भर्खरै :

जुलिअन असान्जलाई बलात्कारको मुद्दामा पक्राउ गर्ने अनुरोध स्वीडेनमा अस्वीकृत

स्टकहोम, ४ जून (बीबीसी) । स्वीडेनको एउटा अदालतले जुलिअन असान्जलाई पक्राउ गर्न गरिएको अनुरोध अस्वीकार गरिदिएको छ । यो निर्णयसँगै विकिलिक्सका संस्थापकलाई ब्रिटेनबाट सुपुर्दगी गर्ने विषय थप जटिल बनेको छ ।
सन् २०१० मा लागेको बलात्कारसम्बन्धी अभियोगको छानबिनमा सहयोग नगरेका कारण उनीसँग थप सोधपुछ गर्न असान्जलाई पक्राउ गर्नुपर्ने माग अभियोजनकर्ताहरूको थियो ।
अभियोजनकर्ताहरूको पक्षमा निर्णय गरिएको भए यूकेबाट असान्जलाई सुपुर्दगी गराउने प्रक्रिया अघि बढ्ने थियो । तर, स्वीडेनका एक न्यायाधीशले असान्ज हाल ब्रिटेनको हिरासतमा रहेको बताउँदै उक्त प्रस्ताव अस्वीकार गरिदिएका थिए ।
स्वीडेनको कानुनअनुसार कुनै व्यक्ति विदेशमा भएको वा लुकेको भए उनको अनुपस्थितिमा पक्राउका लागि आदेश जारी हुन सक्छ ।
यसलाई एउटा सामान्य प्रक्रियाका रूपमा हेरिन्छ र यसले अभियोजनकर्ताहरूलाई ‘युरोपियन एरेस्ट वारेन्ट’ जारी गरेर अर्थात् युरोपमा पक्राउ गर्ने अधिकार दिएर स्वीडेन ल्याउने अधिकार दिन्छ ।
अदालतको फैसलापछि स्वीडेनकी सार्वजनिक अभियोजन निकायकी उपनिर्देशक त–मारी पेर्सनले बलात्कारबारे अनुसन्धान जारी रहने बताएकी छन् ।
उनले असान्जसँग थप सोधपुछ गर्न युरोपभरि मान्य हुने अनुसन्धानसम्बन्धी आदेश जारी गर्ने बताएकी छन् ।
अस्ट्रेलियाका नागरिक असान्जले स्वीडेन पठाइनबाट जोगिन सात वर्षअघि लन्डनस्थित एक्वेडोरको दूतावासमा शरण लिएका थिए । आफूमाथि लगाइएको बलात्कारसम्बन्धी आरोप असान्जले अस्वीकार गर्दै आएका छन् ।
गत मे महिनामा असान्ज पक्राउ परेपछि स्वीडेनका अभियोजनकर्ताहरूले फेरि अनुसन्धान सुरु गरेका थिए ।
हाल ब्रिटेनको हिरासतमा रहेका विकिलिक्सका यी संस्थापकमाथि अमेरिकी सरकारको गोप्य दस्तावेज चुहाएको आरोप छ जसका कारण उनलाई अमेरिकाले पनि आफ्नो देशमा लैजान खोजिरहेको छ ।
आरोप लागेका सबै अभियोग पुष्टि भएमा असान्जलाई १७५ वर्षसम्म जेल सजाय हुन सक्छ ।
सुपुर्दगीको माग स्वीडेनले स्वीकार गरेको खण्डमा असान्जलाई कहाँ पठाउने भन्ने कुरा ब्रिटेनको हातमा रहने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *