भर्खरै :

संस्कृति, सम्पदा अनुगमन समिति भक्तपुर नपामा

भक्तपुर, १४ जेठ । प्रतिनिधिसभा अन्तर्राष्ट्रिय सम्बन्ध समितिको संस्कृति, सम्पदा अनुगमन समितिका संयोजक सुजिता शाक्यको नेतृत्वमा आएको एक प्रतिनिधिमण्डलले भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिसँग भेट ग¥यो ।
भेटमा प्रमुख प्रजापतिले भक्तपुरका ऐतिहासिक र सांस्कृतिक सम्पदाहरू मौलिक शैली र सीपमा उपभोक्ता समितिमार्फत स्थानीय जनशक्ति परिचालन गरी संरक्षण गरिरहेको बताउनुभयो । उहाँले अमूर्त सम्पदा संरक्षणार्थ विभिन्न सांस्कृतिक बाजागाजा र नाचगानको प्रतिस्पर्धा र प्रतियोगिता सञ्चालन गरी आर्थिक र भौतिक सहयोग प्रदान गर्दै अगाडि बढिरहेको जानकारी गराउनुभयो । उहाँले भक्तपुरलाई शिक्षा, संस्कृति र ज्ञान विज्ञानको केन्द्र बनाउने उद्देश्यका साथ शिशु स्याहारदेखि ७ वटा कलेजहरू सञ्चालन गरिरहेको र सरकारबाट अनुमति प्राप्त भएपछि विश्वविद्यालय सञ्चालन गर्ने योजना रहेको बताउनुभयो ।
प्रमुख प्रजापतिले नगरवासीहरूलाई स्वास्थ्य सेवा प्रदान गर्न घर–घरमा नर्सिङ्ग सेवा, ३ वटा जनस्वास्थ्य केन्द्र, १ वटा आँखा अस्पताल सञ्चालन गरिरहेको जानकारी गराउँदै १०० शैय्याको ख्वप अस्पताल निर्माण भइरहेको अवगत गराउनुभयो ।
उहाँले २०७२ को विनाशकारी भूकम्पबाट भक्तपुर नगर क्षेत्रमा ११५ वटा सम्पदाहरूमा पूर्णरूपमा क्षति पुगेकोमा ८३ वटा सम्पदाहरू पुनर्निर्माण भइसकेको र ३२ वटा सम्पदाहरू निर्माणाधीन रहेको बताउनुभयो । उहाँले सम्पदा संरक्षण र विकास निर्माणको लागि विदेशीको सहयोगलाई भन्दा सरकारमार्पmत नै स्थानीय तहहरूलाई आर्थिक सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।
संस्कृति, सम्पदा अनुगमन समितिका संयोजक शाक्यले काठमाडाँै उपत्यकाका विश्व सम्पदा क्षेत्रहरूको अनुगमनको क्रममा विभिन्न स्थानहरूमा अस्तव्यस्त रहेको जानकारी गराउँदै भक्तपुर नगर क्षेत्रमा व्यवस्थित ढङ्गले स्रोत र साधनको उचित प्रयोग गरी पुनःनिर्माण भइरहेकोमा खुसी व्यक्त गर्नुभयो । उहाँले सांस्कृतिक सम्पदा संरक्षणको लागि संसदीय उपसमितिबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटमा उपसमितिका सदस्यहरू बोधमाया यादव र सरला यादव तथा भनपा ९ नं.वडाध्यक्ष रवीन्द्र ज्याख्व, स्मारक संरक्षण दरबार हेरचाह अड्डा, भक्तपुरका प्रमुख मोहनसिं लामा र क्रान्ति विक्रम कायष्ठको पनि उपस्थिति थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *