जनताको सेवा गर्न उत्पादनमुखी अर्थनीति आवश्यक
- श्रावण १, २०८३
भक्तपुर, १४ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले चिनियाँ भाषाप्रति संसारभरिका जनताको लगाव बढिरहेको र चीनको उदयसँगै चिनियाँ भाषाको पनि सान्दर्भिकता बढिरहेको बताउनुभयो ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित चिनियाँ भाषा, नेपालभाषा र सिलाइ तालिमको प्रमाणपत्र वितरण कार्यक्रममा बोल्दै प्रमुख प्रजापतिले नेपाल मजदुर किसान पार्टीले पञ्चायतकालदेखि नै समाज परिवर्तनको निम्ति सङ्घर्ष गरिरहेको बताउनुभयो ।
नगरपालिकाद्वारा सञ्चालित विभिन्न तालिमहरूले युवाहरूलाई आत्मनिर्भर बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्दै प्रमुख प्रजापतिले पुँजीवादी व्यवस्थामा पद र पैसाको निम्ति हानथाप हुने बताउनुभयो ।
युवाहरूमा विभिन्न प्रकारका विकृति बढिरहेको प्रसङ्ग कोट्याउँदै उहाँले नगरपालिकाले आर्थिक कारणले पढाइबाट विद्यार्थी बिमुख हुन नदिन सहुलियत ब्याजदरमा रु. ५ लाखसम्मको शैक्षिक ऋणको व्यवस्था गरिरहेको बताउनुभयो । उहाँले युवाहरूलाई राजनैतिक परिवर्तनमा भूमिका खेली समाजको निम्ति योगदान गर्न प्रेरित हुनुपर्ने बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले नगरवासी युवा पुस्ताको हातमा सीप दिने उद्देश्यले नगरपालिकाले विभिन्न तालिमहरू सञ्चालन गरिरहेको बताउँदै भक्तपुरलाई ज्ञान–विज्ञानको केन्द्र बनाई यहाँको सांस्कृतिक सुरन्दरतालाई जोगाउन नगरपालिका तत्पर रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ७ का वडाध्यक्ष उकेश कवांले नयाँ पुस्तालाई सीपयुक्त बनाउन र विभिन्न भाषामा दख्खल बनाउन नगरपालिकाले तालिम सञ्चालन गरिरहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोरा, १० वडाका वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा, कार्यपालिका सदस्य रोशनमैया सुवाल, नगरपालिकाद्वारा सञ्चालित चिनियाँ भाषाका प्रशिक्षक राजेन्द्र चवाल र श्रीकष्ण ध्वजु, नेपालभाषाका प्रशिक्षक आशाकुमार चिकंबञ्जार र सिलाइका प्रशिक्षक धर्मलक्ष्मी लघुले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा प्रमुख प्रजापतिले विभिन्न तालिमका प्रशिक्षार्थी र प्रशिक्षकहरूलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो ।
Leave a Reply