भर्खरै :

भेनेजुयलामा संरा अमेरिका असफल– क्युवाली राष्ट्रपति

हवाना, ११ जून । क्युवा राष्ट्रपति मिगुएल डायज कानलले भेनेजुयलामा वैधानिक सरकारलाई अपदस्थ गर्ने संरा अमेरिकी षड्यन्त्र फेरि एकपल्ट असफल भएको बताउनुभएको छ । सोमबार ट्वीटरमा ट्वीट गर्दै समाजवादी नेता कानेलले भन्नुभयो, “बोलिभारियाली क्रान्तिलाई पराजीत गर्ने संरा अमेरिकी सरकारको षड्यन्त्र विफल भएको छ । ग्वाइडो योजना भताभुङ्ग भएको छ ।”
उहाँले संरा अमेरिका र उसका सहयोगी शासकहरूले भेनेजुयलामाथि लगाएको अमानवीय नाकाबन्दीबीच बोलिभारियाली जनताले सामना गरिरहेको सड्ढटमा साथ दिन वर्षौंदेखि पठाउँदै आएका क्युवाली चिकित्सक र चिकित्सकीय प्राविधिक भेनेजुयला पठाउने कामलाई निरन्तरता दिइने पनि घोषणा गर्नुभयो ।
यसैबीच भेनेजुयाली विदेशमन्त्री जर्ज अरिजाले संरा अमेरिकी विदेश सचिव माइक पम्पेओ भेनेजुयलामा असफल भएको घोषणा गर्नुभएको छ । उहाँका अनुसार पम्पेओ र स्वघोषित ‘राष्ट्रपति’ ह्वान ग्वाइडो नेतृत्वको विपक्षी दलले भेनेजुयाली वैधानिक सरकार अपदस्थ गर्न आफ्नो षड्यन्त्रमा कमजोरी भएको स्वीकारिसकेका छन् ।
भेनेजुयलामा माडुरो सरकारविरुद्ध संरा अमेरिकी सहयोगमा अघि बढेको विपक्षी आन्दोलन क्रमशः कमजोर बन्दै गएको छ । त्यसमा सहभागी झुण्ड पनि कम हुँदै गएको छ ।
भेनेजुयलाको सत्तासीन एकीकृत समाजवादी पार्टीका नेता इलियास जवाले भेनेजुयाली विपक्षमा विभाजन कुनै नयाँ कुरा नभएको बताउनुभएको छ । लगातारको असफलताले भेनेजुयाली दक्षिणपन्थीहरूबीचको विभाजन अझ गहिरो बनेको उहाँको भनाइ छ ।
विपक्षीहरूको एकता व्यक्तिगत र नाफामा आधारित भएको भन्दै जवाले त्यस्तो एकतामा भर पर्दा संरा अमेरिकी सरकारसँग असफल हुनुको विकल्प नभएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *