–सुशीला रेग्मी बेझाड, २६ वैशाख (रासस) ः रामपुर नगरपालिकाभित्र लालपुर्जा वितरण प्रक्रिया अगाडि बढ्न सकेको छैन् । व्यवस्थित घरघडेरी विकासका लागि सरकारले जग्गा दर्ता समिति आदेश जारी गरे पनि रामपुर नगरपालिकाभित्र लालपुर्जा वितरण प्रक्रिया अगाडि बढ्न नसकेको हो । सरकारले व्यवस्थित घरघडेरीका लागि लालपुर्जा वितरण गर्ने सम्बन्धमा जग्ग्गा दर्ता समिति गठन आदेश २०७५ जारी गरिसकेको छ ।
प्रदेश नं ५ का सांसद युवराज खनालले पाल्पाका प्रजिअ वीरेन्द्रकुमार यादवसमक्ष छिटोभन्दा छिटो लालपुर्जा वितरण प्रक्रिया अगाडि बढाउन अनुरोध गर्दै ध्यानाकर्षण गराउनुभएको छ । यस विषयलाई गम्भीरतापूर्वक लिन र समयमा नै प्रक्रिया अगाडि बढाउन उहाँले प्रजिअ खनाललाई आग्रह गर्नुभएको छ । सो अवसरमा प्रजिअ यादवले तत्काल प्रक्रियागत रुपमा अगाडि बढ्ने आश्वासन दिनुभएको छ । प्रजिअको संयोजकत्वमा सम्बन्धित क्षेत्रका मालपोत कार्यालय प्रमुख सदस्यसचिव, नापी कार्यालयका प्रमुख, वन कार्यालयका प्रमुख र रामपुर नगरपालिकाका प्रमुख सदस्य रहने गरी पाँच सदस्यीय समिति गठन भएको छ ।
रामपुर नगरपालिकाका ८५६ घरघडेरी लालपुर्जाविहीन छन् । सरकारले जग्गादर्ता समिति गठन आदेश २०७५ स्वीकृत गरे पनि अहिलेसम्म लालपुर्जा वितरण गर्ने प्रक्रिया अगाडि नबढ्दा नगरवासी अन्योलमा छन् । विगतदेखिको अव्यवस्थित घरघडेरीको व्यवस्थापन गरी आफ्नो सम्पत्तिको मालिक आफैँ बन्न पाउने अधिकार सुनिश्चित गर्न नेपाल सरकारले रामपुर जग्गा दर्ता समिति गठन आदेश जारी गरेको हो । तत्कालीन भूमिसुधारमन्त्री दलबहादुर रानाको समयमा लालपुर्जा वितरण गर्ने सम्बन्धमा प्रक्रिया अगाडि बढे पनि विभिन्न कारणले बीचमै प्रक्रिया रोकिन पुगेको थियो ।
रोकिएको प्रक्रिया भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयले अगाडि बढाएको छ । यसै आर्थिक वर्षमा रामपुर नगरपालिकाभित्र रहेका ८५६ घरघडेरीलाई लालपुर्जा वितरण गर्ने गरी अगाडि बढेको भूमि व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले बताउनुभयो । तीन दशकअघि देखि लालपुर्जाको आशैआशामा निराश बनेका रामपुरवासीमा लालपुर्जाका लागि सरकारले जारी गरेको जग्गा आदेशले खुशियाली छाएको थियो । अन्य स्थानमा लालपुर्जा वितरण कार्य भइरहे पनि यहाँ प्रक्रियागत रुपमा अगाडि नबढ्दा नागरिकमा निराशा छाएको छ । रामपुर बजारमा ठूलाठूला घर, भवन धमाधम बन्ने क्रम जारी छ ।
उद्योग, व्यापार–व्यवसाय दिनानुदिन खुल्ने सङ्ख्या बढिरहेको अवस्थामा यस क्षेत्रका नागरिक लालपुर्जा नपाउँदा चिन्तित बनेका थिए । विसं २०३५÷३६ देखि हालको रामपुर नगरपालिका–५ मा रहेको रामतुलसी मावि र वडा नं ६ को दरैठाँटी मावि सञ्चालनका लागि विद्यालयले घरघडेरी बिक्री गरेपछि सोही समयदेखि नै यहाँका स्थानीयवासीले भोगचलन गर्दै आइरहेका छन् । २०७१ साल वैशाख २५ गते रामपुर गाविसबाट रामपुर नगरपालिका घोषणा भई नगरवासीका रुपमा बसोबास गर्दै आएका यहाँका स्थानीयवासीले आफू बसोबास गरेको घरघडेरीको लालपुर्जा नपाउँदा किनबेचमा निकै चुनौती झेल्दै आएका छन् ।
Leave a Reply