भर्खरै :

निजी आवास पुनःनिर्माणसम्बन्धी बैठक

भक्तपुर, २१ जेठ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको ठूलो ब्यासीदेखि कमलविनायकसम्मको मुख्य सडक आसपासका पुराना घरहरू पुनःनिर्माण गर्न नक्सा पासमा समस्या भइरहेको तर्फ प्राधिकरणको ध्यानाकर्षण गर्नुभयो । उहाँले ब्यासीदेखि कमलविनायक सडकको वैकल्पिक सडक बनाउनुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको मङ्गलबार बसेको भक्तपुरमा निजी आवास पुनःनिर्माणसम्बन्धी बैठकमा प्रमुख प्रजापतिले ब्यासी–कमलविनायक सडक छेउमा भक्तपुरको प्राचीन र ऐतिहासिक पाटी, सत्तल, पोखरी तथा ढुङ्गेधाराहरू रहेको हुँदा सो क्षेत्रमा बाटो फराकिलो गर्दा सम्पदाहरू नास हुने बताउनुभयो ।
सडक साँघुरो हुँदा यात्रुहरूलाई आवागमनमा समस्या भएको र सडक दुर्घटनाको सम्भावना भएको बताउँदै प्रमुख प्रजापतिले त्यस क्षेत्रलाई व्यवस्थित रुपमा फुटपाथ बनाई पुरानै शैलीमा घर निर्माणमा जोड दिने बताउनुभयो ।
कार्यक्रममा काठमाडौँ उपत्यका प्राधिकरणका प्रमुख आयुक्त भाइकाजी तिवारीले सडक छेउका घरहरू पुरानै शैलीमा पुनःनिर्माण गर्न नगरपालिकाले पहल गर्नुपर्ने बताउँदै ब्यासी–कमलविनायक सडकको वैकल्पिक सडकको लागि अध्ययन भइरहेको बताउनुभयो ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठले स्थानीय जनताको राय–सुझावअनुसार सडकको मापदण्ड हेरफेर गरी सडकको दायाँबायाँ पेटी निर्माण गर्नुपर्ने बताउनुभयो ।
बैठक राष्ट्रिय पुनःनिर्माण प्राधिकरण कार्यकारी समितिका सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको अध्यक्षतामा बसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *