भर्खरै :

भारतको निर्वाचनमा हिन्दू अतिवादी भाजपालाई बहुमत

नयाँ दिल्ली, २३ मे । छिमेकी देश भारतमा सम्पन्न सत्रौँ लोकसभा निर्वाचनले हिन्दू अतिवादी चुनावी गठबन्धन एनडीए भारी मतका साथ विजय भएको छ । बिहीबार बिहानदेखि सुरू भएको मतगणनाले केही दिनअघि सार्वजनिक भएको मत सर्वेक्षणकै नतिजालाई पुष्टि गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीएले दोस्रो पटक चुनावी सफलता हासिल गरेको छ ।
अघिल्लो सन् २०१४ को निर्वाचनमा २८२ स्थान जितेको भाजपाले यो निर्वाचनमा एक्लै झण्डै २९२ भन्दा बढी स्थानमा विजय हासिल गर्ने देखिएको छ । लोकसभामा बहुमत ल्याउन कुल २७२ स्थानमा जित्न आवश्यक छ । सन् १९८२ यता भारतमा पहिलो पटक एउटै पार्टीले यो निर्वाचनमा बहुमत हासिल गरेको छ ।
प्रमुख प्रतिपक्ष दल भारतीय राष्ट्रिय काङ्ग्रेसले भने ५० कै वरपर चित्त बुझाउनुपर्ने भएको छ । केही सञ्चारमाध्यमले पूर्वानुमान गरेअनुसार भाजपा नेतृत्वको एनडीएले कुल ३४० स्थानमा र काङ्ग्रेस नेतृत्वको विपक्षी गठबन्धनले झण्डै ९३ स्थानमा विजय हासिल गर्ने र बाँकी एक सय स्थान अरू साना राजनीतिक दलले जित्नेछन् । भाजपा अध्यक्ष अमित शाहले बिहीबार आयोजना गरेको एक सभामा भारतका सत्र राज्यमा भाजपाले ५० प्रतिशतभन्दा बढी मत हासिल गरेको दाबी गरे ।
चुनावमा भाजपाले हासिल गरेको सफलताले भारतमा हिन्दू अतिवादी फासीवादी राजनीति अझ बलियो हुने विश्लेषण हुन थालेको छ । भारतका बुद्धिजीवी जोया हसनले चुनावी परिणामको विश्लेषण गर्दै भन्नुभयो, “विभाजन गर र विसृङ्खल गरको भाजपा नीति निकै सफल भएको छ ।”
राहुलको एक ठाउँमा विजय, अर्कोमा पराजय
काङ्ग्रेस नेता राहुलले चुनावमा दुई स्थान–केरालाको वायनाड र उत्तर प्रदेशको अमोठीबाट उम्मेदवारी दिएका थिए । तर, उनले काङ्ग्रेसको इतिहास जोडिएको अमोठीबाट भने हात धुनुप¥यो । वायनाडमा भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) का उम्मेदवारलाई पराजीत गरेर उनले चुनाव जिते पनि अमेठीबाट उनी भाजपाको उम्मेदवार स्मृति इरानीबाट पराजित भएका छन् । इरानी पूर्व अभिनेतृ तथा भाजपाका अतिवादी हिन्दूवादी चिन्तनका पक्षधर साम्प्रदायिक नेतृ हुन् । अघिल्लो मन्त्रिमण्डलमा इरानी मानव संसाधन मन्त्री थिइन् ।
कन्हैयाको पराजय
भारतीय कम्युनिष्ट पार्टीबाट बिहारको बेगुसरायबाट उम्मेदवार बनेका चर्चित युवा नेता कन्हैया कुमार झण्डै चार लाखको मत अन्तरले चुनावमा पराजय भोग्नुप¥यो । उनी भारतीय जनता पार्टीका नेता गिरिराज सिंहबाट पराजीत भएका हुन् ।
“विगतमा हामी बहुमतवादको खतराको कुरा गथ्र्यौं । आज त्यो मूर्त खतराको रूपमा देखिएको छ । चुनावी परिणामको आधारमा भारतीय प्रजातन्त्रलाई प्रस्टतः बहुमतवादी प्रजातन्त्रको रूपमा व्याख्या गर्न सकिने भयो”, हसनले भन्नुभयो ।
कुल ९० करोड योग्य मतदातामध्ये ६० करोडले चुनावमा भाग लिएका थिए । कुल मतदाताको ६७ प्रतिशतले चुनावमा भाग लिएका थिए ।
