जमिला

नेपालको कम्युनिस्ट आन्दोलनको उकाली–ओरालीबारे सही विश्लेषण विश्व कम्युनिस्ट आन्दोलनको प्रकाशमा मात्र सम्भव हुन्छ । विभिन्न देशमा भएका राजनीतिक परिवर्तन, वामपन्थी आन्दोलन, साम्राज्यवादविरोधी सङ्घर्षका सकारात्मक या नकारात्मक पक्षहरूको अध्ययन आजको आवश्यकता हो । भारतमा हालै सम्पन्न निर्वाचन र त्यसको गम्भीर सिंहावलोकन भइरहेको समयमा वामपन्थी आन्दोलनको विगतलाई फेरि फर्केर हेर्नु सान्दर्भिक हुनेछ ।
सन् १९४६ अगाडि छिमेकी देश भारतमा वेलायती साम्राज्यवादीहरू र सामन्ती शोषणका विरुद्ध उठेको किसान – मजदुरहरूको आन्दोलनको ऐतिहासिक पृष्ठभूमि अध्ययन गर्न पुस्तिका ‘नक्सलवादी आन्दोलन एक अध्ययन’ सहयोगी सिद्ध हुनेछ । भारतसँग नेपाल भूगोलले मात्र जोडिएको अवश्य होइन । इतिहासदेखि वर्तमानसम्म नेपालका हरेक राजनीतिक फेरबदलहरूमा भारतीय शासनको ठूलो प्रभाव रहँदै आएको छ । आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक प्रभाव हिजो जति थियो आज त्योभन्दा बढी छ । राणा शासनकालदेखि पुँजीवादी गणतन्त्रसम्मको नेपालको यात्रामा नेपालका शासकहरूले भारतको अन्धनक्कल गरेको प्रस्ट छ ।
भारतीय कम्युनिस्ट आन्दोलनको अन्ध नक्कलबारे गहिराइसम्म पुगी तुलनात्मक अध्ययन तथा आलोचनात्मक विश्लेषण गर्न पढ्नैपर्ने एउटा पुस्तिका हो ‘नक्सलवादी आन्दोलन एक अध्ययन’ । यसर्थ नेपालको कम्युनिस्ट आन्दोलनको यथार्थ विश्लेषण, आलोचनात्मक अध्ययन, तुलनात्मक छलफलका निम्ति लेखक सुकुमानजीले आजभन्दा ३७ वर्ष अगाडि लेख्नुभएको यो पुस्तिका आज पनि उत्तिकै सान्दर्भिक एवम् पठनीय छ । इतिहासको एउटा कालखण्ड अवगत गराउने यस पुिस्तका अत्यन्त सङ्ग्रहणीय समेत छ ।
नक्सलवादी आन्दोलनको सुरुआत, भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) को गठन, १९६७ मा पश्चिम बङ््गालको राज्य विधान सभामा माक्र्सवादीहरूको विजयका सिलसिलाहरू पुस्तिकामा प्रस्तुत छन् । बङ्गालको किसान आन्दोलन, नक्सलवादी, गोपिवल्लपुर र विरभूमका आन्दोलनहरूको श्रृङ्खला पुस्तिकाले समेटेको छ । आन्दोलनको सिलसिलामा जमिन कब्जा गर्ने, आगो लगाउने, लुटमार गर्ने जस्ता हिंसात्मक गतिविधि चर्किन थालेपछि स्थानीय जमिनदार, पुँजीपति तथा प्रतिक्रियावादीहरू एक हुन थाले । त्यतिमात्र होइन भारतीय सञ्चारमाध्यमहरूले नक्सलवादी आन्दोलनको विरोधमा प्रचारवाजी थाले ।
त्यो सङ्घर्षको आगो पुरा भारतमा फैलिन थाल्यो, विशेषतः किसानमाथि बढी शोषण भइरहेका प्रान्तहरू उडीसा, पञ्जाव, उत्तर प्रदेश, केरालाका केही इलाकाहरूसम्म फैलियो । तर माक्र्सवादी पार्टीभित्र संशोधनवादी तत्व पनि देखापरे । नक्सलवादी आन्दोलनबारे मतभेद चुलिँदै गयो । नेता चारु मजुमदारलगायत केही भारतीय कम्युनिस्ट नेताहरूसँग यो पुस्तिकाले पाठकलाई परिचित गराउँछ । चारुका मूख्य गतिविधि र विचारबारे पुस्तिकाले यसरी स्पष्ट पारेको छ – भाकपा (माक्र्सवादी) संशोधनवादी पार्टी हो र त्यसलाई उदाङ्ग्याउनुपर्छ । भारतको मुक्तिको बाटो चीनको बाटो हो । तत्कालिन कार्यदिशा सशस्त्र सङ्घर्ष हो । राजनीतिक आन्दोलन विनै जनसङ्गठन र जन–आन्दोलन विना नै तुरुन्तै स–साना गुप्त लडाकु दलहरू बनाउने र जमिनदारहरूको घरमा आगो लगाउने, व्यक्तिगत रूपले जमिनदारमाथि हमला गर्ने, गुप्त लडाकु दलहरूबाट बन्दुक जम्मा गर्ने कुरालाई चारु महत्व दिन्थे । सुकुमानजीले यस पुस्तिकामार्फत चारुद्वारा नेतृत्व गरिएको सङ्घर्षको चिरफार गर्नुभएको छ ।
तर, सिलगुडी इलाकाका नेताहरूले उनका राजनैतिक कुराहरू अस्वीकार गर्दै चीनको बाटो भारतीय मुक्तिको बाटो हो, सशस्त्र सङ्घर्षबाटै किसान क्रान्ति पुरा गर्न सकिन्छ, मजदुर र किसानहरूबीच किसान क्रान्तिको नीतिबारे प्रचार गर्ने, गुप्त पार्टी सङ्गठनहरू बनाउने भन्ने पक्षमा अडान लिए । स्थानीय नेतृत्व दिने कार्यकर्ताहरूले पनि आफ्नो विचार प्रस्ताव गरे तर चारु मजुमदारले अस्वीकार गरेको घटनाक्रम पुस्तिकामा छ ।
नक्सलवादी आन्दोलन सुरुदेखि नै दुई सैद्धान्तिक लाइन र नीतिमा विभक्त थियो भन्ने प्रमाणहरू पुस्तिकामा छन् । नक्सलवादी आन्दोलनमा प्रतिक्रियावादीले निरन्तर गरिरहेको प्रहार त छँदैथियो साथै अनेक सैद्धान्तिक, राजनीतिक, व्यवाहारिक र कार्यनीतिक सतर्कताको अभाव देखियो । पुस्तिकामा सुकुमानजी प्रस्ट लेख्नुहुन्छ – “वामपन्थी अवसरवादको वामपन्थी दुस्साहसवादको कारणले गर्दा त्यो आन्दोलन १९६९ को सुरुदेखि हार्दै गयो । सही राजनीतिक मूल्याङ्कनको अभावले गर्दा नक्सलवादी आन्दोलनको बेला स्थापित भाकपा (माक्र्सवादी लेनिनवादी) विभिन्न गुट र उप–गुटमा विभाजित भयो ।”
नक्सलवादी आन्दोलनबारे चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरूको सल्लाहहरू र टिप्पणीहरू पनि पुस्तिकाले समेटेको छ । भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी–लेनिनवादी) को मूख्य उद्देश्य ठीक भएपनि कार्यनीति र रणनीति सम्बन्धी त्रुटिहरू रहेको औँल्याइयो । ‘चीनको अध्यक्ष हाम्रो अध्यक्ष’ जस्ता नारा माक्र्सवाद–लेनिनवाद र माओ–त्सेतुङ विचारधाराको विरुद्ध छ । वर्ग दुश्मन सफायाको नीति, यदि एक क्रान्तिकारीको हात वर्ग शत्रुको रगतबाट रातो भएको छैन भने त्यो कम्युनिस्ट होइन भन्ने नारा र आन्दोलनको अन्धनक्कलबारे चिनियाँ कम्युनिस्ट पार्टीले गरेको आलोचनाले नक्सलवादी आन्दोलनको दिशा, गति र परिणामबारे प्रस्ट पार्छ ।
सबै पुँजीपतिहरू विदेश दलाल नहुने, मजदुर र किसान वर्गको सम्बन्ध राम्रो हुनुपर्ने, मजदुर सङ्गठनहरू मजदुर मोर्चाका लागि बलियो बनाउनुपर्ने र सर्वहारा वर्ग केन्द्रित आन्दोलनको आवश्यकता सदा रहने सुझावहरू समेत पुस्तिकामा छन् ।
चीनको चिट्ठीमा लेखिएको थियो –“कुनै देशमा हुने क्रान्ति त्यस देशको आफ्नै अनुभवको सार हो । संशोधनवादको विरोधमा भएको लडाइँमा हामीले विचारको आदानप्रदान गर्नुपर्छ तर यदि कुनै अन्तर्राष्ट्रिय संस्थाले हस्तक्षेप गर्छ भने त्यो विराम हुन्छ ।”
उक्त सुझाव चारु मजुमदारले अस्वीकार गरे । यद्यपि अन्य नेताहरूले आत्मालोचना गर्दै अगाडि बढेको ऐतिहासिक पृष्ठभूमिलाई पाठकमाझ पुस्तिकाले पु¥याएको छ ।
नेपालको हकमा ‘झापा विद्रोह’ लाई नक्सलवादी आन्दोलनसँग तुलना गर्न सकिन्छ । नेपालको कम्युनिस्ट आन्दोलनको इतिहासबारे जानकारी राख्न चाहने जो–कोहीका लागि अन्तर्राष्ट्रिय राजनीतिक वृत्तमा भएका कम्युनिस्ट आन्दोलनहरूको अध्ययनले सहयोग गर्नेछ । यस पुस्तिका त्यसैको लागि अत्यन्त उपयोगी छ । पुस्तिकाले इतिहासको थप अध्ययन गर्न हौस्याउँछ । सरल र सरस भाषामा लिखित यो पुस्तिका एउटा महत्वपूर्ण राजनीतिक दस्तावेजको रूपमा अत्यन्त सङ्ग्रहणीय छ । नक्सलवादी आन्दोलनको अध्ययनका लागि महत्वपूर्ण ज्ञान हासिल गर्न उपयोगी यस पुस्तिकाका लेखक सुकुमानजीप्रति आभार छ । ऐतिहासिक चर्चाको विषयमा पुस्तिका प्रकाशन गर्ने प्रकाशक जनलेखक सङ्घ भक्तपुरप्रति साधुवाद ।