क्युवाविरुद्ध सैन्य कारबाहीको धम्की दिँदै अमेरिका !
- जेष्ठ ८, २०८३
तेहरान, २५ मे । संरा अमेरिका र इरानबीच मध्यपूर्वमा तनावको अवस्था बल्झिंदै गए पनि इरानले संरा अमेरिकासँग युद्ध गर्ने पक्षमा आफू नरहेको बताएको छ । संयुक्त राष्ट्र सङ्घका लागि इरानी राजदूत मजिद तख्त राभान्चीको भनाइ उद्धृत गर्दै शनिबार इरानको आधिकारिक समाचार संस्था–आईआरएनएले लेखेको छ ।
“इरान मध्यपूर्वमा युद्ध चाहँदैन । संरा अमेरिका र मध्यपूर्वका अरू देश पनि युद्धको पक्षमा छैनन्”, तख्त–राभान्चीले भन्नुभयो ।
“तर, हामी हाम्रो देशमाथि हमला हुने कुनै पनि कदमको विरोधमा दृढतापूर्वक उभिन्छौँ ।”, उहाँको भनाइ छ ।
इरानी अधिकारीले संरा अमेरिकाको दबाबमा कुनै पनि वार्ताको सम्भावना नरहने बताउनुभयो ।
“त्रास, दबाब र नाकाबन्दीसँग पवित्र मनले फलदायी वार्ता हुनसक्दैन”, उहाँले भन्नुभयो ।
दुवै पक्षले आपसी सम्मानको सिद्धान्त अङ्गीकार गरेर समान हैसियतमा हुने संवाद र वार्ता मात्र फलदायी हुनसक्छ”, उहाँले थप्नुभयो ।
गएको वर्ष सन् २०१८ को मे महिनामा संरा अमेरिकी डोनाल्ड ट्रम्प सरकारले इरानी आणविक सम्झौताबाट हात झिकेलगत्तै इरान अहिले वाशिङ्टनको कडा नाकाबन्दी सामना गर्दै आएको छ ।
वाशिङ्टनले इरानसँग नयाँ आणविक सम्झौता गर्न खोजिरहेको छ । इरानको आणविक कार्यक्रम पूर्णरूपमा रोक्न खोजिरहेको छ । इरानले विकास गरिरहेको ब्यालेस्टिक मिसाइल बनाउने काममा रोक लगाउन चाहन्छ । साथै मध्यपूर्वमा इरानी प्रभाव निस्तेज बनाउन चाहन्छ ।
यसैबीच संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार मध्यपूर्वमा वाशिङ्टनले झण्डै १५ सय थप सेना पठाउने घोषणा गर्नुभएको छ ।
ह्वाइट हाउसमा आयोजित पत्रकार भेटघाटमा बोल्दै ट्रम्पले ‘तुलनात्मक रूपमा सानो सङ्ख्या’ को यो थप सैनिक तैनाथी मूलतः प्रतिरक्षात्मक हुने बताउनुभयो ।
“घटनाक्रम कसरी अघि बढ्छ, हामी हेर्नेछौं ।”, उहाँको भनाइ थियो ।
संरा अमेरिकी कार्यवाहक रक्षा सचिव प्याट्रिक शानाहानले रक्षामन्त्रालयको सो कदमबारे अमेरिकी कांग्रेसलाई जानकारी गराइसकेको बताउनुभयो ।
शानाहानले आफ्नो ट्वीटरमा ट्वीट गर्दै मध्यपूर्वमा संरा अमेरिकी सेनाको सुरक्षाको लागि थप पन्ध्र सय सेना पठाउन सेनाप्रमुखले गरेको आग्रहलाई रक्षामन्त्रालयले अनुमोदन गरेको लेख्नुभएको छ ।
“इरानबाट सम्भावित हमलाप्रतिको यो प्रक्रिया हो ।”, उहाँले ट्वीटरमा लेख्नुभयो ।
राष्ट्रपति ट्रम्पले एक दिनअघि मध्यपूर्वमा थप सेना पठाउने सम्भावनालाई अस्वीकार गरेको भोलि सो निर्णय सार्वजनिक भएको हो ।
“मेरो विचारमा त्यसको आवश्यकता हुनेछैन । म वास्तवमै त्यसको पक्षमा छैन”, ट्रम्पले भन्नुभएको थियो ।
इराकमा युद्धविरोधी जुलुस
संरा अमेरिका र इरानबीच सम्भावित लडाईको विरोधमा युद्धले ध्वस्त भएको मध्यपूर्वी देश इराकका जनताले प्रदर्शन गरेका छन् ।
राजधानी बगदादको तहरिर चोकमा आयोजना गरिएको सो प्रदर्शनमा इराकी झण्डा, सेतो फुल, बेलुन र शान्तिको प्रतीक सेतो परेवा बोकेर सहभागी बनेका प्रदर्शनकारीहरूले नारा लगाएका थिए–शान्ति जिन्दावाद ! युद्ध मूर्दावाद !
उनीहरूले बोकेको व्यानरमा इराकमाथिको युद्धको विरोध गर्दै लेखिएको छ, “इराकलाई युद्ध र द्वन्द्वबाट टाढा राख ।”
व्यानरमा अङ्ग्रेजी र पर्सियाली भाषामा नाराहरू लेखिएका थिए ।
त्यस्तै अर्को प्रदर्शन मध्य र दक्षिणी इराकमा भएको थियो ।
“म इरान र अमेरिकाबीच युद्धको स्थिति हेर्न चाहन्न । इराकलाई त्यस्तो युद्धको मैदान भएको हेर्न चाहन्न । सबै कुरालाई भग्नावशेषमा परिणत गरिदिने त्यस्तो युद्धबाट इराकलाई टाढा राख्न हामी हाम्रा नेताहरूलाई आग्रह गर्न चाहन्छौँ ।”, इराकका नागरिक साद्रले आफ्नो ट्वीटरमा लेख्नुभएको छ ।
Leave a Reply