भर्खरै :

चीन र रसिया बृहत् राजनीतिक सहयोग साझेदारी विकासमा सहमत

मस्को, २२ जेठ (सिन्ह्वा) । चीन र रसिया दुई देशबीचको सम्बन्धलाई थप विकास गर्दै नयाँ युगका लागि बृहत् रणनीतिक सहयोग साझेदारी विकासमा सहमत भएका छन् ।
रसियाको राजकीय भ्रमणमा रहनुभएका चिनियाँ राष्ट्रपति सि चिनफिङ र रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनबीचको भेटवार्तामा उक्त सहमति भएको हो ।
चिनियाँ राष्ट्रपति सि रसियाको तीनदिने (जून ५–७) राजकीय भ्रमणका लागि बुधबार नै मस्को पुग्नुभएको हो ।
मस्को पुग्नुभएपछि राष्ट्रपति सिले रूसी समकक्षीसित दुईदेशीय सम्बन्धलाई गहन बनाउने र व्यावहारिक सहयोगलाई बढावा दिनेबारे विचार आदानप्रदान हुने बताउनुभएको थियो । उहाँले मुख्य–मुख्य अन्तर्राष्ट्रिय घटनाहरू र क्षेत्रीय मामिला पनि साझा चासोको विषय भएको बताउनुभयो ।
“दुई देशबीच दुईपक्षीय सम्बन्धको भावी विकासको योजनाबारे छलफल हुनेछ । चीन–रसियाको बृहत् रणनीतिक सहयोग साझेदारीलाई नयाँ युग अनुकूल अझ उच्च तहमा विकास गर्ने सम्बन्धमा विचार आदान–प्रदान हुनेछ ।” – सिले भन्नुभयो ।
सन् २०१३ मा राष्ट्रपति कार्यभार सम्हाल्नु भएपछिदेखि चीन र रसियाको आधुनिक द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापनाको ७० औँ वर्षगाँठको अवसरमा यो भ्रमण भइरहेको हो ।
चीन र रसियाबीच बलियो राजनीतिक विश्वास, उच्च तहको आदानप्रदानका लागि उपयुक्त संयन्त्र तथा विभिन्न क्षेत्रमा आपसी सहयोग आदानप्रदान कायम छ । दुई देशले विश्व मामिलामा घनिष्ठ समझदारी कायम गर्दै विश्वव्यापी तथा क्षेत्रीय शान्ति र स्थिरता कायम राख्नमा सकारात्मक भूमिका खेल्दै अन्तर्राष्ट्रिय क्षेत्रमा निष्पक्षता र न्याय अनुभूति गराउँदै आएको राष्ट्रपति सिले बताउनुभयो ।
“विगत ७० वर्षमा विभिन्न परिस्थिति पार गर्दै दुई देशबीचको सम्बन्ध स्थिर, झन्झन् परिपक्व र प्रगाढ बन्दै गएको छ । दुई देशबीचको सम्बन्ध ऐतिहासिक अवसरका लागि नयाँ ऐतिहासिक प्रस्थान बिन्दुमा पुगेको छ ।” राष्ट्रपति सिको कथन छ ।
भ्रमणका क्रममा राष्ट्रपति र पुटिनबीच कैयौँ महत्वपूर्ण सम्झौताका दस्तावेजमा हस्ताक्षर हुने बताइएको छ । भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सिले २३ औँ पिटसवर्ग अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा पनि भाग लिनुहुनेछ । उहाँले मञ्चको विस्तारित सेसनमा दिगो विकासबारे चीनको अनुभवका बारेमा सम्बोधन गर्ने कार्यक्रम छ । सो अवसरमा उहाँले बहुपक्षीयतावादको रक्षा र प्रवद्र्धनको साथै विश्वकै साझा विकास र समृद्धिका लागि विश्वव्यापी सुशासन सुधारका लागि आह्वान गर्नुहुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *