भर्खरै :

संरा अमेरिकी दबाबसामु झुक्दैन चीन

वेई चायको
चीनले गत जुन २ को दिन ‘चीन–संरा अमेरिका आर्थिक तथा व्यापार परामर्शमा चीनको मत’ शीर्षकको श्वेतपत्र जारी ग¥यो । चीनको सो श्वेतपत्र अन्तर्राष्ट्रिय मिडिया र विदेशी उद्योगीहरूबीच निकै चर्चाको विषय बन्यो ।
श्वेतपत्रमा संरा अमेरिकाले थालेको व्यापार युद्धले दुई देश तथा संसारको अर्थतन्त्रमा पु¥याएको हानीबारे प्रस्ट पारिएको छ । संरा अमेरिकाले आपसी समझदारीमाथि चिसो पानी खन्याएको र आफ्ना पूर्वप्रतिबद्धताबाट पछि हटेको वास्तविकता खुलासा गरेको छ । श्वेतपत्रको सबभन्दा महत्वपूर्ण पाटो भनेको चीनले आफ्ना मतलाई अझ दृढताका साथ प्रस्ट पारेको छ । मेरो अधिकांश संरा अमेरिकी मित्रहरूले भविष्यमा हुने व्यापार वार्तामा न्यायपूर्ण र समतामूलक नतिजा निकाल्न चीनको मतप्रति समर्थन जनाएका छन् ।
संरा अमेरिकाले व्यापार युद्ध सुरु गरे यता वाशिङ्टनले चीनमाथि लगातार अधिकतम दबाब थोपरिरहेको छ । दुई देशबीचको व्यापार सम्झौताबाट संरा अमेरिकाले तीनपटक हात झिकेको विषय श्वेतपत्रमा उल्लेख छ । वास्तवमा दुई देशबीच भएको व्यापार सम्झौता पनि संरा अमेरिकी दबाबकै कारण भएको थियो । चीन आफ्नो दबाबसामु झुक्छ भन्ने संरा अमेरिकासँग गलत बुझाइ छ । तर, संरा अमेरिकाका त्यस्ता सबै दबाबलाई भुत्ते पार्दै चीनले प्रस्टरूपमा आफ्ना सिद्धान्त र न्यूनतम नीति अघि राख्दै आएको छ ।
चिनियाँ सुरक्षा नियमन आयोग, कृषि तथा ग्रामीण विकास मन्त्रालय र वाणिज्य मन्त्रालयलगायतका चिनियाँ सरकारी निकायले हालै जारी गरेको वक्तव्यका आधारमा चीनका निर्यातमुखी निकाय र सेवा उद्योग संरा अमेरिकासँगको व्यापार युद्धको लागि पूर्णरूपमा तयार भएको बुझिन्छ ।
चीनको आर्थिक लचकता र चिनियाँ जनताको दृढ भावनाका कारण चीन संरा अमेरिकाको अधिकतम दबाब पनि सामना गर्न तयार छ । शताब्दियौं लामो अपमान झेलेको चीन त्यस्ता दबाबसामु अभ्यस्त देश हो । जापानविरोधी प्रतिरोध युद्धदेखि कोरिया युद्ध अथवा संरा अमेरिकाले कोरियामाथि गरेको हमलाको प्रतिरोध युद्धमा चीनले यस्ता दबाब सामना गरिसकेको छ । चिनियाँ जनताबीचको एकता नै चीनको विजयको आधारभूत शर्त भएको इतिहासले देखाइसकेको छ ।
सन् २०१९ को पहिलो तीन महिनामा कुल गार्हस्थ उत्पादनको वृद्धिमा भारतलाई उछिनेर चीनले संसारकै सबभन्दा तीव्रगतिमा विकास भइरहेको अर्थतन्त्रको छवि पुनस्र्थापना गरिसकेको छ । चीनको कुल वैदेशिक व्यापारको आकार ७.०१ त्रिलियन युआन (१.०१ त्रिलियन
अमेरिकी डलर) पुगेको छ । अघिल्लो सालको यही समयावधिको तुलनामा चीनको वैदेशिक व्यापारको आकार ३.७ प्रतिशतले बढेको छ । आर्थिक स्थायित्व र चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड परियोजनाको तीव्रतर विस्तारले चीन भविष्यको विकासको लागि तयारी अवस्थामा रहेको देखाएको छ ।
मैले निर्यातमुखी संस्थाहरू भएका चीनका केही मध्य क्षेत्र दक्षिणी चीनको क्वाङतोङ प्रान्त, पूर्वी चीनको चेच्याङ प्रान्त, काङ्सु प्रान्त र साङ्घाईमा केही अध्ययन अनुसन्धान गरेको थिएँ । ती क्षेत्रको व्यापार अवस्थाबारे स्थानीय जनताको मूल्याङ्कनले मलाई छक्क पा¥यो । उनीहरूको अनुभवमा जति जति संरा अमेरिकाले दबाब थप्दै जान्छ र जति जति ऊ पछि हट्न खोज्छ, त्यति त्यति चीन नैतिकरूपमा बलियो बन्दै गएको छ । चिनियाँ अर्थतन्त्रको विशेष प्रतिरोधले संरा अमेरिकाका सबै कडा नीति थाक्नेछन् ।
भविष्यमा आउन सक्ने सम्भावित हमलाको पूर्वतयारीमा स्थानीय उद्योगहरूले सरकारी निर्देशिका पालना गरेका छन् । उदाहरणको लागि क्वाङतोङको विद्युतीय टर्च निर्यात गर्ने एउटा कम्पनीलाई लिऔं । त्यो कम्पनीले आफ्नो उत्पादन संरा अमेरिकामा निर्यात गर्ने गर्दै आएको छ । सो कम्पनीले संरा अमेरिकासँगको व्यापार युद्ध यता आन्तरिक सुधार गरी आफ्नो लागत घटाउँदै छ र आफ्नो उत्पादनको बजार युरोप र अफ्रिकामा विस्तार गरिरहेको छ । संरा अमेरिकाप्रतिको निर्भरता आंशिकरूपमा घटाउन लुगाफाटा, सुटकेस र साइकलजस्ता अन्य उत्पादनको बजार पनि विविधीकरण गरिंदै छ ।
ती कारखानाका युवा मजदुरहरू संरा अमेरिकाप्रति रिसाएको मैले महशुश गरेँ । उनीहरूले चीनले संरा अमेरिकी दबाबको प्रतिरोधमा लड्नुपर्ने बताए । संरा अमेरिकाको अधिकतम दबाबले चीनलाई अझ बढी सङ्गठित बनाएको छ ।
चीन व्यापार युद्ध वित्त, प्रविधि र अझ भूराजनीतिमा फैलाउने पक्षमा छैन । तथापि त्यसको लागि पनि चीनले पूर्वतयारी भने थालिसकेको छ । संरा अमेरिकाले विश्व व्यापार सङ्गठनको नियममा आधारित बहुपक्षीय संयन्त्रको पटक–पटक उल्लङ्घन गरेको छ । कट्टरपन्थीहरूको प्रभावका कारण संरा अमेरिकाले व्यापार युद्धलाई अझ विस्तार गर्दै लाने देखिएको छ ।
तथापि चिनियाँ श्वेतपत्रको प्रकाशनपश्चात् धेरै देश र जनता न्यायको पक्षमा उभिनेछन् । समय, नैतिक र विजय अन्ततः चीनको हुने मेरो विश्वास छ ।
(लेखक चीनका उप वाणिज्य मन्त्री र चिनियाँ अन्तर्राष्ट्रिय आर्थिक सम्बन्ध केन्द्रका उपाध्यक्ष हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः नीरज

Leave a Reply

Your email address will not be published. Required fields are marked *