न्यायालय पनि लामो समयदेखि दबाबमा बाँच्ने गरेको देखिन्छ
- बैशाख ७, २०८३
–बोधबहादुर नेपाली
हप्तादिन अघिदेखि मोटरसाइकल र स्कुटरमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्छ भन्ने महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी बसन्त पन्तको अभिव्यक्तिलाई लिएर अखबारदेखि सामाजिक सञ्जालका भित्ताहरूमा तर्कवितर्क भइरहेका छन् । मोटरसाइकल र स्कुटरमा पछाडि बस्नेले पनि हेल्मेट लगाउनुपर्छ भन्ने नियम नयाँ कदापि होइन । यो नियम त अरु कैयौं ऐन–नियमजस्तै लागू नभएको मात्र हो । एसएसपी पन्तले पत्रकार सम्मेलनमा मोटरसाइकलको पछाडि बस्नेले पनि हेल्मेट लगाउने हो भने दुर्घटनाबाट हुने मानवीय क्षति कम गर्न सकिन्छ मात्र भनेका थिए । हुन पनि यो चालू आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा भएका मोटरसाइकल दुर्घटनामा परी ९७ जनाले ज्यान गुमाएका छन् भने सयौँ जना घाइते र दर्जनौँको अङ्गभङ्ग भएको छ । त्यसरी ज्यान गुमाएका ९७ जनामध्ये ३० जना मोटरसाइकल र स्कुटरको पछाडि बसेर हेल्मेट नलगाएका यात्रु थिए ।
डब्बल हेल्मेटको कुरा आउनेबित्तिकै कतिपयले ट्राफिक प्रहरीले हेल्मेट उद्योग वा व्यापारीको नुन खाएको शङ्का गरियो । सरकारको माथिदेखि तलसम्म कमिसनतन्त्र चलिरहेको अवस्थामा त्यस्तो शङ्का गर्नु नौलो भएन । तर, हरेक कुरामा नकारात्मक पक्षमात्र खोतल्ने मानसिकता त्याग्नुपर्छ । विरोध र आलोचना गर्नुभन्दा पहिले सत्य असत्य के हो र जनताको हित र अहित के हुने हो एकपटक विचार गर्नैपर्छ । हो, पछाडि बस्नेले पनि हेल्मेट लगाएर अपराध गर्नसक्छन् अपराधीहरूले । तर, सर्वसाधारण यात्रुले हेल्मेट नलगाएको आजको समयमा मोटरसाइकलमा बसेर अपराधका घटना भएन र गरेन भन्ने त होइन । मोटरसाइकल र स्कुटरमा पछाडि बस्नेले पनि हेल्मेट लगाएमा दुर्घटना भए पनि ज्यानै जाने अवस्थामा न्यूनीकरण भने अवश्य हुनेछ । रह्यो कुरा करोडौँ र अरबौँ खर्चको कुरा । के मानिसको जीवन ३ हजार ३५ सत्न्दा सस्तो हो ? होइन भने मानिसको जीवनको केन्द्रको रुपमा रहेको टाउको र गिद्दीलाई क्षति हुनबाट सुरक्षा गर्ने हेल्मेटको प्रयोगप्रति किन यति सा¥हो वितृष्णा ? हेल्मेटको खर्चले अरबौँ रुपैयाँ विदेशिएको र विदेशिने हिसाब निकाल्नेहरूको हातमा रहेका आधा लाख र एक लाखका मोबाइल फोन किन्दाखेरिको पैसा पनि नेपालमै नरहेको हेक्का छ कि छैन ? सत्य त हामीले हाम्रो आवश्यकताका वस्तु हाम्रै देशमा बनाउन सकेपछिमात्रै हाम्रो पैसा विदेशिनबाट रोकिने छ । हेल्मेट मोटरसाइकल चालक र यात्रुको जीवन रक्षाको लागि भएकोले यसमा अनावश्यक विवाद गरिरहन आवश्यक छैन ।
Leave a Reply