भर्खरै :

शुक्लाफाँटामा ताल सुक्न थाले

भीमदत्तनगर, २० जेठ । लामो खडेरीका कारण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्र रहेको ताल सुक्न थालेपछि यहाँ रहेका वन्यजन्तुलाई पानीको प्यास मेटाउन सकस भएको छ ।
चर्को गर्मीका कारण निकुञ्जभित्र रहेका तालको मुहान सुक्दै गएपछि वन्यजन्तुलाई पानीको समस्या हुन थालेको हो । निकुञ्ज प्रशासनले निकुञ्जभित्र चार दर्जनभन्दा बढी कृत्रिम ताल निर्माण गरी पानीको प्रबन्ध गरे पनि वर्षा नहुँदा पानीको मुहानमै समस्या भएपछि सौर्य प्रणालीबाट पानी तानेर ताल भर्नसमेत समस्या देखिएको छ ।
निकुञ्जभित्रको सबैभन्दा ठूलो रानी, बाबा, बठनियाँँलगायतका ताल सुकेका छन् भने चौधर खोलाको पानीको बहाव न्यून छ । बाहुने खोलामा मात्रै पानी बगिरहेको भए पनि निकुञ्जभित्रका सबै वन्यजन्तुका लागि पर्याप्त हुँदैन । रानी ताल र शुक्लाफाँटाभित्रको घाँसे मैदानमा केही ताल सुकेका छन् । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत लक्ष्मण पौडयालले भन्नुभयो, “एक÷दुई वटा ताल सुक्दैमा धेरै समस्या भने हुन्न ।” उहाँले रानी तालको जीर्णाेद्धार कार्य भइरहेको बताउनुभयो ।
“सोलारबाट पोखरी भर्ने काम हुँदैछ”, पौडयालले भन्नुभयो । वन्यजन्तुको बासस्थापन संरक्षण तथा गर्मीयाममा निकुञ्जभित्र भएका प्राकृतिक तालमा पानी कम हुने भएकाले निकुञ्जको विभिन्न क्षेत्रमा चालू आर्थिक वर्षमा ६० वटा पोखरी निर्माण गरिरहेको छ ।
ताल निर्माणका लागि रु. १ करोड २० लाख रकम केन्द्रबाट विनियोजन गरिएको निकुञ्ज कार्यालयले जनाएको छ । घाँसे मैदान, अर्जुनी क्षेत्र, पिपरिया, सिंहपुरलगायतका क्षेत्रमा हालसम्म ३४ वटा ताल निर्माण भइसकेका छन् । कुल ३०५ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा विश्वमै सबैभन्दा ठूलो बा¥हसिङ्गाको झुण्ड, पाटे बाघ, गैँडाका साथै विभिन्न प्रकारका जीवजन्तु देख्न पाइन्छ । शुक्लाफाँटामा १७ वटा गैँडा, १६ पाटे बाघ, २ हजार ३ सयको हाराहारीमा बा¥हसिङ्गा र सयौं प्रजातिका सङ्ख्यामा चराचुरुङ्गी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *