नवउदारवाद र बुद्धिजीवीहरू
- असार २९, २०८३
तिङ काङ
सन् १८१४–१६ सम्म भएको अङ्ग्रेज–नेपाल लडाइँमा नेपाल पराजीत भयो । त्यही पराजयका कारण नेपालको दक्षिणी क्षेत्रको ठूलो भूभाग बेलायतले हडप्यो ।
भारतमाथि नियन्त्रण जमाइसकेपछि बेलायतले बिस्तारै हिमाली अधिराज्यमा आफ्नो पञ्जा फैलाउन थालेको थियो । बेलायतको ठूलो रणनीतिक लक्ष्य भनेको चीनको तिब्बत हुँदै रुससम्म पुग्नु थियो ।
तर, तिब्बतमाथि कब्जा जमाउन खोज्दा बेलायती सेनाले ठूलो प्रतिरोधको सामना गर्नुप¥यो । चीनको छिङ वंश (१६४४–१९११) को समर्थन, ‘विश्वको छाना’ मानिएको हिमालले बनाएको भौगोलिक पर्खाल र क्षीण बन्दै गएको बेलायती शक्तिको कारण बेलायतीहरू तिब्बतमाथि कब्जा जमाउन असफल भए ।
सन् १९१८ मा सकिएको पहिलो विश्वयुद्धपश्चात् संरा अमेरिकाले क्रमशः बेलायती शक्तिमा उछिन्यो । लगत्तै सन् १९२३ मा नेपाल–बेलायत सन्धि भयो । नेपाललाई बेलायतले एउटा स्वाधीन र सार्वभौम देशको रूपमा मान्यता दियो ।
नेपालको भूराजनीतिक महत्व इतिहासले प्रस्ट चिनेको छ । आज नेपालको छिमेकी देश चीन संसारकै दोस्रो ठूलो अर्थतन्त्रको रूपमा उदाइरहेको सन्दर्भमा नेपालको भूराजनीतिक महत्व अझ बढेको छ ।
यही कारण संरा अमेरिकाले आफ्नो हिन्द–प्रशान्त रणनीतिको लागि नेपालमाथि प्राथमिकता बढाएको हुनसक्छ । हिन्द–प्रशान्त क्षेत्रका देशहरूबीच रणनीतिक सहकार्य विस्तार र गहिरो बनाउन संरा अमेरिकाले हिन्द–प्रशान्त रणनीति अघि सारेको हो । संरा अमेरिकी विदेश विभागअन्तर्गत दक्षिण तथा मध्य एसियाली मामिला व्युरोका कार्यकारी सहायक सह–सचिव डेभिड जे रान्जले गएको मे १४ को दिन काठमाडाँैमा ‘हिन्द–प्रशान्त रणनीतिबाट नेपाल लाभान्वित हुने’ बताए । सो रणनीतिले ‘संरा अमेरिका र नेपाल दुवैको लागि आर्थिक अवसर सिर्जना गर्नुका साथै सुरक्षा सुनिश्चित गर्ने’ उनको भनाइ थियो ।
आजसम्म संरा अमेरिकाले हिन्द–प्रशान्त रणनीतिलाई चीन लक्षित वा चीनलाई चुनौती दिन बनाइएको योजना भनी व्याख्या गरेको छैन । न त संरा अमेरिकाले हिन्द–प्रशान्त क्षेत्रको आर्थिक वृद्धिको लागि कुनै विशेष योजना नै सार्वजनिक गरेको छ । त्यसै कारण उसको यो रणनीतिलाई अवस्तुगत बनाएको छ । यो रणनीतिले हासिल गर्ने एउटै उपलब्धि भनेको हिन्द–प्रशान्त क्षेत्रका देशहरूसँग संरा अमेरिकाले अघि सारेको सैनिक सहकार्यलाई अघि बढाउनु मात्र हुनसक्छ ।
के नेपालले चाहेको यही हो त ? दुई वटा प्रमुख शक्ति देशहरू–चीन र भारतको बीचमा रहेको नेपाल संरा अमेरिकाको लागि अत्यावश्यक देश भएकोमा वाशिङ्टन सचेत छ । तर, नेपालका आवश्यकताहरूलाई केन्द्रमा राखी संरा अमेरिकाले कहिल्यै कुनै रणनीति बनाउने छैन ।
आफ्ने भूराजनीतिक भूमिकालाई ध्यानमा राखी नेपालले दुवै शक्तिबीच सन्तुलित भूमिका निभाउन आवश्यक छ । नेपालको विकासको लागि यो सबभन्दा उपयुक्त बाह्य राजनीतिक परिस्थिति यही हुनसक्छ । तथापि सीमित सामथ्र्यका कारण आजको तीव्रतर भूमण्डलीकरणको समयमा नेपाललाई दुई प्रमुख शक्तिबीच त्यस्तो सन्तुलन कायम गर्न त्यत्ति सहज भने छैन । नेपालले आफूलाई सबभन्दा ज्यादा के कुराको खाँचो छ, त्यही कुरा छान्न सक्नुपर्छ ।
भारतमा नरेन्द्र मोदी पुनः प्रधानमन्त्री पदमा निर्वाचित भएकोमा नेपाली जनधारणा सकारात्मक देखिन्छ । उनीहरूले अघिल्लो कार्यकालको मोदीको नीति कायम नै रहने आशा गरेका छन् । नेपालमा आर्थिक लगानी बढाउने र चीनसँगको सम्बन्ध अझ प्रगाढ बनाउने नीतिहरू नेपालकै लागि लाभदायक हुनेछन् ।
सबभन्दा महत्वपूर्ण कुरा के हो भने चिनियाँ विकासले नेपाललाई चीनको प्रभावलाई मत्थर पार्न कुनै पनि शक्तिले चाल्ने रणनीतिक चालबाजीको प्यादा बन्नबाट रोकेको छ ।
चीनको विकासले नेपाललाई आपसी हितको सम्भावनालाई बढाएको छ । चीनले प्रस्ताव गरेको बेल्ट एन्ड रोड परियोजनाले नेपाललाई आफ्ना वरपरका क्षेत्र र संसारसँग जोडिन अभूतपूर्व अवसर प्रदान गरेको छ । नेपाल अब बन्द र गरिब रहनेछैन । बरु पूर्व, दक्षिण र मध्य एसियालाई आपसमा जोड्ने महत्वपूर्ण केन्द्र बन्ने छ ।
दुई सय वर्षभन्दा अघि बेलायती उपनिवेशवादीहरू चीनको तिब्बतलाई निशाना बनाएर नेपालतिर अघि बढेका थिए । तर, ५ सय वर्षअघि सुरु भएको पश्चिमा देशको विस्तारवादी युग सधैँको लागि अन्त्य हुँदै छ । छिमेकीलाई समृद्ध र विकसित बनाउने चीनको नीतिले नेपाल र दक्षिण एसियाका अरु देशहरूलाई जनताको जीवनस्तर सुधार गर्न धेरै अवसरहरू प्रदान गर्नेछ ।
(लेखक पिपुल्स डेलीका वरिष्ठ सम्पादक र रेनमिन विश्वविद्यालयअन्तर्गत चोङयाङ वित्तीय अध्ययन केन्द्रका वरिष्ठ अध्यापक हुनुहुन्छ ।)
स्रोतः ग्लोबल टाइम्स
नेपाली अनुवादः सुशिला
Leave a Reply