पुराना संरचनाले हाम्रो इतिहास र सभ्यताको परिचय दिने
- जेष्ठ ६, २०८३
भक्तपुर, ९ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग बिहीबार लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा अध्यक्षहरूको अध्ययन टोलीले नगरपालिकाको सभाकक्षमा भेट ग¥यो । भेटमा सांस्कृतिक नगर, पर्यटन शुल्क तथा स्थानीय तहको कार्यशैलीबारे अनुभव आदानप्रदान गरियो ।
प्रमुख प्रजापतिले अध्ययन टोलीलाई भक्तपुर नपाअन्तर्गत विभिन्न पुरातात्विक स्थानहरूमा लिँदै आएको पर्यटन सेवा शुल्क र नगरपालिकाले गर्दै आएको विकास निर्माणको विषयमा जानकारी दिनुभयो ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को भावनाअनुरूप भनपाले आफ्नो कार्यलाई अगाडि बढाएको जानकारी दिँदै उहाँले भक्तपुरले सम्पदा संरक्षणदेखि अन्य भौतिक संरचनाहरू निर्माण गर्दा स्थानीय जनताकै सहयोगमा उपभोक्ता समितिमार्फत गर्ने नीति लिंदै आएको बताउनुभयो ।
“नगरपालिकाका हरेक गतिविधि, आय–व्यय सबै नागरिकहरूसमक्ष समयमै जानकारी दिन भनपाले मासिक प्रकाशन ‘भक्तपुर’, पाक्षिक प्रकाशन नेपालभाषाको ‘ख्वप पौ’, रेडियो कार्यक्रम ख्वप सः हप्ताको २ दिन (२ घण्टा) सञ्चालन गर्दै आएको छ । नगरपालिकाको राजपत्र नियमित प्रकाशन गर्दै आएको छ ।” प्रमुख प्रजापतिले भन्नुभयो ।
भेटमा लुम्बिनी सांस्कृतिक नगरका प्रतिनिधिहरूले भनपाका गतिविधिबाट आफूहरूले सिक्न चाहेको उल्लेख गर्दै लुम्बिनी सांस्कृतिक नगरपालिका नयाँ नगरपालिका भएकोले धेरै समस्या र चुनौतीहरू भएको बताउनुभयो ।
नगर विकासको निम्ति आर्थिक स्रोत जुटाउन समस्या भएको उल्लेख गर्दै अध्ययन टोलीले नगर विकासको निम्ति लुम्बिनी विकास कोषसँग समन्वयको प्रक्रिया अगाडि बढाइरहेको बताउनुभयो ।
भेटमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका वडा अध्यक्षहरू विनोदकुमार श्रीवाहतन, नर्दमूलहक मुसलमान, धर्मप्रकाश कुर्मी, धु्रप यादव, कार्यालयका नायब सुब्बा लीलाधर बस्याल, कार्यपालिका सदस्य अलाख मोठधुठको उपस्थिति रहेको थियो ।
Leave a Reply