भर्खरै :

भेनेजुयलामा क्युवाली ‘सेना’

राउल एन्टोनिओ कापोटे
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हालसालै क्युवामाथि ‘पूर्ण आकारको नाकाबन्दी’ थोपर्ने धम्की दिए । उनले क्युवामाथि दुईवटा थप ‘उच्च तहको नाकाबन्दी’ थोपर्ने चेतावनीसमेत दिए । अर्कोतिर जोन बोल्टनले भेनेजुयलाको निकोलस माडुरो सरकारलाई क्युवाले ‘नियन्त्रण’ गरिरहेको दोषारोपण गरे ।
याङ्की सरकारका उच्चपदस्थ अधिकारीले एक रत्ती पनि लाजशरम नमानी यस्तो झूट दोहो¥याए । डोनाल्ड ट्रम्पले क्युवालाई ‘भेनेजुयलाबाट २० हजार क्युवाली सिपाही फिर्ता गर्न’ आदेश दिए । काराकसबाट क्युवाले हात झिके क्युवासँग नयाँ सम्बन्ध सुरु गर्ने आश्वासनसमेत ट्रम्पले दिन भ्याए ।
क्युवालीहरू सार्वभौमिकताको सिद्धान्तप्रति पूर्णरूपमा प्रतिबद्ध छन् । हामी हाम्रो स्वाधीनता रक्षा गर्छौँ । हामीलाई अरूले गर्दा मन नपर्ने कुनै पनि काम अरूलाई पनि हामी गर्दैनौंँ । ‘भाडाको लडाकु’ हामी कहिल्यै बनेनौँ । सधँैं आफ्ना प्रस्ट कुरा राख्ने, साम्राज्यको जग हल्लाएको बोलिभारका बहादुर सिपाहीहरूको भेनेजुयाली भूमिलाई आफ्नो आत्मसम्मान, साहस र स्वाभिमान जोगाउन भेनेजुयाली जनता स्वयम्बाहेक कोही अरूको जरुरत छैन ।
निःसन्देह भेनेजुयलाभरि क्युवाली ‘सेना’ भेट्न सकिन्छ । उनीहरू बहादुर भेनेजुयाली जनता सँगसँगै लडिरहेका छन् र आफ्ना कर्तव्य पालना गरिरहेका छन् । स्वास्थ्य, खेलकुद, संस्कृति, शिक्षा, सञ्चार, कृषि, खाद्य, उद्योग, विज्ञान, ऊर्जा र यातायात आदि क्षेत्रका विशेषज्ञ क्युवालीहरू बोलिभारियाली गणराज्यमा भेनेजुयाली जनतालाई सहयोग गरिरहेका छन् ।
बोलिभारियाली क्रान्तिले सधैँ मानिसलाई नै केन्द्रमा राखेको छ । भेनेजुयलाको इतिहासमा पहिलोपटक बहुमत भेनेजुयाली जनताको हितमा आफ्नो कूलगार्हस्थ उत्पादन (जीडीपी) को ७३ प्रतिशत सामाजिक हितका कार्यक्रममा लगानी गरिएको छ । ‘तुच्छ’ ठानिएका गरिब जनताको हितमा त्यहाँको सरकारले त्यस्ता सामाजिक कार्यक्रममा लगानी गरिरहेको हो ।
भेनेजुयलाका समाजवादी नेता चाभेजले सिर्जना गरी प्रवद्र्धन गरेका विभिन्न सामाजिक कार्यक्रमले सबै जनताको हित गरिरहेको छ । क्युवाली समाजवादी नेता फिडेलले दुई देशबीच सहकार्यको आधारभूत सिद्धान्तको खाका कोरे । बाँकी काम सबै क्रान्तिमा जनताको हृदय र आत्माले सम्पन्न ग¥यो । यसप्रकार क्युवालीहरू भेनेजुयालीहरूकै दौडमा समाहित भएका हुन् ।
क्युवाका स्वास्थ्य स्वयम्सेवकहरू भेनेजुयलाका २४ वटै राज्यका ३३५ नगरपालिकामा कार्यरत छन् । उनीहरू सबै स्थानीय तहमा गएर काम गरिरहेका छन् । उनीहरूले १ हजार ५ सयभन्दा बढी स्वास्थ्य केन्द्रहरूमा सेवा दिइरहेका छन् । उनीहरू भेनेजुयलाका सबभन्दा विपन्न जनताबीच काम गर्छन् । आफू बसेको ठाउँबाट नजिक पहाडी बस्तीमा होस् वा धनीमानी मानिस बस्ने ठाउँमा गएर उनीहरू जनताको सेवा गर्छन् । कोही पनि बिरामीलाई उनीहरू कुन राजनीतिक पार्टीका हुन् वा कुन धर्मका भनी प्रश्न गर्दैनन् । स्वास्थ्य सेवा दिएवापत क्युवाली स्वयम्सेवकहरू एक पैसा पनि बिरामीसँग माग्दैनन् । सबैलाई समानरूपमा व्यवहार गर्छन् ।
भेनेजुयलामा हालसम्म १ लाख ४० हजार क्युवाली स्वास्थ्यकर्मीहरूले सेवा प्रदान गरिसकेका छन् । ३३ लाख वटा शल्यक्रिया गरिसकेका छन् । उनीहरूले १४ लाख ७० हजार मानिसको ज्यान जोगाएका छन् । अहिले भेनेजुयलामा २० हजारभन्दा बढी क्युवालीहरू काम गरिरहेका छन् । तीमध्ये १० हजार ३ सय ८८ जनाले स्वास्थ्य सेवा प्रदान गरिरहेका छन् । क्युवाली स्वास्थ्य स्वयम्सेवकहरूले दिने सेवामध्ये एउटा उदाहरणको रूपमा बितेका दस वर्षमा हेबरप्रोट–पी नामको औषधि प्रयोग गरी २ लाख ९ हजार ६ सय ७ जना मधुमेहका रोगीको उपचार गरे । फलतः बिरामीको हात खुट्टा काट्नुपर्ने अवस्थालाई ३ प्रतिशतले घटाउन क्युवाली चिकित्सकहरू सफल भए । क्युवाली चिकित्सकहरूप्रति घृणा फैलाउने र विध्वंस मच्चाउनेहरूका निम्ति यो ‘खतरनाक’ तथ्याङ्क हो ।
हो, यिनै हुन् क्युवाली हतियार, भेनेजुयलामा क्युवाली ‘सेना’ । उनीहरू जीवन र शान्तिको लागि काम गरिरहेका छन् । यसरी जनताको स्याहार गर्ने ‘सेना’ को पक्षमा हामी छौँ ।
स्रोतः ग्रान्मा
नेपाली अनुवादः सुमन

Leave a Reply

Your email address will not be published. Required fields are marked *