग्ने वा नदेखेझैँ गर्दछन् र देखिहाले पनि हप्काइको भाषामा तुरुन्त घरतिर लाग्न आदेश दिइन्छ । कथंकदाचित भनेबमोजिम गरिए भने केटाकेटीले बाटै वा घरमा अत्यन्त नराम्रो परिणामसमेत भोग्नुपर्ने हुन्छ । ठूलाले गलत काम अह्राएमा पनि मानेमा मात्र अनुशासित मानिन्छ । बालकहरूलाई भावविहीन, इच्छाविहीन र व्यक्तित्वविहीन ठानेर व्यवहार गरिन्छ । यो छोटकरीमा भन्ने हो भने बालकलाई अत्यन्त दमनपूर्वक शोषण गरिन्छ र यसैलाई पारिवारिक मर्यादाको मकुण्डो लगाइन्छ । यो व्यवहार प्रायः मध्यम वर्गीय र गरिब परिवारमा बढी हुन्छ । नव धनाढ्ध्यहरूमा पनि पाइन्छ ।
समझदारीपूर्ण वा सकारात्मक विधि
स्वीकारात्मक विधि वा समझदारीपूर्ण स्वीकृतिको रूपमा सामाजिकीकरण गरिँदा बालकलाई बालककै रुपमा र उसको पनि आफ्नोपन, इच्छा, अभिरुचि भएको र उसको अवस्थाअनुसारको बुद्धि र क्षमता भएको मानिसको रूपमा लिइन्छ । राम्रा र समाज सापेक्ष सकारात्मक व्यवहारहरू सिकाउँछन् र सोबमोजिमको व्यवहार प्रदर्शन गर्नेबित्तिकै स्यावासी वा अन्य पुरस्कार दिएर त्यस्ता व्यवहार बारबार गर्न प्रेरित र प्रोत्साहित गरिन्छ । बालकहरूले सकारात्मकरूपमा आफ्ना भनाइहरू ठूलाहरूसमक्ष राख्न सक्छन् र ठूलाहरूले पनि तिनीहरूका कुराहरूमा ध्यान दिएर आवश्यक सुझाव सहयोगीको रूपमा दिने गर्दछ । कुनै कुरामा एकमत हुन नसक्दा वादविवाद पनि हुनसक्छ र निर्णय लादिँदैन । बरु त्यस विषयको बारेमा स्पष्ट धारणा निर्माण गराउन आवश्यक व्याख्या उदाहरणसहित दिएर चित्त बुझाइदिने प्रयास ठूलाले गर्दछ । परिवारजनले बालकको सकारात्मक इच्छाहरूलाई आफ्नो गच्छेअनुसार पूरा गरिदिन्छ । परिवारलाई समाजको एउटा एकाइको रूपमा हेरिन्छ, अनावश्यक विशेषण जोडेर ठूलो बनाउने प्रयास गरिँदैन । केटाकेटी स्वतन्त्र हुन्छन् तर स्वच्छन्द हैन । उनीहरूलाई इच्छा, चाहना, अभिरुचि आदि भएका सुख दुःख पहिचान गर्नसक्ने हाँस्ने, रुने र रमाउने, खिन्न हुने पूर्ण प्राणीको रुपमा लिइन्छ र उसलाई पनि व्यक्तिकै रूपमा आदर गरिन्छ । शिक्षित परिवारमा यो व्यवहार प्रायःपाइन्छ तर रुढी परिवारमा हुँदैन । तटस्थतावादी विधिमाथिका सामाजिकीकरणका प्रमुख दुई विधि हुन् तर आजको समाजमा आमाबुबाहरू प्रायः तटस्थ रहन्छन् । आवश्यक र सकारात्मक प्रवृत्तिको विकासको इच्छा त राख्छन् तर सोअनुसारको व्यवहार र अवस्था सिर्जना गर्न ठूलाहरूसँग समयको कमी हुन्छ । (यो मात्र गुनासो हो सत्य होइन) विद्यालय प्रवेश गरेपछि बालकप्रतिको दायित्वलाई धेरै आमाबुबाले समाप्त भएको मान्दछ र फलस्वरुप किशोर किशोरीहरूमा जिम्मेवारी, आत्मनियन्त्रण, सामाजिकताको भावना र उत्तरदायित्वको बोध अत्यन्त अल्प हुँदै गएर असामाजिक क्रियाकलापमा अत्यधिक प्रवृत्त हँुदै गएको प्रत्यक्ष नै छ । यो तटस्थवादको मूल जरो बालकहरूको आकाङ्क्षामा वृद्धि (आम सञ्चारका माध्यमहरूको कारण) र आमाबुबाको स्थिर आर्थिक स्थिति वा अझ भनौँ खस्किँदो आर्थिक स्थितिको कारणले गर्दा हो ।
माथि छोटकरीमा वर्णन गरिएका विभिन्न विधिहरू पूर्णत ः एउटैमात्र उपयोग हुने होइन बरु दमनसँगै कहिलेकाहीँ स्वीकृति पनि हुन्छ र स्वीकृति सँगसँगै दमन पनि हुन्छ वा तटस्थता पनि हुन्छ । यस्तो भनौँ एउटै विधिमात्र ठूलाले अपनाउने नभई काल, परिस्थिति र अवस्थाअनुसार एकै ठूलाले पनि विभिन्न विधि अपनाउने गर्छ ।
बालकलाई असल नागरिक, सफल व्यक्ति र सामाजिक दायित्वबोध भएको अनि आत्मसम्मानपूर्ण र आत्मविश्वासी बनाउने हो भने उसलाई प्रजातान्त्रिक वा स्वीकारात्मक विधिद्वारा सामाजिकीकरण गराउनु उचित हुन्छ तर बालकको व्यवहारमा दरोपना नभएमा आवश्यकताअनुसार हल्का किसिमले नियन्त्रण पनि राख्नुपर्ने हुन्छ ।
–नौलो आयाम

Leave a Reply

Your email address will not be published. Required fields are marked *