भाकपा (माक्र्सवादी) को धन्यवाद
चुनावी परिणाम सार्वजनिक भएपछि बिहीबार भारतीय कम्युनिष्ट पार्टी (माक्र्सवादी) ले चुनावमा पार्टीलाई ठूलो धक्का परेको बताएको छ । माक्र्सवादीले जारी गरेको वक्तव्यमा चुनावी पराजयको समीक्षा गर्दै आगामी दिनको लागि पाठ सिक्ने बताएको छ ।
चुनावमा भाजपाको विजयलाई माक्र्सवादीले धर्मनिरपेक्ष प्रजातान्त्रिक गणतन्त्रको रक्षा, संवैधानिक संस्था, जनअधिकार र जनजीवनका विषयको रक्षाको लागि चुनौती भएको बताएको छ ।
मोदीले हटाए चौकीदार
सत्रौँ लोकसभाको निर्वाचनको क्रममा सबभन्दा चर्चामा रहेको शब्द बन्यो – चौकीदार । प्रधानमन्त्री मोदीले आफू देशको चौकीदार भएको एउटा कार्यक्रममा बोलेलगत्तै प्रतिपक्षले त्यही शब्दलाई चुनावी मसला बनाए । काङ्ग्रेस नेता राहुल गान्धीले त आफ्ना हरेक चुनावी भाषण नै ‘चौकीदार चोर हो’ भन्ने वाक्यबाट सुरू गर्थे र अन्त्य गर्थे । त्यसको जवाफमा भाजपा नेताहरूले आफ्ना सामाजिक सञ्जाल खातामा आफ्नो नामको अघि चौकीदार शब्द राखे । तर, बिहीबार प्राप्त चुनावी सफलतालगत्तै मोदीले आफ्नो ट्वीटर एकाउन्टमा राखिएको चौकीदार शब्दलाई बिदा गरे ।
मोदी बलियो प्रधानमन्त्री
सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्री बनेका नरेन्द्र मोदी बिहीबारको चुनावी परिणामले अझ बलियो प्रधानमन्त्री बन्ने देखिएको छ । एउटै दलले बहुमत हासिल गरेका उनी भारतका तेस्रो प्रधानमन्त्री बन्दै छन् । बिहीबारको परिणामले भाजपा उत्तर भारतमा मात्र सीमित नभएको देखाएको छ । दक्षिणी भारतका विभिन्न प्रदेशमा पनि भाजपाले आफ्नो बलियो उपस्थिति देखाएको छ । मोदीको अघिल्लो कार्यकालमा भारतमा साम्प्रदायिक भावना व्यापक बनेको थियो । सत्ताकै आडमा अल्पसङ्ख्यक, दलित, महिला र प्रगतिशील समुदायमाथि भाजपा र हिन्दूवादी पार्टीहरूले दमन गरेका थिए । मुसलमान जनतामाथि संस्थागत दमनको प्रयास भएको थियो । मोदीको पुनःनिर्वाचनले भारतमा फेरि पनि सम्प्रदायिकता र हिन्दू अतिवादले व्यापकता पाउने विश्लेषकहरूको भनाइ छ । संसारभर नै फासीवादको पुनःउदयको सिलसिलामा भारतमा फेरि पनि बलियो बन्दै गरेको फासीवाद एसिया र समग्र विश्वको लागि खतरा हुनसक्नेछ ।
केरालामा काङ्ग्रेस
वामपन्थी दलको बलियो आधार मानिएको केरालामा कुल २० स्थानमध्ये १९ स्थानमा काङ्ग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (यूडीएफ) ले विजय हासिल गरेको छ । काङ्ग्रेस एक्लैको पोल्टामा १५ स्थान परेको छ भने यूडीएफसम्बद्ध मुस्लिम लिगले दुई स्थान जितेको छ । केराला काङ्ग्रेस (मणि समूह) र क्रान्तिकारी समाजवादी पार्टीले एक एक स्थान हासिल गरेका छन् । त्यस्तै आन्द्र र तेलाङ्गानाबाट एक एक स्थानमा भारतीय कम्युनिष्ट पार्टी विजय हासिल गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *