भर्खरै :

बाँके साक्षर जिल्ला घोषणा हुनसकेन

नेपालगञ्ज, १५ जेठ । बाँके अभैm साक्षर जिल्ला घोषणा हुन सकेको छैन । यस जिल्लाका तीन स्थानीय तहले मात्र साक्षरताको तथ्याङ्क सङ्कलन गरेका छन् भने बाँकी पाँच स्थानीय तह तथ्याङ्क सङ्कलनकै क्रममा रहेका छन् । सबै स्थानीय तहको तथ्याङ्कको आधारमा मात्र बाँकेलाई साक्षर जिल्ला घोषणा गर्न सकिन्छ ।
कोहलपुर नगरपालिका, खजुरा र नरैनापुर गाउँपालिकाले मात्र तथ्याङ्क सङ्कलनको काम सकेका छन् भने नेपालगञ्ज उपमहानगरपालिका, राप्तीसोनारी, डुडुवा, बैजनाथ र जानकी गाउँपालिका तथ्याङ्क सङ्कलनमै अड्किएका छन् । “गत फागुनमै बाँकेलाई साक्षर जिल्ला घोषणा गर्ने कार्यक्रम थियो, तर स्थानीय तहको ढिलाइका कारण समय पर धकेलिएको छ”, शिक्षा विकास तथा समन्वय एकाइ बाँकेका प्रमुख रामसुरेश यादवले भन्नुभयो ।
बाँकेलाई साक्षर जिल्ला घोषणा गर्न सङ्घीय सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र प्रदेश ५ को सामाजिक विकास मन्त्रालयहरूले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । तर जिल्ला र स्थानीय तहमा तदारुकताका साथ काम नहुँदा समय पर धकेलिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकाको तथ्याङ्क सङ्कलनको काम अन्तिम चरणमा पुगेको शिक्षा शाखा प्रमुख गोर्खबहादुर थापाले बताउनुभयो । शिक्षा विकास तथा समन्वय एकाइ बाँकेले यहाँका सबै स्थानीय तहका प्रमुखसँग बाँकेलाई साक्षर जिल्ला घोषणा गर्न आवश्यक समन्वयका लागि एक चरणको बैठक बसेर छलफल गरेको कार्यालय प्रमुख यादवले बताउनुभयो ।
सो कार्यालयले स्थानीय तहका जनप्रतिनिधिहरूलाई आप्mनो क्षेत्रका प्रत्येक घरमा गएर तथ्याङ्क सङ्कलन गर्न र निरक्षरहरूका लागि विशेष कक्षा सञ्चालन गरेर उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई साक्षर घोषणा गर्न आग्रह गरेको छ ।
विसं २०६८ को जनगणनाअनुसार बाँकेमा ६३ प्रतिशत मानिस साक्षर छन् । साक्षर जिल्ला घोषणा गर्न १५ देखि ६० वर्ष उमेरका ९० प्रतिशत मानिस साक्षर हुनैपर्छ । पूर्ण साक्षर जिल्ला घोषणा गर्न ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर हुनुपर्ने प्रावधान रहेको कार्यालय प्रमुख यादवले बताउनुभयो ।
उहाँले भन्नुभयो, “०६८ को जनगणनामा ६३ प्रतिशत साक्षर भएको देखाए पनि अहिले ठ्याक्कै यति नै भन्ने तथ्याङ्क छैन, तर बाँकेमा अहिले करीब ८० प्रतिशतभन्दा बढी नागरिक साक्षर छन् ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *