भर्खरै :

सीटीईभीटीले पाठ्यक्रम परिवर्तन गर्ने, विशेष छात्रबृत्ति प्रदान गरिने

भक्तपुर, १६ चैत । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले कूक, वेल्डर, कार्पेन्ट्री, प्लम्बरलगायतका छोटो अवधिको प्राविधिक शिक्षालाई एकवर्षे बनाउने भएको छ ।
सीटीईभीटीले मङ्गलबार यहाँ आयोजना गरेको व्यावसायिक पाठ््यक्रम (प्रोफेसनल कोर्स) निर्माण तथा सञ्चालनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्दै पाठ्यक्रम परिमार्जनको कार्य सुरु गरेको हो ।
तीन महिना अर्थात ३९० घण्टाको प्राविधिक शिक्षा सञ्चालन भइरहेको कोर्सलाई बढाएर सीटीईभीटीले एकवर्षे अर्थात १६०० घण्टासम्म पुर्‍याउने भएपछि पाठ्यक्रम परिमार्जन गर्ने भएको सीटीईभीटीका सदस्य सचिव रमेश बखतीले बताउनुभयो ।
छोटो अवधिको शिक्षाले पेशामा प्रभावकारिता नभएपछि प्राविधिक शिक्षाको अवधि र कोर्सलाई थपेर एकै व्यक्तिले कम्तीमा चारवटा पेशा वा सीप सञ्चालन गर्न सक्नेगरी पाठ्यक्रम परिमार्जन गरेर कक्षा सञ्चालन गर्ने भएको हो ।
सीटीईभीटीका सदस्य सचिव बखतीले भन्नुभयो– ‘सीटीईभीटीले आफ्नै शिक्षालयमार्फत यस वर्ष नमुनाको रुपमा २८० जना लोपोन्मुख जाति र चेपाङ्गलाई लक्षित गरी आगामी जेठको दोश्रो सातादेखि विशेष छात्रवृत्ति प्रदान गरेर यी विषयहरुमा कक्षा सञ्चालन गर्दैछ, यसलाई प्रभावकारी बनाउने गरी पाठ्यक्रम परिमार्जन गर्न विज्ञहरुको टोलीबीच छलफल चलाएका हौँ ।’
विशेष छात्रवृत्तिअन्तर्गत सीटीईभीटीले छनौट भएका विद्यार्थीहरुलाई खाने बस्ने सुविधासहित मासिक रु ३,५०० प्रदान गर्नेगरी कक्षा सञ्चालन गर्ने भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *