कायरो (इजिप्ट), ११ चैत । इजिप्टका पूर्व राष्ट्रपति होस्नी मुबारकले करिब ६ वर्षको सैनिक अस्पतालको बसाइपछि शुक्रबार घर फर्किनुभएको छ ।
इजिप्टका पूर्व शासक मुबारकलाई सन् २०११ को अरब आन्दोलनद्वारा पदच्युत गरिएपछि अधिकांश समय सैनिक अस्पतालमा बिताउनुभएको थियो ।
करिब तीन दशक इजिप्टको सत्ता सम्हालेका ८८ वर्षीय मुबारक सत्ताच्युत हुनु पहिले एक बलियो तानाशाहका रुपमा स्थापित थिए भने अरब राष्ट्रमा उर्लेको परिवर्तनको आन्दोलनले उहाँलाई सत्ताच्युत गराउने कुरा कल्पना बाहिरको कुरा रहेको थियो ।
मुबारकलाई सन् २०११ को आन्दोलनका समय ठूलो सङ्ख्यामा परिवर्तनका बाहक इजिप्टका जनतामाथि क्रुर दमन गर्ने नाममा सयौँ मानिसको हत्या गरेको आरोपमा जेल पठाइएको थियो ।
तर यसै महिनाको सुरुतिर इजिप्टको उच्च अदालतले उहाँको मुद्दामाथि अन्तिम सुनुवाई गर्दै निर्दोष ठहर गरेपछि जेलमुक्त गरिएको हो ।
मुबारकका वकिल फरिद अल दिवले एएफपीले के मुबारक सैनिक अस्पतालबाट घर जानुभएको हो भन्ने प्रश्नमा भन्नुभयो, “हो अब उहाँ जेलमुक्त हुनुभएको छ र अस्पतालबाट शुक्रबारै आफ्नो घर फर्किनु भएको छ ।”
उहाँ अब कायरोको बाहिरी क्षेत्रमा अवस्थित हेलियोपोलिस जिल्लामा आफ्नै घरमा रहनु हुनेछ मुबारकका वकिलले बताउनुभयो ।
सन् २०११ मा भएको १८ दिन लामो राष्ट्रिय विद्रोहमा मुबारकको निर्देशनमा प्रहरीद्वारा आन्दोलनकारीमाथि गरिएको दमनका क्रममा ८५० जना इजिप्टेली नागरिकको मृत्यु भएको थियो । उहाँलाई सन् २०१२ मा आजीवन काराबासको सजाय सुनाएको थियो । तर दुई वर्षपछि उहाँको मुद्दामाथि पुनरावेदन हुँदा उहाँले सफाइ पाउनुभएको थियो ।
सन् २०१६ मा पुनः पनरावेदन अदालतले मुबारक र उहाँका दुई छोरीलाई भ्रष्टाचार आरोपमा तीन वर्षको जेल सजाय तोकिएको थियो । रासस÷एएफपी
Leave a Reply