भर्खरै :

इन्द्रायणी द्योछेँ शिलान्यास

भक्तपुर, २९ जेठ । भक्तपुर नगरपालिका वडा नं. २ खौमास्थित इन्द्रायणी द्योछेँ पुनःनिर्माणको शिलान्यास कार्यक्रम बुधबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका वैकिल्पक केन्द्रीय सदस्य एवम् ३ नं. प्रदेशका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले भक्तपुर नगर इमानदारिता र मितव्ययी नगरको साथै भ्रष्टाचारविरोधी सङ्घर्षको इतिहास बोकेको नगर भएको बताउनुभयो ।
भक्तपुर नगरमा जस्तै पुनःनिर्माण कार्य देशभरि हुनुपर्ने आवश्यकता औँल्याउँदै उहाँले सम्पदा देशको साझा सम्पत्ति भएकोले सबै मिलेर संरक्षण गर्नुपर्छ भन्नुभयो ।
सत्तामा गएका पार्टीहरूको गलत मानसिकताका कारण श्रमिक–मजदुर जनताले दुःखपूर्वक जीवन बिताउनुपरेको उहाँले चर्चा गर्नुभयो ।
पुर्खाले सिर्जेका कला, संस्कृति र सम्पदा संरक्षण गर्नेबारे नयाँ पुस्तालाई अग्रसर गराउने बन्दोबस्त गर्नु आवश्यक छ, प्रदेशसभा सदस्य गोसाईले भन्नुभयो ।
साविक वडा नं. १५ का पूर्व वडाध्यक्ष रवीन्द्र खर्बुजाले स्थानीय जनताको सल्लाहअनुसार भनपाले द्योछेँको पुनःनिर्माण कार्य अगाडि बढाएको बताउनुभयो ।
इन्द्रायणी द्योछेँ पुनःनिर्माण उपभोक्ता समितिका अध्यक्ष विनोदचरण रायको सभापतित्वमा भएको उक्त कार्यक्रममा रामप्रसाद स्वंगमिखा, मञ्जुमैया लाखा र कृष्णश्वरी हाडाले पनि बोल्नुभएको थियो ।
पुनःनिर्माणको पहिलो चरणको लागि रू. ९२ लाख खर्च हुने अनुमान गरिएको छ । पुनःनिर्माणको लागि हालसम्म रू. ५ लाख आर्थिक सहयोग प्राप्त भएको उपभोक्ता समितिले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *