लन्डन, ११ जून । बेलायतका प्रधानमन्त्री थेरेसा मेले पदबाट राजीनामा दिएपछि सो पदका लागि कन्जरभेटिभ पार्टीका दस जना नेताहरूले आकाङ्क्षा देखाएका छन् । उनीहरूमध्ये कन्जरभेटिभ पार्टीको अध्यक्ष जो चुनिन्छ, ऊ नै बेलायतको नयाँ प्रधानमन्त्री बन्नेछ । जुलाईको अन्त्यसम्ममा बेलायतले नयाँ प्रधानमन्त्री पाउने अपेक्षा गरिएको छ ।
बेलायतको सत्तासीन कन्जरभेटिभ पार्टीको तल्लो तहका १ लाख ६० हजार सदस्यबीच अन्तिम दुई जनाको लागि हुने चुनावमा उनीहरूबीच प्रतिस्पर्धा हुनेछ । तर, त्योभन्दा पहिले ३ सत्न्दा बढी कन्जरभेटिभ सांसदहरूको उनीहरूले चित्त बुझाउनुपर्ने हुन्छ ।
आकाङ्क्षीहरू बेक्सिटको विषयलाई कसरी हेर्छन् भन्ने प्रश्नसँग पनि यो चुनाव गाँसिएको छ ।
कन्जरभेटिभ पार्टीको नेता हुँदै बेलायतको प्रधानमन्त्री पदको लागि प्रतिस्पर्धामा रहेका आकाङ्क्षीमध्ये सबभन्दा अग्रपङ्क्तिमा छन्, पूर्वविदेशमन्त्री बोरिस जोन्सन ।
अर्का प्रतिस्पर्धी हुन् हालका विदेशमन्त्री जेरेमी हन्ट । वातावरणमन्त्री माइकल गोभ पनि प्रधानमन्त्री पदका अर्का आकाङ्क्षी हुन् । स्वास्थ्यमन्त्री माट्ट हानकक, गृहमन्त्री साजिद जाभिस, पूर्व बेक्सिटमन्त्री डोमिनिक रब, अन्तर्राष्ट्रिय विकासमन्त्री रोरी स्टिवार्ड, कमन्सका पूर्व नेता एन्ड्रे लिडसम, सहायक विदेशमन्त्री इस्थर मेकभे र व्याकबेन्चर मार्क हार्पर पनि प्रधानमन्त्री पदको प्रतिस्पर्धामा छन् ।
युरोपेली युनियनबाट बेलायतलाई बाहिर ल्याउने प्रतिबद्धता पूरा गर्न नसकेपछि थेरेसा मेले पदबाट राजीनामा दिनुपरेको थियो ।