भर्खरै :

आन्दोलन – एउटा विश्वविद्यालय

नीरज
हाम्रो पुस्ताका धेरै युवाहरूको लागि २०५८ बाट सुरु भई २०६३ सालमा टुङ्गिएको प्रतिगमनविरोधी जनआन्दोलन राजनीति र आन्दोलनका धेरै पाठ सिक्ने पाठशाला बन्यो । इतिहासका पाना र उपन्यासका ठेलीमा पढिएको राजनीतिक आन्दोलन आफू स्वयम्ले अनुभव गर्ने अवसर बन्यो त्यो समय । त्यसै पनि किशोरावस्था रोमाञ्चक हुन्छ । त्यसमाथि केही थान क्रान्तिकारी उपन्यास र चलचित्रका ताप मनभित्र छँदै थियो । त्यस्तो समयमा दिनकै प्रहरीसँगै भिड्नुपर्ने आन्दोलन हुँदा के चाहियो र ? जीवनभर नभुल्ने धेरै कथा र स्मरण जम्मा गरिदियो–प्रतिगमनविरोधी आन्दोलनले ।
सुरुआती दिनमा आन्दोलनको विषयवस्तुबारे त्यत्ति गहिरो जानकारी थिएन । त्यसअघि लाउडा विमान खरिदमा भएको घोटालाविरुद्ध भएको आन्दोलनमा पनि सहभागी भएकाले प्रतिगमनविरोधी आन्दोलनको आयु पनि धेरै लामो हुने अनुमान थिएन । तर, आन्दोलनको विकासक्रमसँगै धेरै राजनीतिक विषयमा जानकारी फैलिंदै गयो । आन्दोलनको क्रममा आयोजना हुने सभामा नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँका भाषणहरू प्रशिक्षण कक्षाहरू थिए । पुँजीवादी व्यवस्थाविरुद्ध युरोपका विभिन्न देशमा भएका आन्दोलन, राजाहरू साम्राज्यवादविरुद्ध जनतासँग मिलेर लडेका पूर्व एसियाली देशका इतिहासदेखि समाजवादी क्रान्तिको आवश्यकतासम्मका विषयमा उहाँका भाषण विश्वविद्यालयका कक्षाजस्तो भएको धेरैको अनुभव थियो । ती भाषणहरू नै प्रतिगमनविरोधी जनआन्दोलनका सैद्धान्तिक व्याख्या थिए ।
आन्दोलन सानो कुरा होइन । तर, सानै कुराबाट सुरु हुन्छ । प्रतिगमनविरोधी आन्दोलनको सुरुको माग प्रतिनिधिसभा पुनस्र्थापना थियो । त्यही मागका आधारमा आन्दोलनको एउटा चरणमा सडकमै संसद् बैठकहरू आयोजना भए । त्यही बेला चर्चा चल्यो फ्रान्सको टेनिस कोर्ट संसद्को । फ्रान्सेली तेस्रो संसद्ले आफूलाई राष्ट्रियसभा घोषणा गरी राजा संवैधानिक नभएसम्म एकअर्काबाट नअलग्गिने प्रतिबद्धता व्यक्त गर्न एउटा टेनिसकोर्टमा बसेको बैठकलाई नै टेनिसकोर्ट संसद् भनिन्छ । प्रतिनिधिसभा पुनस्र्थापनाको माग गर्दै आन्दोलनरत दलका सबै सांसदहरू सिंहदरबारमा पसेर संसद् बैठक बस्ने कार्यक्रम थियो । निषेधित क्षेत्र भन्दै प्रहरीले भद्रकाली नपुग्दा निर्मम लाठीचार्ज ग¥यो । बैठक प्रज्ञा प्रतिष्ठानको हलमा भयो । राजनीतिशास्त्रका केही प्राध्यापकबीच सीमित फ्रान्सेली इतिहासको टेनिसकोर्ट प्रसङ्ग जनतासम्म पु¥याउन त्यो कार्यक्रम निकै शक्तिशाली कार्यक्रम बन्यो । आन्दोलन खुला विश्वविद्यालय हो भन्ने भनाइ त्यो चरणले पुष्टि ग¥यो ।
आन्दोलनमा क्रमशः राजा र राजतन्त्रविरुद्ध नारा लाग्न थाल्यो । राजतन्त्रविरुद्ध नारा लगाएको भनी केही विद्यार्थी नेताहरूलाई पक्राउ गरियो । तर, उनीहरूको पक्राउले राजतन्त्रविरोधी नारालाई अझ व्यापक बनायो । सडकमा राजाविरोधी नारा लगाउनु साहसको कुरा रहेन, बरु क्रमशः फेसन बन्दै गयो । राजतन्त्र र गणतन्त्रबीचको भिन्नताबारे बहस बौद्धिक वृत्तबाट तल जनतासम्म आयो । राजतन्त्रको विरोध र गणतन्त्रको समर्थन जुलुसका नारा बन्न थाल्यो । केही विद्यार्थीहरू राजा र राजतन्त्रको विरोधको नाममा निकै अभद्र नारा लगाउँथे । उनीहरूका नारा राजनीतिक हुन्थेनन् । त्यसरी नारा लगाएर उफ्रने कतिपय युवाहरू त आन्दोलनमा आएको हो कि मनोरञ्जन गर्न आएको छुट्याउनै गा¥हो पथ्र्यो । त्यस्तै अवस्थामा हामीले इतिहासमा राजतन्त्रको उदय भूमिका र पतनबारे आन्दोलनकै मैदानमा सिक्ने अवसर पायाँै । विश्व इतिहासमा कसरी राजतन्त्र फालियो, फालिएको राजतन्त्र फेरि कसरी स्थापित भयो र गणतन्त्र स्थापना भएका देशहरूमा पनि जनताले कसरी विभेदको सामना गरिरहनुप¥यो भन्ने विषयमा सिक्न हामी विश्वविद्यालयको कक्षामा धाइरहनुपरेन । सडक आफैँ विश्वविद्यालयको कक्षाजस्तै भए, जहाँ हामी पोडिएमबाट खुला कक्षा लिइरहेका प्राध्यापकका कुरा चित्त बुझे मज्जाले ताली पनि बजाउन सक्थ्यौँ । त्यस्ता प्रशिक्षण कक्षा कति बेला कुनै विद्यालयको कक्षामा पनि हुन्थ्यो भने कतिबेला घरको आँगनमा । राजतन्त्र फालेर गणतन्त्र ल्याउने तर कस्तो खालको गणतन्त्र भन्ने प्रश्नबारे छलफल चल्थ्यो । सबैले राजतन्त्र मुर्दावादको नारा लगाउँदा हामीले पनि राजतन्त्रको विरोधमा नारा लगायौँ । गणतन्त्र जिन्दावाद भनेर अरूले नारा लगाउँदा भने हामी सोच्थ्यौँ–हामीले कस्तो गणतन्त्रलाई जिन्दावाद भन्ने ?
अरूले जिन्दावाद भनेको गणतन्त्र र हामीले चाहेको गणतन्त्रमा भिन्नता भएको बुझेपछि हामीले जुलुसमा समाजवादी गणतन्त्रको नारा लगाउन थाल्यौँ । अरूले गणतन्त्र जिन्दावादको रातो कपडा निधारमा बेर्दा हामीले बे¥यौँ – समाजवादी गणतन्त्र जिन्दावाद लेखिएका रातो कपडा । जुलुसमै पनि समाजवादी गणतन्त्र जिन्दावाद र गणतन्त्र जिन्दावाद भन्ने समूहबीच कसले ठूलो स्वरले नारा लगाउने विषयमा प्रतिस्पर्धा हुन्थ्यो । तर, हामीले बिस्तारै सिक्दै थियौँ– सँगै आन्दोलनको मैदानमा रहेका अरू राजनीतिक दल र हामीबीचको सैद्धान्तिक दूरी र लक्ष्यमा भिन्नता । पुँजीवादी गणतन्त्रले हाम्रो लक्ष्य पूरा हुने थिएन । गणतन्त्रमात्र स्थापना भएर पनि हाम्रो आन्दोलनको लक्ष्य पूरा हुने थिएन । हामी समाजवादी गणतन्त्रको पक्षमा थियौँ । त्यसले मात्र समाजमा समानताको जग राख्नसक्थ्यो, विभेद र अन्यायपूर्ण व्यवस्थाको अन्त्य गर्नसक्थ्यो । हामीले राजतन्त्रविरोधी आन्दोलनलाई बेलायत वा फ्रान्सको इतिहासको नेपाली अनुवाद गर्न खोजेका थिएनाँै, बरु रुसको अक्टोबर समाजवादी क्रान्तिको रूपमा विकास गर्न चाहेका थियौँ । आफ्नो नाममा कम्युनिस्ट शब्द जोडिएका पार्टीका कार्यकर्तासमेत यो कुरा गर्न अनकनाउँथे । उनीहरू आन्दोलनलाई रुसमा सन् १९१७ मा भएको फेब्रुअरी क्रान्तिसम्म पु¥याएर करेन्स्कीको पुँजीवादी सरकार बनाउन चाहन्थे । हामी आन्दोलनलाई अक्टोबर क्रान्तिको रूपमा विकास गर्नुपर्नेमा जोड दिन्थ्यौँ । करेन्स्कीको सरकारले नेपाली जनताको प्यास मेट्न सक्दैनथ्यो । समयले आज त्यही पुष्टि गरेको छ । राजा फालिए, धेरै राजाहरू जन्मिए । जनताको अवस्थामा कुनै प्रकारको सुधार भएन ।
आन्दोलनको एक प्रसङ्गमा म्याग्नाकार्टाको चर्चा चल्यो । बेलायती इतिहासमा आउने म्याग्नाकार्टाको प्रसङ्ग पनि राजनीतिशास्त्रका केही प्राध्यापक र विद्वानसम्म मात्र सीमित थियो । व्यापक जनतालाई त्यसको जानकारी थिएन । म्याग्नाकार्टाको इतिहास सार्वजनिक चासोको विषय बन्यो । जनसभामा नेताहरूले त्यसको इतिहासबारे चर्चा गरे । अन्तर्वार्ताहरू छापिए । बेलायतमा म्याग्नाकार्टाले राजा र धर्मको अधिकारलाई सीमित बनाइदिएको थियो । तर, बेलायती पुँजीवादी क्रान्तिको क्रममा तयार भएको म्याग्नाकार्टा नेपालको सन्दर्भमा अपूर्ण हुने आलोचनात्मक चेतसहितको का. रोहितको मन्तव्य सैद्धान्तिक सङ्घर्षको सिलसिला बन्यो ।
प्रतिगमनविरोधी आन्दोलनको सुरुआतदेखि नै आन्दोलनको विकास गर्ने तरिकाबारे दुई वटा अलग धार थिए । एउटा धारले आन्दोलन सहर, अझ काठमाडाँैका मध्य भागमा केन्द्रित गर्ने र त्यसैको बलमा राजालाई झुकाउने भन्ने थियो । अधिकांश ठूला भनिएका पार्टीहरू यो विचारका पक्षधर थिए । उनीहरू आन्दोलन व्यापक जनतासम्म पु¥याउने पक्षमा थिएनन् । निश्चित कार्यकर्ता पङ्क्तिभित्रै मात्र आन्दोलनलाई सीमित राख्ने र सकेसम्म चाँडै आन्दोलन टुङ्ग्याएर सत्तामा जान उनीहरू सधँै तत्पर थिए । घटनाक्रमले उनीहरूको त्यस्तो मनसाय पुष्टि पनि ग¥यो । एमाले प्रतिगमन आधा सच्चियो, बाँकी सरकारमा गएर सच्याउने भनी सरकारमा गयो पनि । तर, त्यसभन्दा अलग्ग नेमकिपाले भने आन्दोलनलाई राजधानी वा सहरकेन्द्रितमात्र गर्न नहुने विचार अघि सारेको थियो । आन्दोलन जनता सचेत बनाउने पाठशाला भएको हुनाले सकेसम्म स्थानीय स्तरसम्म विस्तार गर्नुपर्ने विचारमा आधारित भएर गाउँबस्ती पुग्ने अभियान पनि भयो । राजा ज्ञानेन्द्रले गराउन खोजेको स्थानीय निकायको चुनावको क्रममा आन्दोलनलाई अझ स्थानीय स्तरमा पु¥याउनुपर्ने विचारले बल पायो । आन्दोलन जति व्यापक भयो, जनताको राजनीतिक चेतनास्तर त्यत्ति नै विस्तार हुने थियो । गठबन्धनका केही नेताहरू राजधानी ठप्प गरेर जतिसक्यो चाँडो आन्दोलन सकाउने सोचमा थिए ।
आन्दोलनको क्रममा यसरी जनताको बीचमा जाँदा हामीले धेरै कुरा सिक्ने अवसर पायौँ । जनताको जीवनस्तर, राजनीतिक चेतनास्तर, हिजोका सत्तासीत राजनीतिक दलप्रतिको आक्रोश, भविष्यप्रतिको चाहना आदि थाहा पाउने खुला कक्षा बन्यो ।
आन्दोलनको क्रममा धेरै साथीहरू हिरासतमा पर्नुभयो । एक समयको दैनिकी नै हरेक दिन दिनको २ बजे बागबजार पुग्ने, नाराबाजी गर्ने, प्रहरीसँग भिड्ने, पक्राउ पर्दा महेन्द्र पुलिस क्लवमा एक रात बास बस्ने, भोलि बाहिर आउने फेरि जुलुसमा सहभागी बन्ने भएको थियो । “आज त म प्रहरीको अघि पर्दिनँ है, भोलि बिहान मेरो परीक्षा छ ।” जस्ता संवाद विद्यार्थीहरूबीच सुनिन्थ्यो ।
स्थानीय निकाय निर्वाचन बहिष्कारको क्रममा झण्डै महिना दिन हिरासतमा बिताउनुप¥यो । जावलाखेलस्थित महिला प्रशिक्षण केन्द्रमा राखिएका थियौँ । विभिन्न राजनीतिक पार्टी र नागरिक अगुवाहरूसमेत थुनिएको हिरासत बसाइ धेरै कुरा सिक्ने अवसर पनि बन्यो । राजनीतिक कार्यकर्ताको लागि जेल पनि विश्वविद्यालय हो भन्ने भनाइ त्यहाँ बस्दा महसुस भयो । राजनीतिमा कपाल सेतो बनाइसकेका नेताहरूदेखि प्राज्ञिक वृत्तको नेतृत्व गरिरहनुभएका प्राध्यापक र बुद्धिजीवीहरू त्यहाँ सँगै थियौँ । काङ्ग्रेस दुई भागमा टुक्रिएको समय थियो । दुवै काङ्ग्रेसको संयुक्त बैठक बस्थे र पार्टी एकता गर्ने उपायबारे विचार मन्थन गर्थे । फरक–फरक वामपन्थी दलहरूका साथीहरू पनि थियौँ । नेपालको कम्युनिस्ट आन्दोलनका समस्याबारे छलफल हुन्थ्यो ।
महिला प्रशिक्षण केन्द्रमा ठिक्क खालको एउटा पुस्तकालय थियो । हामीलाई त्यो पुस्तकालय ‘ढुङ्गा खोज्दा देवता’ जस्तै भयो ।
२०६३ वैशाख ११ गते लोकतन्त्र स्थापना भयो । यति चाँडै आन्दोलन सकिने हामीले सोचेका थिएनौँ । झण्डै महिना दिनदेखि आन्दोलन नै हाम्रो दिनचर्या बनिरहेको थियो । वैशाख ११ गते लोकतन्त्र स्थापना भयो भन्ने खबर सुन्दा हामी अलमलमा प¥याँै । हामीले थालेको आन्दोलनको आजु त अझै टाढा थियो । हिजो बेलुकीसम्म सँगै मसाल जुलुस निकालेका अरू राजनीतिक पार्टीका साथीहरू लोकतन्त्र आएको खुसियालीमा उफ्रिन थाले । हामी अझै आन्दोलनको अभिभारा बाँकी भएको निष्कर्षमा पुग्यौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *