भर्खरै :

निगमको उडानबारे मन्त्रालय बेखबर

काठमाडौँ, २८ जेठ । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जापानको ओसाका उडान गर्ने योजना डेढ महिनापछि धकेलिएको छ । निगमले आगामी असार १९ गतेदेखि काठमाडौँ– ओसाका सिधा उडान गर्ने योजना बनाएको थियो ।
तर टिकट बुकिङ कम भएको र पर्यटकीय सिजन प्रतिकूल रहेको भन्दै निगमले निर्धारित उडान तालिका परिवर्तन गरी आगामी भदौ १२ गते (२९ अगष्ट २०१९) देखि नियमित उडान गर्ने तयारी गरेको छ ।
पर्याप्त यात्रु नभएकाले ओसाका उडान तालिका परिवर्तन गरिएको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जापानबाट उडान अनुमति पाएपछि आवश्यक तयारीका साथ टिकट बुकिङ खोलियो, एक महिनाको अवधिमा पाँच÷सात जनामात्र यात्रु भए, पर्यटकीय सिजन सकिएको र जापान जाने विद्यार्थीले पहिले नै अन्य एयरलाइन्सको टिकट लिइसकेकाले पनि यात्रु कम भएको हुनसक्छ । अब मनसुन सकिएपछि भदौ १२ गतेदेखि ओसाका उडान गर्ने गरी तयारी गरेका छौँ ।”
सहायक प्रवक्ता कोइरालाका अनुसार अहिलेकै अवस्थामा ओसाका उडाउँदा प्रतिउडान दुईतर्फी काठमाडौँ – जापान रु. एक करोडभन्दा बढी निगमले आर्थिक घाटा बेहोर्नुपर्छ । अगष्ट महिनामा उडान गर्दा निगमलाई राम्रै फाइदा पुग्छ । पर्यटकीय सिजन सुरु हुनका साथै महत्वपूर्ण चाड पर्वको समय पनि भएकाले यात्रुको कमी नहुने निगमको दाबी छ । अगष्टको उडानका लागि अहिले प्रतिउडान ७० देखि ८० टिकट बुकिङ भइसकेका सहायक प्रवक्ता कोइरालाले बताउनुभयो ।
सम्बन्धित ट्राभल एजेन्सिसँग पनि छलफल गरी उनीहरूको सुझावका आधारमा उडान केही पर सारिएको निगमको भनाइ छ । यता ओसाका उडान सरेको विषयमा नियामक निकाय संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय नै बेखबर छ । मन्त्रालयले के कति कारणले निर्धारित उडान स¥यो भनेर ताकेता पनि गरेको छैन । मन्त्रालयका एक उच्च अधिकारीले निगमको ओसाका उडानबारे अनविज्ञता प्रकट गर्नुभयो । “जापानको ओसाका उडान सरेको बारे पत्रपत्रिका पढेर थाहा पाए । निगमभित्र के हँुदैछ, राम्रोसँग बुझ्न पाएको छैन, सञ्चालक समितिमा पनि यो विषय छलफल भएको छैन”, उहाँले भन्नुभयो ।
निगमको ओसाका उडानबारे मन्त्रालय र सञ्चालक समितिलाई जानकारी नगराइएकाबारे सहायक प्रवक्ता कोइरालाले निगमको निर्णयबारे अनौपचारिकरूपमा जानकारी गराइएको स्पष्ट पार्नुभयो । निगमले वाइड बडी ए–३०३० जहाजमार्फत लामो गन्तव्यमा उडान भर्ने योजनाका साथ जापानका विभिन्न गन्तव्यमा उडानका लागि पहल गरेको थियो । सुरुमा अप्रिल महिनामा उडान गर्ने गरी जापान सिभिल एभिएसन ब्यूरो (जेक्याब) सँग उडान अनुमति मागेको थियो तर अनुमति पाउन सकेन ।
पछि जुलाई ४ का लागि उडान अनुमति पायो । त्यसअनुरुप आवश्यक तयारी तीव्र बनाएको थियो । टिकट बुकिङ खुलायो । एक महिनाको अवधिमा काठमाडौँदेखि ओसाका दुवैतर्फ जम्मा पाँचदेखि सात सिटमात्र बुकिङ भयो । उसैपनि घाटा बेहोरिरहेको निगमले थप घाटा खाने गरी तत्काल उडान नगर्ने निर्णय ग¥यो ।
जापानसहितका अन्य लामा गन्तब्यमा निगमका वाइडबडी उडानबारे अझै अन्यौल रहेको छ । मन्त्रालयका अधिकारीलाई निगमका लामा गन्तव्यमा उडान भर्नेबारे प्रस्ट धारणा छैन । अनेकौँ चुनौतीको सामना गर्दागर्दै पनि निगमले आफ्नो व्यावसायिक योजनालाई भने निरन्तरता दिएको छ । उसले जापानसँगै चीन, साउदी अरेबिया, दक्षिण कोरियालगायत गन्तव्यमा उडान भर्ने गरी आवश्यक प्रक्रियाअघि बढाइएको जनाएको छ ।
निगमले वाइडबडी जहाज हाल पुराना गन्तव्य भारतको नयाँ दिल्ली, बैङ्गलोर, कतारको दोहा, दुबई र हङकङमा दैनिक १० देखि ११ घण्टा उडान गर्दै आएको निगमले जनाएको छ । निगमका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ओसाका कान्साइ अन्तर्र्रािष्ट्रय विमानस्थलमा साताको तीन दिन सोमबार, शुक्रबार र बुधबार उडान गरिने योजना छ । निगमले गत माघ १९ गते जापान उडानका लागि नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट विमान सञ्चालनको अनुमति प्रमाणपत्र (एओसी) पाएको थियो ।
काठमाडौँ–जापान उडानको समयावधि ६ घण्टाकोे छ भने ओसाका–काठमाडौँ साढे सात घण्टाको उडान हुनेछ । निगमले अहिले भारतको नयाँ दिल्ली, बैङ्लोर, मुम्बई, मलेसिया, सिङ्गापुर, बैङ्कक र कतारमा उडान भर्दै आएको छ । निगमसँग अन्तरर्राष्ट्रिय उडानका लागि हाल दुई वाइडबडी ए–३३० जहाज, दुई न्यारोबडी ए–३२० जहाज र एक बोइङ ७५७ जहाज छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *