भर्खरै :

देखासिकीमा हिमाल चढ्न खोज्नु मूर्खता होः मिङ्माग्याबु

उनन्सत्तरी वर्षअघि सन् १९५० जुन ३ मा अन्नपूर्ण हिमाल आरोहण गरिएको थियो । फ्रान्सेली मौरिस हार्जोकको टोलीले आठ हजार मिटरभन्दा अग्लो हिमाल चढेको थियो । त्यसमा अन्नपूर्ण (८,०९१ मि) पहिले चढेको हिमाल हो । यही दिनको सन्दर्भ पारेर टे«किङ एजेन्सिज एसोसियसन अफ नेपाल (टान) र नेपाल पर्वतारोहण सङ्घ (एनएमए) अन्नपूर्ण शाखाको संयुक्त आयोजनामा अन्नपूर्ण आरोहण दिवस मनाइएको छ । सोही अवसरमा हिमाल आरोही मिङ्मा ग्याबु शेर्पालाई रु. ११ हजारसहित सम्मान गरियो ।
आरोही शेर्पाले सन् २०१० मा पहिलोपल्ट सगरमाथा आरोहण गर्नुभएको थियो । विश्वमा आठ हजारभन्दा माथिका १४ हिमाल छन् । त्यसमध्ये नेपालमा मात्रै आठ छन् । आरोही शेर्पाले आठ हजार मिटर अग्ला नौ हिमालको सफल आरोहण गरिसक्नुभएको छ । ताप्लेजुङका शेर्पाले सुरुमा सन् २०१० मा हिमाल आरोहीको सहयोगीका रुपमा सगरमाथा आरोहणमा जुट्नु भएको थियो । त्यसपछि आरोहणको व्यावसायिक तालिम लिनुभयो र सगरमाथामा पुग्नुभयो ।
जीवनको पहिलो खुसी सगरमाथा पुगेपछि पाइएको उहाँ बताउनुहुन्छ । शेर्पाले नेपालका सगरमाथा, अन्नपूर्ण, चोयु, कञ्जनजङ्गा, मनास्लु, धौलागिरि, ल्होत्से र मकालु तथा पाकिस्तानको केटु हिमाल सफल आरोहण गर्नुभएको छ । उहाँले आठ पटकको प्रयासमा ६ पटक सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँ दुई पटक प्राविधिक र वातावरणीय कारणले असफल हुनुभयो ।
हाल शेर्पाले प्रोजेक्ट पोसिवल भन्ने अभियानअन्तर्गत सो महिनाभित्र विश्वका १४ वटा आठ हजार मिटर अग्ला हिमाल आरोहणको तयारी गर्नुभएको छ । सात महादेशमा सात उच्च हिमसृङ्खला पर्नेमा शेर्पाले तीनवटा आरोहण गरिसक्नुभएको छ । जसमा रुसको माउन्ट एल्बस, अर्जेन्टिनाको माउण्ट अकोन्कागाउ र नेपालको सगरमाथा छन् । बाँकी चार उच्च हिमसृङ्खला पनि छिट्टै चढ्ने उहाँ बताउनुहुन्छ । एक सयभन्दा बढी उद्धारमा सहभागी शेर्पाले हालैमात्र एसियन शेर्पा अवार्ड २०१९ प्राप्त गर्नुभएको छ ।
हिमाल आरोहीका शव कुचेर हिमाल उक्लिरहनु पर्दा नरमाइलो लाग्ने गरेको अनुभव सुनाउँदै भन्नुहुन्छ । “पछिल्लो समय हिमाल चढ्ने कुरालाई देखासिकी, इगोका रूपमा लिइएको छ, अन्डरइस्टिमेट गरिएको छ, यो राम्रो होइन । हिमाल चढ्नु एकदम सजिलो कामजस्तो ठानिनु गलत हो । धेरै गा¥हो हुन्छ । इच्छा शक्ति, रक्तशक्ति, तालिम धेरै जरुरी हुन्छ । देखासिकीमा हिमाल चढ्न खोज्नु मूर्खता हो, यसले हिमालको गरिमालाई घटाउँदै लैजान्छ र जोखिम निम्त्याउँछ ।”
आरोहीको शव कुल्चेर हिमाल चढ्दा मनभरि अनेक प्रश्न खेल्ने उहाँ बताउनुुहुन्छ । हिमाल चढ्ने अधिकार सबैको छ तर उसको शारीरिक अवस्था कस्तो छ, तालिम लिएको छ कि छैन, अक्सिजन ग्रहणको क्षमता ब्लडसँग जोडिन्छ, त्यो पनि हेर्नुपर्दछ, सबै हेरेरमात्र अनुमति दियो भने राम्रो हुन्छ । हाम्रो देशको नीति र संयन्त्र फितलो छ । जसले जे पनि गर्छ । सगरमाथाको चुचुरोमा अवाञ्छित गतिविधि गरेका कुरा बाहिर आउँछन् । नेपालीको आस्था र धरोहर सगरमाथालाई बदनाम गराउनेहरु सल्बलाइरहेका छन् ।”
कीर्तिमानी आरोही शेर्पाले हिमालआरोहणलाई कुनै रहर मनोरञ्जनसँग नजोडी नेपालको पर्यटन पर्वतारोहणलाई विश्वमा चिनाउने काम गरेकाले उहाँलाई सम्मान गरिएको टान पश्चिमाञ्चलका अध्यक्ष हरि भुजेलले बताउनुभयो । अन्नपूर्ण हिमाल आरोहणपछि नेपाललाई विश्व पर्यटन बजारमा चिनाउन एक उत्कृष्ट गन्तव्यको रुपमा चिनिन पुगेको भुजेलको भनाइ छ । सफल आरोही हार्जोकले लेखेको पुस्तक ‘अन्नपूर्णाज’ कुनै समय निकै बिक्री भएको पुस्तकमा पर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *