भर्खरै :

संरा अमेरिकाका कारण हनोई बैठक असफल – प्रजग कोरिया

प्योङयाङ, २४ मे । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका विदेश मन्त्रालयका एक प्रवक्ताले शुक्रबार भियतनामको राजधानी हनोईमा गएको फेब्रुअरीमा संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रजग कोरियाली नेता किम जङ उनबीच भएको शिखर वार्ता असफल हुनुमा संरा अमेरिका दोषी भएको बताउनुभएको छ ।
विदेश मन्त्रालयका प्रवक्ताले प्रजग कोरियाको आधिकारिक समाचार माध्यम केसीएनएले हनोई बैठक असफल हुनुको अन्तर्निहीत कारण ‘संरा अमेरिकाले आफूखुसी लिएको गैरजिम्मेवार निर्णय भएको र त्यो निर्णय कुनै पनि हालतमा स्वीकार्न नसकिने’ बताउनुभयो ।
“संरा अमेरिकासँग विश्वासको सम्बन्ध विकास गर्न आणविक परीक्षण रोक्ने र अन्तरमहादेशीय बालास्टिक मिसाइलको परीक्षण बन्द गर्नेजस्ता रणनीतिकरूपमा प्रतिरक्षात्मक प्रकृतिका गम्भीर र अर्थपूर्ण निर्णय गरेका थियौँ”, प्रवक्ताले भन्नुभयो ।
तर, संरा अमेरिकाको तर्फबाट त्यसप्रति सद्भावनापूर्ण प्रतिक्रिया नआएको बरू एकपक्षीय रूपमा प्रजग कोरियाले मात्र निःशस्त्र हुनुपर्ने आशयको दबाब दिइएको उहाँको भनाइ थियो ।
भियतनामको राजधानी हनोइमा फेब्रुअरी महिनाको २७–२८ मा किम र ट्रम्पबीच भएको सम्मेलन बिनाकुनै सहमति टुङ्गिएको थियो । त्यसअघि सन् २०१८ को जूनमा सिङ्गापुरमा दुई नेताबीच पहिलो शिखर बैठक भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *