भर्खरै :

पोल्यान्डमा थप अमेरिकी सेना

वाशिङ्टन, १३ जुन । संरा अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले बुधबार युरोपेली देश पोल्यान्डमा थप एक हजार अमेरिकी सेना तैनाथ गर्ने घोषणा गरेको छ । रुसबाट सम्भावित खतरालाई ध्यानमा राखी त्यहाँ अमेरिकी सरकारले थप सेना तैनाथ गर्न लागेको ह्वाइट हाउसले जनाएको छ ।
“संरा अमेरिका र पोल्यान्डबीच सहमति भएको ढाँचाअनुसार पोल्यान्डमा थप एक हजार सेना पठाउन लागिएको हो”, ह्वाइट हाउसले जारी गरेको वक्तव्यमा भनिएको छ ।
संरा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आयोजित एउटा पत्रकार भेटघाटमा पोल्यान्डमा तैनाथ हुने संरा अमेरिकी सेनाको लागि आवश्यक पूर्वाधार पोल्यान्ड सरकारले नै बनाउने बताउनुभएको थियो । पत्रकार भेटघाटमा संरा अमेरिका भ्रमणमा रहनुभएका पोल्यान्डका राष्ट्रपति एन्ड्रेज डुदाको पनि उपस्थिति थियो ।
डुदाले पोल्यान्डमाथि रुसको खतराबाट जोगाउन र पोल्यान्डलाई पश्चिमसँग नजिक राख्न आफ्नो देशमा संरा अमेरिकी सेनाको उपस्थिति आवश्यक भएको बताउनुभयो ।
पोल्यान्ड सन् १९९९ मा नाटोको सदस्य बनेको थियो । हाल त्यहाँ झण्डै ४५ सय संरा अमेरिकी सेना तैनाथ छन् । पोल्यान्ड सरकारले आफ्नो भूमिमा संरा अमेरिकाको स्थायी शिविरको लागि माग गरिरहेको छ । यसको निम्ति पोल्यान्ड सरकारले २ अर्ब अमेरिकी डलर लगानी गर्ने बताउँदै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *