भर्खरै :

लोकसभा निर्वाचन ः छैठौँ चरणको मतदान सम्पन्न, ६० प्रतिशत मतदाताको सहभागीता

नयाँ दिल्ली, भारत, २९ वैशाख (रासस/एएनआई) : छैठौँ चरणको मतदानमा साँझ ६ बजेसम्म औषत करिब ६०.३१ प्रतिशत मतदाता सहभागी भएका भारतीय निर्वाचन आयोगले जनाएको छ ।
आइतबार भएको निर्वाचनमा पश्चिम बंगालमा सबभन्दा धेरै ८० प्रतिशत मतदाता सहभागी भएका छन् भने दिल्लीमा करिब ५५ प्रतिशत सहभागी भएका अधिकारीहरूले बताएका छन् ।
निर्वाचनका समय छिटफुट घटनाका बाबजुद मतदान अपेक्षाकृतरूपमा शान्तिपूर्ण भएको भारतीय निर्वाचन आयोगले जनाएको छ ।
केन्द्रीय राजधानी समेत रहेकोले दिल्लीको चुनावको चासो निकै छ । दिल्लीमा सत्ता साझेदार दल भाजपा तथा प्रमुख प्रतिपक्षी दल भारतीय कङ्ग्रेससँगै नयाँ शक्तिका रूपमा उदाएको आम आदमी पार्टीबीच प्रमुख प्रतिश्पर्धा हुने अनुमान गरिएको भारतीय राजनीतिक विश्लेषकहरूले बताएका छन् ।
यो निर्वाचनबाट भारतीय संसद्को तल्लो सदन लोकसभाका लागि प्रत्यक्ष रूपमा नयाँ सांसद चुनिनेछन् । भारतीय लोकसभाका ५४३ सदस्यका भएको निर्वाचनमा बहुमत ल्याउन २७२ सीट ल्याउनुपर्ने हुन्छ ।
भारतीय बेरोजगारी समस्या प्रमुख चुनावी मुद्दा बनेको लोकसभा निर्वाचनका लागि गत अप्रिल ११ मा पहिलो चरणको मतदान शुरू भएको थियो भने आगामी हप्ता अर्थात् मे १९ मा सातौँ चरणको निर्वाचन हुने कार्यक्रम रहेको छ । सम्पूर्ण चरणमा भएका निर्वाचनको मतगणना मे २३ मा शुरू हुनेछ ।
यो निर्वाचनमा झन्डै ९० करोड योग्य मतदाताले देशभरिका एक लाख मतदान केन्द्रमा मतदान गर्नेछन् । सन् २०१४ मा भएको निर्वाचनमा झन्डै ६६ प्रतिशत मतदाता सहभागी भएका थिए ।
सन् २०१४ मा भएको निर्वाचनमा भाजपाले दुई सय ८२ स्थानमा जितेको थियो भने कङ्ग्रेस पार्टी ४४ स्थानमा खुम्चिएको भएपनि यस पटक भाजपालाई कङ्ग्रेस अध्यक्ष राहुल गान्धीले निर्वाचनमा देखाएको प्रभाव पर्ने राजनीतिक विश्लेषकहरूले बताउँदै आएका छन् ।
यसपालि सन् २०१४ को निर्वाचनपछि थपिएका आठ करोड ३० लाख मतदाता छन् भने नयाँ मतदातामा १८ देखि १९ वर्ष उमेर समूहका किशोर किशोरीको सङ्ख्या डेढ करोड रहेको निर्वाचन आयोगले जनाएको छ ।
छैठौँ चरणको चुनावमा उत्तर प्रदेशको १४, हरियाणाको १०, मध्य प्रदेशको ८, पश्चिम बंगालको ८, बिहारको ८, झारखण्डको ४ र दिल्लीको ७ सिटको लागि मतदान भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *