भर्खरै :

चीन–संरा अमेरिका व्यापार युद्धले नेपाली व्यापारी पनि प्रभावित बन्ने

भक्तपुर, २० जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले संरा अमेरिकाले चीनविरुद्ध सुरु गरेको व्यापार युद्धले मानव जातिको हित नगर्ने बताउनुभएको छ ।
सोमबार भक्तपुरमा चिनियाँ समाचार संस्थाहरू सिन्ह्वा, चाइना न्युज सर्भिस (सीएनएस), चिनियाँ रेडियो इन्टरनेसनल (सीआरआई) लगायतका प्रतिनिधिहरूसित कुराकानी गर्दै अध्यक्ष बिजुक्छेँले चीन व्यापार युद्धको पक्षमा नभएको बरु वार्तामार्फत सम्झौताको लागि निरन्तर प्रयास गरिरहेको तर दम्भी संरा अमेरिकी शासकहरू वार्ताबाट तर्केर व्यापार युद्ध चर्काउन लागिरहेको बताउनुभयो ।
चीनविरुद्धको व्यापार युद्ध अन्त्यको क्रममा चीन सरकारले राखेको तर्कपूर्ण र शिष्ट भनाइ सुनेर–पढेर विश्वका संवेदनशील मानिसहरू चीनको पक्षमा देखिइँदै लागेको र चीनको कूटनीतिक परिपक्वताको सराहना गर्ने गरेको उहाँले बताउनुभयो ।
अध्यक्ष बिजुक्छेँले एक प्रश्नको जवाफमा संरा अमेरिकामा ट्रम्प प्रशासन रहेसम्म व्यापार युद्ध नटुङ्गिने उल्लेख गर्दै अमेरिकामा वर्तमान राष्ट्रपतिको परिवर्तनसँगै चीन र अमेरिकाको आपसी छलफलमा अमेरिकी व्यापार युद्ध सम्झौतामा पुग्ने अनुमान गर्नुभयो ।
विश्व सर्वहारा वर्गका नेता लेनिनले ‘मूर्ख आफ्नै ज्यावलदेखि रिसाउँछ’ भन्नुभएको उल्लेख गर्दै उहाँले राष्ट्रपति बन्ने योग्यता नै नभएका डोनाल्ड ट्रम्पलाई अमेरिकाको राष्ट्रपति निर्वाचित गरिएको र उनको आगमनसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा थुप्रै समस्या खडा भएको तर अहिले सरकारका पदाधिकारीहरू ट्रम्पको कार्यशैली चित्त नबुझेर धमाधम साथ छोड्दै गइरहेको बताउनुभयो ।
चीन–अमेरिका व्यापार युद्धले नेपाललाई कस्तो प्रभाव पार्ला ? र व्यापार युद्धबारे नेपाल सरकारले कस्तो धारणा बनाउनुपर्ने देख्नुहुन्छ ? भन्ने प्रश्नका जवाफमा अध्यक्ष बिजुक्छेँले भन्नुभयो, ‘‘चीनको आर्थिक विकासले नेपाललाई पनि फाइदा भएको छ । चीनको बृहत्स्तरको उत्पादनले नेपाल र दक्षिण एसियाका गरिब जनताले सस्तोमा विभिन्न सामग्री पाएका छन् । नेपालका व्यापारीहरूले चीनको उत्पादन नेपालमा ल्याएर र नेपाली उत्पादन चीनमा लगेर फाइदा गर्दैआएका छन् । व्यापार युद्धको कारण चीनले उत्पादन कटौती गरेमा त्यसबाट नेपाली व्यापारीसँगै नेपाली जनता प्रभावित हुनेछन् । चीनको बीआरआई परियोजना र अमेरिका व्यापार युद्धबारे नेपाली राजनीतिज्ञहरू र बुद्धिजीवी समुदाय त्यति जानकार छैनन् । विश्वविद्यालयका प्राध्यापक र कतिपय अखवारका लेखकहरू पुराना पश्चिमा विचारबाट ग्रसित छन् । विश्व व्यापार सङ्गठनको सदस्यको नाताले पनि नेपाल सरकारले व्यापार युद्धको विरोधमा र संरा अमेरिकाजस्तो विकसित र ठूलो देशको व्यापार संरक्षणवाद विरोधमा बोल्नुपर्ने हो । ’’
चीन र नेपालबीच सरकारी स्तरमा मात्र नभई जनस्तरमा समेत सम्बन्ध आत्मीय र प्रगाढ बन्दै गएको उल्लेख गर्दै अध्यक्ष बिजुक्छेले चीनमा अध्ययन पूरा गरेका र चिनियाँ भाषा जानेका नयाँ पुस्ता र नेपाली भाषा सिकेका चिनियाँ युवाहरूले दुई देशबीचको सम्बन्धमा ठूलो योगदान पु¥याउन सक्ने औंल्याउनुभयो ।
उहाँले चिकपा र नेमकिपाबीच मित्रवत् सम्बन्ध प्रगाढ रहेको र बेलाबेलामा दुई पार्टीबीच विचार आदानप्रदान र भेटघाट भइरहेको स्पष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *