भर्खरै :

विभीषणहरू विभूषित नबनून्

सुरेन्द्रराज गोसाई
सरकारहरूले विभूषण तथा सम्मान र पदक वितरण निरन्तर गर्दै आइरहेका छन् । तर, ती कहिल्यै विवादरहित बनेनन् । पक्षपात, नातावाद–कृपावाद, भनसुन, चाप्लुसी, लेनदेन आदिकै भरमा सम्मान दिइनाले, आफ्नै परिवारजन र चौघेराभित्रकाहरूलाई विभूषित गरिनाले सरकारहरूले बदनामी कमाए । नेपाल सरकारको यो पटकको विभूषण वितरण विवादमा परेको छ ।
मरेको सर्पको पुच्छर हलिरहन्छ भनेझैँ यो गणतन्त्रमा महारानी, राजकुमार तथा राजकुमारीहरू कताबाट आए ? तिनीहरू नै विभूषित र सम्मानित हुने सामन्ती प्रथा कसरी चालू रह्यो ? के हामी सामन्तवादतिर नै फर्किरहेका छौँ ? के गणतन्त्रमा पुरस्कृत हुनुपर्ने दण्डित र दण्डित हुनुपर्ने पुरस्कृत हुने विडम्बना र बेथिति कायम नै रहन्छ ? शासकहरूकै घृणित चालबाजी, कुर्सीकेन्द्रित राजनीतिकै कारण समाज यो ढङ्गमा भ्रष्टीकरणतिर लम्किरहेको जगजाहेर छ । यो अत्यन्त दुःखद पक्ष हो । प्रदेशको विभूषण तथा सम्मान र पदक वितरण नकारात्मक प्रवृत्तिको निरन्तरताको अर्को उपाय बनाइए त्यो स्वीकार्य हुनेछैन । त्यो क्षम्य पनि हुनेछैन । जनताले नयाँ ढङ्गमा राजतन्त्रको अभ्यास खोजेका होइनन्, बरु गणतन्त्रको व्यावहारिक अभ्यास खोजेका हुन् । वंश प्रथाले वंश विनास निम्त्याउने विश्वको इतिहास हाम्रै अगाडि हुँदा–हुँदै त्यही बाटोमा हिँड्नु जति अर्को मूर्खता के होला ?
पञ्चायतदेखि आजसम्मका सरकारले समाजका नकारात्मक पात्रहरूलाई पुरस्कृत गर्दै आइरहेकोमा जनता असन्तुष्ट छन्, आक्रोशित छन् । बारबार यहाँ भ्रष्टाचारी, भूमि–अपराधी, कालाबजारिया, देशद्रोहीको आरोप खेपेका व्यक्तिहरू आफ्नो आसेपासे भएकै भरमा राज्यबाट सम्मानित भए । यो प्रवृत्ति हाम्रो प्रदेशमा भित्याउने कुनै उद्देश्य यो विधेयकमा अन्तरनिहित नहोला भन्ने हामी आशा गर्दछौँ । दुई तिहाइको सरकार बदनामीमा पनि दुई तिहाइकै ‘रेकर्ड’ राखेर बिदा हुन चाहन्छ भन्नेमा हामीलाई विश्वास गर्न गा¥हो छ ।
गणतन्त्रमा देशका श्रम वीरहरू विभूषित हुन आवश्यक छ । ती मजदुर हुनसक्छन् या किसान । गणतन्त्रमा क्रान्ति वीर, युद्ध वीरहरूले अत्यन्त उच्च राष्ट्रिय सम्मान प्राप्त गर्ने विश्वको इतिहासले बताउँछ । देशको स्वतन्त्रता, स्वाधीनताको निम्ति लड्ने, परनिर्भरता तोड्न सङ्घर्ष गर्ने, निःस्वार्थ सेवामा जीवन समर्पण गर्ने, राष्ट्रिय स्वाभिमान उँचो पार्ने आदिलाई विभूषित गरिए गणतन्त्र केही हदसम्म भए पनि सुगन्धित हुनेछ । ओझेल परेका या पारिएका यस प्रदेशका सामाजिक तथा सांस्कृतिक नायकहरूलाई प्रकाशमा ल्याउन र सम्मानित गर्नसके प्रदेशको एउटा जिम्मेवारी पूरा हुने थियो । विभूषणलाई त्याग, तपस्या, योगदान तथा बलिदानको पर्याय बनाइनुपर्छ । सम्मान सस्तो बनाइए सरकार स्वय्म सङ्कटमा फस्दै जाने निश्चित छ । यो विधेयक सरकार आफैको निम्ति गलपासो नबनोस् । बरु सरकारकै सम्मान बढोस् । नाम खोज्दै हिँड्दा बद्नाम हुन नपरोस्, गुमनाम बन्न नपरोस् । सम्मान दिने आफै अपमानको सिकार बन्न नपरोस् । यो विधेयक प्रदेशमा थप विकृति–विसङ्गतिको वाहक नबनोस् । विभीषणहरू विभूषित नबनून् ।
(जेठ ८ गते सम्पन्न प्रदेश नं ३ को प्रदेशसभा बैठकमा ‘विभूषण सिफारिस तथा सम्मान र पदक सम्बन्धमा कानुनी व्यवस्था गर्न बनेको विधेयक’ माथि भएको छलफलमा सांसद सुरेन्द्रराज गोसाईले राख्नुभएको विचार)

Leave a Reply

Your email address will not be published. Required fields are marked *