भर्खरै :

यसरी बन्नुभयो सत्यमोहन ‘शताब्दी पुरुष’

काठमाडाँै, २८ वैशाख । उही पुरानै मयल रङको टोपी । दौरा सुरुवालमाथि कोट, सधैँ लगाउने जुत्ता । तर अघिपछिभन्दा अली हँसिलो मुहार लिएर वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी मञ्चमा आसिन हुनुभयो ।
उहाँको अनुहारमा चमक हुनुको एउटै कारण हो, एक सय वर्षको नजिकिँदो समय । आउँदो सोमबार १०० वर्षमा टेक्दै हुनुहुन्छ । उहाँ जति खुशी हुनुहुन्थ्यो त्योभन्दा खुशी उपस्थित दर्शक थिए । काठमाडौँको टङ्गालमा नइ प्रकाशनको सम्मान अर्पणमा सहभागी जोशीले शताब्दी पुरुष शब्दबारे मञ्चबाटै खुलेर मनको कुरा छताछुल्ल पार्नुभयो ।
उहाँ ९५ वर्षको हुँदैखेरि उक्त प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईंले शताब्दी पुरुषको उपमा दिनुभएको थियो । त्यहीबेला लेखिएको जोशीको जीवनीमा ‘शताब्दी पुरुष’ परेको थियो । तर उहाँलाई पाँच वर्षअघि नै प्रयोग भएको शब्दमा चित्त बुझेन । त्यो बेलाको स्मरण गर्दै जोशीले आफू ९५ वर्ष पुग्दा प्रसाईंले आफ्नो बायोग्राफी (जीवन वृत्तान्त) मा शताब्दी पुरुष भनेर सम्बोधन गर्दा चित्त नबुझेको बताउनुभयो ।
‘त्यहीबेला मेरो फोक्सोमा पानी जमेको थियो, त्यसपछि मैले अनुरोध गरेँ कृपया यो ‘शताब्दी पुरुष’ झिकिदिनोस्, भर्खर ९५ वर्ष पुगेँ अझै पाँच वर्ष बाँकी छ भन्दा उहाँ (प्रसाईं) ले मान्नु भएन, ग्रेस लिएर पाँच वर्षअघि नै शताब्दी पुरुष भएँ’, जोशीले भन्नुभयो । ‘शताब्दी पुरुष भनेर किताबमा निकाल्नुभयो, म बयोधा अस्पतालमा भर्ना हुन पुगेँ’, मिति नै पुग्ने भो भन्ने लागेको थियो, तर त्यो ‘शताब्दी पुरुष’ले दीर्घजीवी बनाउन औषधिको काम ग¥यो ।’ त्यो क्षण सम्झँदै जोशीले थप्नुभयो ।
तेत्तिस दिन अस्पतालमा चिकित्सकलाई बोलाएर कसरी हुन्छ बचाउनुपर्छ भनेर प्रसाईं अहोरात्र खटिएको उहाँले बताउनुभयो । जीवनभर नै प्रकाशनप्रति ऋणी भएको जोशीले थप प्रतिक्रिया दिनुभयो । ‘त्यो नलेखेको भए फोक्सोमा पानी जमेको मान्छे रहने थिइन होला, १०० वर्ष मेरा लागि सौभाग्य हो, दीर्घ जीवनका निम्ति अहिले औषधि पनि खानुपरेको छैन, तपाईँहरूले अहिले जे गर्दै हुनुहुन्छ, मेरो दीर्घ जीवनका लागि ऊर्जा हो’, जोशीको भनाइ थियो । उहाँले मन्तव्यको अधिकांश समय शताब्दी पुरुष शब्दमै खर्चिनुभयो ।
जीवन वृत्तान्तमा पाँच वर्षअघि नै शब्द प्रयोग भए पनि सरकारले भने विसं २०७४ वैशाख २१ गतेमात्रै जोशीलाई ‘वाङ्मय शताब्दी पुरुष’को उपाधि प्रदान गरेको थियो ।
उहाँलाई आजै नइ प्रकाशनले १०० वर्ष पुग्न लागेका अवसरमा आजैदेखि जन्मोत्सव प्रारम्भ भएको घोषणा गरेको छ । प्रा. राजेन्द्र सुवेदी, प्रा. डा. महादेव अवस्थी र नइ प्रकाशनका सदस्य सचिव प्रसाईंले उहाँलाई जरीजडित दुबोको माला लगाएर दीर्घ जीवनको कामना गर्दै १०० औँ जन्मोत्सव प्रारम्भ भएको घोषणा गर्नुभयो ।
सोही कार्यक्रममा जोशीले देशविदेशका विभिन्न २० जनालाई पुरस्कार प्रदान गर्नुभएको थियो । ललितपुर महानगरपालिकाले १०० वर्ष प्रवेशका अवसरमा यही वैशाख ३० गते पाटनमा उहाँको सम्मानमा एक समारोहको आयोजना गर्दैछ । नेपाली संस्कृति, साहित्य र इतिहासका ज्ञाता जोशी तीनपटक मदन पुरस्कार प्राप्त गर्ने पहिलो व्यक्ति हुनुहुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *