भर्खरै :

एड्भान्स फोटोग्राफी तालिम सम्पन्न

भक्तपुर, २३ जेठ । सिद्धि गणेश बचत तथा ऋण सहकारी संस्था लि. को सदस्य व्यवसाय प्रवद्र्धन उपसमितिको आयोजनामा सञ्चालित १० दिने एड्भान्स फोटोग्राफी तालिम समापन तथा प्रमाणपत्र वितरण सम्पन्न भयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष राजन लाखाजुले सीपयुक्त व्यक्ति समाज र देशप्रति जिम्मेवार हुने भएकोले आफ्नो सीपलाई सजगतापूर्वक उपयोग गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । उहाँले तात्कालिन समाजको आर्थिक अवस्थालाई ध्यानमा राख्दै स्थानीय ३१ जना युवाहरूले सिद्धि गणेश साकोसको स्थापना गरेको र सहकार्य, पारदर्शिता र नीतिगत सञ्चालन सिद्धि गणेश साकोसको सफलताको मूल आधार भएको जानकारी दिँदै सहकारी ऐन २०७४ एवं सहकारी नियमावली २०७५ बारे चर्चा गर्नुभएको थियो ।
आयोजक उपसमितिका संयोजक एवं सञ्चालक राजाराम दुवालले घटना एवं गतिविधिहरूलाई कलात्मक एवं भावनात्मक रुपमा विम्वमा उतार्नु असल फोटोग्राफरको कार्य भएको उल्लेख गर्दै एउटै फोटोले व्यक्ति एवं समाजको भविष्यमा सकारात्मक र नकारात्मक असर पु¥याउन सक्ने भएकोले जिम्मेवारीपूर्वक क्यामरा चलाउनु पर्छ भन्नुभयो ।
जेठ ११ गतेदेखि सञ्चालन भएको तालिमको समापनमा प्रशिक्षार्थीद्वय कमला प्रजापति र सुविन सितिखुले तालिमबारे आ–आफ्नो अनुभव व्यक्त गर्नुभएको थियो । कार्यक्रममा आयोजक उपसमितिका सचिव राजेश लाखाले सञ्चालन गर्नुभएको थियो भने सदस्य सपना कवांले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *