भर्खरै :

ख्वपमा बिदाइ कार्यक्रम

भक्तपुर, १८ जेठ । ख्वप कलेजमा अध्ययनरत बीबीएस र बीएस्सी चौथो वर्षका विद्यार्थीहरूको बिदाइ तथा मार्गनिर्देशन कार्यक्रम शनिबार कलेजमा सम्पन्न भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले विद्यार्थीहरू पाठ्यपुस्तकमा मात्र सीमित हुन नहुने चर्चा गर्दै राष्ट्रिय÷अन्तर्राष्ट्रिय राजनीतिलगायत समाज, इतिहास र भूगोलबारे पनि जानकारी राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
अध्ययनरत विद्यार्थीहरूले विभिन्न विश्वविद्यालयका विद्यार्थीहरूसँग नियमित अन्तरक्रिया गरी ज्ञानको दायरा फराकिलो बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
राजनीतिक शास्त्र विषय लिई उच्च शिक्षा अध्ययन गर्ने राजनीतिक नेताहरूको अभाव रहेको कारण संसद्मा भद्रगोल स्थिति रहेको उल्लेख गर्दै अध्यक्ष रोहितले नेताहरूमा राजनीतिक संस्कारको अभाव रहेको बताउनुभयो ।
राजनीतिशास्त्र अध्ययन गर्ने विद्यार्थीहरू देशको लागि आवश्यक भएको चर्चा गर्दै उहाँले राजनीतिशास्त्र, इतिहास र संस्कृति विषय पढ्ने विद्यार्थीहरूलाई भनपाले छात्रवृत्ति प्रदान गर्ने नीति लागू गर्नु सराहनीय कार्य भएको बताउनुभयो ।
राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरूले जनताको भावना बुझेर काम गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले भन्नुभयो, “सहर घोषणा गर्नुभन्दा पहिले सहरलाई चाहिने आवश्यक पूर्वाधार तयारी गर्नुपर्छ । सहरी मापदण्डको पूर्वाधारविना सहर घोषणा गर्नु घातकसिद्ध हुनेछ ।”
अध्यक्ष रोहितले भन्नुभयो, “कमी–कमजोरी हटाउन आलोचना र आत्मलोचना गर्ने बानी बसाल्नु आवश्यक छ ।”
जनताको चेतनास्तर विकास नभएसम्म फोहरको समस्या समाधान नहुने उल्लेख गर्दै उहाँले ढललाई उपचार पोखरीमार्फत खोलामा पठाउने व्यवस्था गर्नुपर्छ भन्नुभयो ।
सरकारले विश्वविद्यालयसँग समन्वय गरेर नीति निर्माण तय गर्नुपर्छ, अध्यक्ष रोहितले भन्नुभयो ।
चीन र संरा अमेरिकाबीच भइरहेको व्यापार युद्धले संरा अमेरिकालाई घाटा हुने स्पष्ट पार्दै उहाँले भन्नुभयो, “विश्व व्यापार सङ्गठनमा आबद्ध सदस्य राष्ट्रहरूले एक–अर्कामा कर लगाउन पाइँदैन ।”
कलेज सञ्चालक समितिका अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कम शुल्कमा गुणस्तरीय शिक्षा दिने उद्देश्यले भनपाले ७ वटा कलेजहरू सञ्चालन गरी देशकै सेवा गरिरहेको बताउनुभयो ।
विद्यार्थीहरूको नतिजा राम्रो र नराम्रो हुनुमा शिक्षकको पनि भूमिका हुने चर्चा गर्दै शिक्षकहरूले नियमितरूपमा आत्ममूल्याङ्कन गर्ने बानी बसाल्नुपर्छ भन्नुभयो ।
विद्यार्थीहरूले देश र जनताको हितमा सोच्नुपर्ने आवश्यकता औँल्याउँदै प्रमुख प्रजापतिले कलेजले लिएको उद्देश्यलाई पूरा गर्न आ–आफ्नो क्षेत्रमा सहयोग गर्नुपर्छ भन्नुभयो ।
भारतका संसद सदस्यमध्ये ५० प्रतिशत भन्दा बढी सांसदहरू कुनै न कुनै अपराधसँग जोडिएको चर्चा गर्दै प्रमुख प्रजापतिले यो रोग नेपालमा पनि सर्ने खतरा रहेको उल्लेख गर्नुभयो ।
आर्थिकरूपमा पिछडिएका विद्यार्थीहरूलाई नगरपालिकाले सहुलियत दरमा रू. ५ लाखको ऋण सुविधा उपलब्ध गराइरहेको उहाँले जानकारी दिनुभयो ।
सरकारमा गएका पार्टीहरूले सङ्घीयताको मर्मविपरीत कार्य गरिरहेको चर्चा गर्दै प्रमुख प्रजापतिले सङ्घले स्थानीय निकायमा कर्मचारी खटाउनु गलत कदम भएको बताउनुभयो ।
ख्वप माविका प्राचार्य प्रकाशकुमार श्रेष्ठले विद्यार्थीहरू ख्वप कलेजको स्थापनाको उद्देश्यप्रति सचेत हुनुपर्ने आवश्यकता औँल्याउनुभयो ।
ठूला राजनीतिक पार्टीहरूको मिलेमतोमा कामदार जनतालाई ठग्ने काम भइरहेको उहाँले बताउनुभयो ।
प्राचार्य श्रेष्ठले भन्नुभयो, “विश्वमा नवउदारवाद आक्रामक स्थितिमा छ । नवउदारवादको मुख्य उद्देश्य भनेको निजी संस्थालाई नाफा कमाउन दिनु हो ।”
कार्यक्रममा विद्यार्थीहरू किरण सुवाल, सुनिता मातांगुलू र सृजना केसीले ख्वप कलेजमा अध्ययन गर्दाको अनुभवबारे बताउनुभयो ।
प्रमुख अतिथि बिजुक्छँे र प्रमुख प्रजापतिले विद्यार्थीहरूलाई मायाको चिनो वितरण गर्नुभएको कार्यक्रममा उपप्राचार्य राजेशकुमार श्रेष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *