भर्खरै :

भारतीय लोकसभा निर्वाचनको परिणामः हिन्दू अतिवाद बढ्ने चिन्ता

काठमाडाँै, १० जेठ । भारतमा अप्रिल ११ देखि मे १९ सम्म सात चरणमा सम्पन्न लोकसभा निर्वाचनको अन्तिम परिणाम शुक्रबार दिउँसो प्रकाशित भएको छ ।
कुल ५४२ सदस्य चयनका लागि भएको निर्वाचनमा भाजपा नेतृत्वको राष्ट्रिय लोकतान्त्रिक गठबन्धन (एनडीएले) ३५२, भारतीय राष्ट्रिय काङ्ग्रेस नेतृत्वको युपीए गठबन्धनले ८७ र अरु क्षेत्रीय दल तथा वामपन्थी पार्टीहरूले १०३ सीटमा विजय प्राप्त गरेका छन् ।
कुनै समय राष्ट्रिय राजनीतिमै निर्णायक भूमिका खेल्ने अवस्थामा पुगेका भारतीय कम्युनिष्टहरू चुनावी नतिजामा भने पछि परेका छन् । कम्युनिष्ट मोर्चाले जम्मा ५ सीट जित्यो । भाकपा माक्र्सवादीले तमिलनाडुबाट दुई र केरलाबाट एक सीट जितेको छ भने भाकपाले दुई सीट तमिलनाडुबाटै जितेको छ ।
निर्वाचन परिणामले हिन्दू अतिवादी पार्टी भारतीय जनता पार्टीलाई स्पष्ट बहुमत दिलाएको छ भने गठबन्धनको सीट सङ्ख्यासमेत जोड्दा दुईतिहाइ नजिक पु¥याएको छ । निर्वाचनबाट धेरै अनपेक्षित परिणामहरू आएका छन् । भारतीय राष्ट्रिय काङ्ग्रेसका अध्यक्ष राहुल गान्धी नेहरू–गान्धी परिवारको परम्परागत निर्वाचन क्षेत्र अमेठीबाट भाजपाकी कनिष्ठ नेतृ स्मृति इरानीबाट पराजित भएका छन् ।
भारतीय विद्यार्थी आन्दोलनका चर्चित नेता एवम् उत्पीडित वर्गका वकालतकर्ता कन्हैया कुमार विहारको बेगुसरायबाट पराजित भएका छन् । त्यही १९९६ को मुम्बई बम हमलाका दोषी प्रज्ञा ठाकुर भाजपा उम्मेदवारको रूपमा मध्य प्रदेशको भोपालबाट लोकसभा सदस्य निर्वाचित भएकी छिन् । प्रज्ञा ठाकुरको जीतलाई भारतमै पनि धेरैले आश्चर्यको रुपमा लिएका छन् भने कतिपय राजनीतिक विश्लेषकले न्यायको हार र हिन्दू अतिवादी साम्प्रादायिकताको जीत भनेका छन् ।
पाकिस्तानी मिडियामा मोदीको जीतको चर्चासँगै भोपालबाट प्रज्ञा सिंह ठाकुरको जीतप्रति कडा टिप्पणी गरिएको छ । पाकिस्तानी अखबार द एक्सप्रेस ट्रिब्युनले एउटा समाचारबारे टिप्पणी लेख्दै भनेको छ “भारतमा मुसलमानविरुद्ध बम आक्रमणको अभियोग लागेकी हिन्दू योगी प्रज्ञा सिंह ठाकुरलाई भोपालबाट हिन्दू राष्ट्रवादी दल भाजपाबाट टिकट मिलेको मात्र होइन विजयी समेत भएका छन् । कुनै आतङ्कवादी आक्रमणमा संलग्न रहेको आरोप लागेका व्यक्ति भारतीय संसदमा चुनिएर पुगेको यो पहिलो पटक हो ।”
प्रजा ठाकुरको जीत तिनको व्यक्तिगत जीतभन्दा पनि भारतमा हिन्दू अतिवादी सोचको जीत हो । निर्वाचनमा भारतको राजनीतिक, सामाजिक र बौद्धिक क्षेत्रमा अमूल्य योगदान गरेका धेरै व्यक्तित्वहरू छानिएनन् । बरु हिन्दू अतिवादी सोच प्रचार गर्ने सिनेमाका नायक नायिका र आपराधिक पृष्ठभूमिकाहरूले जीते ।
कट्टर हिन्दू राष्ट्रवादी धारको नेतृत्व गर्दै नरेन्द्र दामोदरदास मोदीले विश्वको दोस्रो ठूलो जनसङ्ख्या र दोस्रो ठूलो मुस्लिम जनसङ्ख्याको समेत नेतृत्व गर्नेछन् । मोदीको पहिलो शासन कालमै भारतका मुसलमान र अल्पसङ्ख्यक समुदायविरुद्ध कैयौँ अत्याचारका घट्ना भएका र त्यसमा संलग्न हिन्दू अतिवादीहरूमाथि कुनै कारबाही नभएको दृष्टान्त छ । मोदीको दोस्रो कार्यकाल कतै त्यस्तै साम्प्रदायिक क्रियाकलापलाई संरक्षणमा समर्पित त हुने होइन भने आशङ्का र चिन्ता भारतका प्रगतिशील समुदायमा देखिन्छ ।
पाकिस्तानको चर्चित अखबार डानले सम्पादकीय लेख्दै मोदी र भाजपाको जीतमाथि कडा टिप्पणी गरेको छ । डानले लेखेको छ “विश्वको सबभन्दा ठूलो भनिएको लोकतन्त्रमा साम्प्रदायिक राजनीति अत्यन्तै मौलाइरहेको पुष्टि गरेको छ र भारतीय गणतन्त्रको भविष्यमा यसको असर देखिने छ । मोदीले आफूले गरेका प्रतिबद्धताहरू पूरा गर्न असफल भएको चुनावमा घाटा व्यहोर्ने राजनीतिक विश्लेषकहरूले भविष्यवाणी गरिरहेका थिए । तर, त्यसको विपरीत मोदीले बहुमत प्राप्त गरे । निर्वाचन परिणाम चकित गर्ने खालको छ । धार्मिक घृणा र साम्प्रदायिक राजनीतिबाट दोहन गर्न सकिन्छ भन्ने सावित भएको छ ।
डानले अगाडि लेखेको छ, “महिनाँैसम्म चलेको चुनावी प्रचारमा मोदीले मुस्लिम र पाकिस्तानविरोधी नारा खुलेर प्रयोग गरे । भारतले पाकिस्तानभित्र एयर स्ट्राइक गरेर राष्ट्रवादी भावना उक्साउने काम ग¥यो ।”
भाजपाले दक्षिणपन्थी राजनीतिलाई लोकप्रियतावादसँग मिसाइरहेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूलाई ‘जनावर’ भने । भाजपा अध्यक्ष अमित शाहले आप्रवासीहरूलाई ‘धमिरा’ भन्दै बङ्गालको खाडीमा फ्याँक्नुपर्ने बताएका थिए ।
भाजपाको पछिल्लो पाँचवर्षे कार्यकालमा भारतमा हिन्दू र मुसलमानबीच ठूलो साम्प्रदायिक दङ्गा नभए पनि सम्बन्ध नराम्ररी बिग्रिएको छ । गाई काटेको आरोपमा कैयौँ मुसलमानहरूको हिन्दू साम्प्रदायिक भीडद्वारा हत्या भएका छन् भने अरु हजारौँ भारतीय जेलमा बन्द छन् । भारतका मुसलमान र अल्पसङ्ख्यकहरू भारतमा आफ्नो भविष्यलाई लिएर चिन्तित छन् ।
पुनः बहुमत हासिल गरेलगत्तैको सम्बोधनमा नरेन्द्र मोदीले कसैमाथि गलत नियतवस केही नगर्ने त बताएका छन् तर भारतीय र विश्व जनमानसमा प्रश्न छ– के भाजपाले हिन्दू अतिवादी सोच र साम्प्रदायिक गतिविधि त्याग्न सक्छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *