भर्खरै :

हत्केलाले छेकेर रोहितको तेज छेक्न सकिँदैन

श्रीप्रसाद उदय
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) को अन्तर्वार्ता, रोहितबारे टिप्पणी रिपोर्ट जेठ ६ गते सोमबार नयाँपत्रिकामा प्रकाशित भयो । पूरा पृष्ठमा प्रस्तुत तीन फरक रचना भए पनि ती तीनवटै रचनाको उद्देश्य एकै देखियो । नेपाल मजदुर किसान पार्टीको जग के हो ? अथवा नेपाल मजदुर किसान पार्टी के आधारमा बाँचिरहेको छ ? नेमकिपाबारे खोजी हुनु सकारात्मक विषय हो ।
पुँजीवादी फोहरी राजनीतिक दल र तिनका नेताहरूबाट आजित आम पाठकहरूलाई इमानको राजनीतिमा दृढ नेमकिपाबारे हुने अनेक छलफल र प्रकाशनले उत्साहित बनाउँछ । आमसञ्चार माध्यममा हुने यस्ता कभरेजले नेमकिपाका कार्यकर्तामात्र होइन, शुभचिन्तकहरूलाई पनि हौसला प्रदान गर्छ । सोमबार नयाँपत्रिकाको कभरेजले पनि एउटा तरङ्ग ल्यायो ।
‘जनताकै भरमा हामी टिकेका छौँ’ शीर्षक दिएर प्रकाशित नेमकिपा अध्यक्ष रोहितको अन्तर्वार्ताको लामो संवादको सङ्क्षेपीकरण देखिन्छ । अन्तर्वार्ताको सङ्क्षेपीकरणले विषयवस्तुलाई बोझिलो बनाउनु स्वाभाविक छ । घटनाक्रमहरू बुभ्mन अन्य साहित्यको आवश्यकता टड्कारो हुन्छ । यद्यपि जनतासँग प्रत्यक्ष सम्बन्ध राखेर जनताको काम गर्दा ‘यिनीहरू भ्रष्टाचार गर्दैनन्’ भन्ने जनताबाट विश्वास जित्न सफल भएको भनाइलाई मुखरित गर्न अन्तर्वार्ता सफल छ । साँच्चिकै जनताको यही विश्वास नै नेमकिपाको दरो स्रोत हो । पञ्चायती भूमिसुधार कार्यक्रम पनि मोही किसान जनताको हितमा कार्यान्वयन गर्न आन्दोलन गर्नु नै नेमकिपाको स्थापना तथा निरन्तरताको प्रमुख आधार भएको पुष्टि गर्न अन्तर्वार्तालाई केन्द्रित गरिएको प्रस्ट झल्किन्छ । भूमिसुधार कार्यक्रमअनुसार पाउने मोही किसानको हक कायम हुन नदिन जाली जग्गाधनीहरूले गरेका षड्यन्त्रविरुद्ध नेमकिपाका कार्यकर्ताहरू डटेर लड्नु परेको तात्कालीन नेपाल कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग पनि नीतिगत सङ्घर्ष गर्नु परेको अन्तर्वार्तामा खुलाइएको छ । रोहितको भनाइलाई सारमा दिइएको छ, “पुष्पलालजी, तुलसीलालजीहरू यसलाई शाही भूमिसुधार भन्नुहुन्थ्यो । हामीले मोही त निश्चित गर्नैपर्छ, नत्र भोलि जग्गा दिनुपर्दा जोताहा थाहै नभए के आधारमा किसानलाई जग्गा दिने ?” भन्यौँ । “हामीले यसलाई वर्गीय रूपमा हेर्नुपर्ने बतायौँ । यदि पञ्चायतले मजदुरलाई उचित ज्याला दियो भने लिने कि नलिने भनेर तर्क ग¥यौँ ।” चिन्तनशील र जाँगरिलो युवा रोहितको तर्कलाई तात्कालीन कम्युनिष्ट पार्टीको नेतृत्वले देशभरि लागू गरेको भए आज कमैया, भूमिहीन र सुकुमवासी समस्या यति विकराल हुने थिएन । सोमबारै नयाँपत्रिकाको मध्यपृष्ठमा प्रकाशित साहित्यकार एवं ‘कम्युनिष्ट कार्यकर्ता’ अमर गिरीको गृह जिल्ला दाङमा ‘शाही भूमिसुधार’ भक्तपुरमा जस्तै इमानदारीपूर्वक कार्यान्वयन गरेको भए उतिबेला नै कमैया र कमलरी प्रथासमेत अन्त्य गराउन टेवा पुग्थ्यो । मोहीको हक स्थापना गर्ने आन्दोलनबाट मोही किसानहरूको जीवनस्तरमात्र उकासेको होइन, स्वयम् रोहितको दृष्टिकोण पनि दूरदर्शी भएको प्रमाणित भयो ।
अध्यक्ष रोहितबारे राजनीतिशास्त्री कृष्ण हाछेथुको ‘बिजुक्छें ः भक्तपुरका माओ’ टिप्पणी प्रकाशित छ । राजनीतिशास्त्री हाछेथुले नेमकिपाका कार्यकर्ताहरूलगायत भक्तपुरका जनताले अध्यक्ष रोहितलाई किन ‘दाइ’ भनी सम्बोधन गर्छन् भन्ने ऐतिहासिक उदाहरण दिएर बडा मसिनो गरी केलाएका छन् । पुरानो वा सामन्ती सामाजिक सम्बन्धअनुसार हाछेथु वा बिजुक्छेंजस्ता माथिल्लो जात वा जग्गाधनीहरूको नाति उमेरका व्यक्तिलाई पनि तल्लो जात वा किसानहरूले ‘बाजे’ भनेर सम्बोधन गर्नुपथ्र्यो । बिजुक्छेंको परिवार पनि माथिल्लो जातको वा जग्गाधनीहरू भएकोले रोहितलाई पनि मोही किसान, श्रमजीवी जनताले ‘बाजे’ नै भन्ने थिए । न्याय र समानताको निम्ति चेतनाको विगुल फुक्दै हिँडेका रोहित ‘बाजे’ को आडम्बरबाट मुक्त हुन चाहे । पार्टी कार्यकर्ता, समर्थक, शुभचिन्तक र सर्वसाधारण जनताबाट श्रद्धापूर्वक ‘दाइ’ मात्र भनी रोहित सम्बोधित हुनु आफैँमा सांस्कृतिक रुपान्तरणको द्योतक भएको राजनीतिशास्त्री हाछेथुले जिकिर गरेका छन् । निकै सटिक विश्लेषण गर्न खोज्दाखोज्दै हाछेथु नेमकिपाको कार्यकर्ता नभएको हुँदा केही शब्दहरू तलमाथि हुनु अन्यथा होइन । ‘प्रतिक्रियावादी सङ्घसंस्थामा गएर पनि जनताको सेवा गर्नुपर्छ’ भन्ने लेनिनवादी नीतिअनुसार नेमकिपाले पञ्चायतका साथै आजको पुँजीवादी संसदीय निर्वाचनलाई पनि उपयोग गर्दै आएको छ । तर हाछेथुले ‘प्रतिक्रियावादीको गढमा गएर जनताको सेवा गर्नुपर्छ’ भन्ने वाक्यमा ‘पनि’ शब्द छुटाउँदा अलि फरक अर्थ लाग्ने देखिएको छ । साथै ‘त्यो भूमिसुधारको जस नेमकिपाले नै लियो’ भन्नुभन्दा पनि मोही किसान आन्दोलन नेमकिपाले नै गरेको थियो भन्ने वाक्यांश परेको भए मूल्याङ्कन ठीक हुन्थ्यो । इतिहासको तस्वीर नै उतारिदिएको जस्तो हुन्थ्यो । नेमकिपा प्रत्यक्ष–अप्रत्यक्ष उद्योग र खुर्सानी व्यापारमा लागेको र त्यसैबाट पार्टी बलियो र स्थापित भएको दलिलले भने हाछेथुको उचाइमा आघात पु¥याउँछ । राजनीतिशास्त्री हाछेथुको सूचनाको स्रोत र बुझाइमा केही कमी देखिएको छ । हो, हाछेथुले भनेजस्तै ‘भक्तपुरको एक समूहले’ मात्र होइन, भक्तपुरका किसान–मजदुर तथा न्यायप्रेमी जनता रोहितलाई माओलाई जतिकै सम्मान गर्छन् । त्यतिमात्रै होइन, सारा नेपाली कामदार वर्ग र न्यायका पक्षपाती जनता रोहितलाई आदर गर्छन् ।
न्यायप्रेमी, देशभक्त नेपाली जनताबाट हृदयतः आदर गरिने नेता भएकैले पत्रकार वीरेन्द्र ओलीले प्रमुख रिपोर्ट तयार पारे, ‘भादगाउँ नगरीका सदावहार नारायणमान’ । रोहित वैचारिकरूपमा मात्र सशक्त र सक्रिय होइन, विभिन्न जिल्लामा आफैँ हिडेका छन् । विभिन्न जिल्लाका कार्यकर्तामात्र होइन, मजदुर–किसान, व्यवसायी, बुद्धिजीवी र पेशाकर्मीहरूसँग प्रत्यक्ष संवाद गरेका छन् । रोहितले स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय विषयमा सुझाव लिने र देशको हितको लागि मजदुर–किसान, व्यवसायी, बुद्धिजीवी र पेशाकर्मीहरूको कर्तव्य पनि सम्झाउने गरेका छन् । प्रखर प्रतिपक्षको भूमिकामा रहेका रोहितको चुक कसैले देखाउन सकेको छैन । रोहितको सुस्पष्ट दृष्टिकोणबाट पूर्व–पश्चिमका नेपाली जनता प्रभावित छन् । रोहितको देशभक्ति र निष्ठाको राजनीतिलाई हिमाल, पहाड र तराईका जनता सम्मान गर्छन् ।
पछिल्लो नेपाली राजनीतिक अध्याय भनेको प्रतिगमनविरोधी आन्दोलनबाट उत्थान भयो । प्रतिगमनविरोधी आन्दोलनलाई सार्थक बनाउन र त्यसपछि पनि रोहितले विभिन्न जिल्लाका जनतासँग प्रत्यक्ष भेटघाट, छलफल, सभा, गोष्ठीमा भाग लिए । पत्रकारितामा मोफसलको राजधानी दाबी गरिएको बुटवललगायत तराईका केन्द्रहरूमा आइरहे । धनगढी, नेपालगञ्ज, वीरगञ्ज, राजविराज र विराटनगर अनि पोखराजस्ता प्रमुख सहरसँगै पार्टी कार्यकर्ता भएका देहातहरूसम्म पुगी जनताको दुखसुख आत्मसात गरे । संविधान निर्माणको क्रममा, वैदेशिक हस्तक्षेप बढ्दै गएको बेलामा राष्ट्रपति शासन लगाउनुपर्ने धारणा रोहितले बुटवलबाटै उद्घोष गरे । आर्थिक दरिद्रताभन्दा बौद्धिक दरिद्रता घातक हुने विचार रोहितले चितवनका बुद्धिजीवीबीचमै सार्वजनिक गरे । नेपाल काठमाडौँमात्र होइन, देशको सन्तुलित विकासको लागि सङ्घीय राजधानी नै दाङमा सार्नुपर्छ भन्ने दृष्टिकोण रोहितले जोड दिंदै आएका छन् । कर्णाली प्रदेशमा पहिलोपटक कम्युनिष्ट झण्डा फहराउने नेमकिपाका अध्यक्ष रोहितसँग जुम्ला, कालिकोट, दैलेख र सुर्खेतका जनताले साक्षात्कार गरेको ताजै छ । शोषक, दलाल, जालीफटाहा, पुँजीवादी शासकहरूलाई परास्त गरी देशमा कामदार जनताको हुकुम स्थापना गर्न नेमकिपाका कार्यकर्ताहरूसँगसँगै अध्यक्ष रोहित देशव्यापी सक्रिय छन् ।
जनताको प्रजातन्त्रको लागि सङ्घर्षरत नेमकिपा पुँजीवादी सरकारमा जाँदैन । आजकोे आजै सरकारमा नजाने भएपछि राजनीतिशास्त्री हाछेथुले भनेजस्तै अवसरवादीहरू नेमकिपामा लाग्दैनन्् । न्यायप्रेमी जनतालाई नेमकिपाबाट टाढा राख्न अवसरवादीहरू रोहितलाई ‘भक्तपुरमै सीमित’ भनी घेराबन्दीमा राख्ने कुचेष्टा गर्छन् । अध्यक्ष रोहितको जाज्ज्वल्यमान व्यक्तित्वबाट तिरमिराएका प्रतिक्रियावादीहरू रोहितको विचार र योजनालाई ओझेलमा पार्न ‘भक्तपुरे’ भनेर कुण्ठित बनाउने कूचेष्टा गर्छन् । तर, कलुषित मनको हत्केलाले छेकेर रोहितको तेज रोक्न सक्दैन । सोमबार नयाँपत्रिकामा प्रकाशित रचनाहरूले अध्यक्ष रोहितको विचार र व्यक्तित्व उजागर पार्न मद्दत पु¥याएको छ । अध्यक्ष रोहितको व्यापक दृष्टिकोणलाई सम्मान गर्दै सोमबार फेसबुक प्रयोगकर्ताहरूले लेखेका छन्, “नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) अन्तर्राष्ट्रवादी र कामदार वर्गका राजनेता हुन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *