अध्यक्ष रोहितको संस्मरणका केही पृष्ठ
- असार ३१, २०८३
भक्तपुर, २३ जेठ । भक्तपुर नगरपालिकाको आर्थिक वर्ष २०७६/७७ को बजेट तर्जुमासम्बन्धी नगरवासीहरूसँग राय सुझाव सङ्कलन गर्ने क्रममा बिहीबार उद्योगी, व्यवसायी र व्यापारीको भेला भयो ।
कार्यक्रममा नगर प्रमुख सुनिल प्रजापतिले व्यापारी, उद्योगी र व्यवसायीहरूले नाफामा मात्र केन्द्रित नभई सामाजिक र नागरिक भावना राखेर व्यापार व्यवसाय सञ्चालन गर्नुपर्ने बताउनुभयो । नगरका सबै उद्योगी व्यापारीहरू करको दायरामा आएर नगरपालिकालाई सहयोग गरेमा नपाको आर्थिक क्षमता वृद्धि भई नगरवासीलाई सेवा सुविधा प्रदान गर्न सजिलो हुने बताउनुभयो । नपाले २०७२ को भूकम्पबाट क्षतिग्रस्त भैरवनाथ मन्दिर जीर्णोद्धार गरिरहेको बताउँदै यो सम्पन्न हुनेबित्तिकै ङातापोल (पाँचतले मन्दिर) पनि जीर्णोद्धार गर्ने उहाँले बताउनुभयो ।
भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कलेजहरूले अनुसन्धानमूलक शिक्षामा जोड दिँदै राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनहरू आयोजना गरिरहेको बताउनुभयो ।
कार्यक्रममा उपस्थित उद्योगी, व्यवसायी तथा व्यापारीहरूले नगर प्रवेश गर्ने प्रवेशद्वारमा सफा वातावरण तयार गर्नुपर्ने, नियमित सांस्कृतिक नाचगान प्रदर्शन गर्नुपर्ने, गःहिटीको नरसिंह मन्दिर जीर्णोद्धार गर्नुपर्ने, भक्तपुर दूधपाटीस्थित नःपुखुको वातावरण सुधार गरी आयआर्जन हुने गरी सदुपयोग गर्नुपर्ने, नगरमा पर्यटकहरूको बसाइ लम्ब्याउन कार्यक्रमहरू बनाउनुपर्ने, मल कारखाना खोल्नुपर्ने, बाराही पुल जीर्णोद्धार गर्नुपर्नेलगायतका सुझावहरू दिएका थिए ।
कार्यक्रममा भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले पनि बोल्नुभएको थियो ।
Leave a Reply