भर्खरै :

“राजनीतिकरूपमा जनता सचेत नभए सुनकै देश पनि टिक्दैन”

काठमाडाँै, ३० जेठ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले जनतालाई राजनीतिकरूपमा सचेत नबनाए सुनै सुनले देश बनाए पनि त्यस्तो व्यवस्था दिगो नहुने बताउनुभएको छ ।
शुक्रबार नेमकिपा विदेश सम्बन्ध विभागको आयोजनामा भएको ‘कोरिया प्रायःद्वीपको वर्तमान अवस्था’ विषयक प्रवचन कार्यक्रममा उहाँले जनतामा स्वतन्त्रता र स्वाधीनताको भावना भएसम्म वमबारी र हातहतियारले कुनै पनि देशलाई पराजीत गर्न नसक्ने विचार राख्नुभयो ।
अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “साम्राज्यवाद रहेसम्म संसारमा शान्ति हुने छैन र जनताले सुख पाउने छैनन् ।”
साम्राज्यवादी देशले संसारमा गरिरहेको आक्रमणबारे नयाँ पुस्तालाई सचेत बनाउनुपर्नेमा जोड दिँदै उहाँले साम्राज्यवादविरुद्ध लडेका इतिहासबारे प्रकाशनमार्फत नेपाली जनतालाई जानकारी दिनु उपयुक्त हुने विचार राख्नुभयो ।
उहाँले भन्नुभयो, “दोस्रो विश्वयुद्धमा प्रयोग भएको भन्दा बढी वमले क्षतविक्षत भएको प्रजग कोरिया आज संरा अमेरिकालाई चुनौती दिनसक्ने देश बन्नुको कारण प्रजग कोरियाली नेतृत्व र जनतासँग प्रस्ट लक्ष्य हुनु हो ।”
प्रजग कोरियाले एकातिर साम्राज्यवादविरुद्ध लडिरहेको र अर्कोतिर आफ्नो देशको आर्थिक विकास पनि गरिरहेको उहाँको भनाइ थियो ।
प्रजग कोरियाले आफूलाई चाहिने सामग्री आफ्नै देशमा बनाइरहेको चर्चा गर्दै उहाँले भन्नुभयो, “प्रजग कोरियाली सरकार प्रतिनिधि विदेश गए आफ्नो देशको सेवा गर्न खोज्छन् तर नेपालका मन्त्रीहरू विदेशमा जाँदा माग्नेसिवाय केही गर्दैनन् ।”
संरा अमेरिकी राष्ट्रपति ट्रम्प र विदेश सचिव माइक पम्पेओजस्ता युद्धपिपासु नेतृत्वकै कारण संसारमा अशान्ति बढिरहेको चर्चा गर्दै उहाँले ट्रम्पलाई भियतनाममाथि हमला गर्ने पूर्वराष्ट्रपति जोन्सनसँग तुलना गर्नुभयो ।
कार्यक्रममा नेपालका लागि प्रजग कोरियाली राजदूत जो योङ मानले कोरिया पुनःएकीकरण र प्रजग कोरियाको वर्तमान अवस्थाबारे विस्तृत चर्चा गर्नुभयो । उहाँले संरा अमेरिकाले भनेका कुरा मान्दै जाने हो भने प्रजग कोरियालाई लिविया र इराकलाई जस्तै ध्वस्त बनाउने खतरा रहेको बताउनुभयो ।
प्रजग कोरियाको आणविक कार्यक्रमबारे चर्चा गर्दै उहाँले संरा अमेरिकासहित पश्चिमा देशहरू सामेल अन्तर्राष्ट्रिय आणविक ऊर्जा सङ्गठन (आईएईए) ले प्रजग कोरियाको सार्वभौम अधिकारविपरीत आणविक केन्द्र अनुगमन गर्ने र दुईवटा सैनिक केन्द्र स्थापना गर्ने प्रस्ताव गरेपछि त्यसबाट प्योङयाङ फिर्ता भएको धारणा प्रस्ट पार्नुभयो ।
उहाँले प्रजग कोरियामा सरकारी अधिकारीहरूलाई फाँसी दिएको जस्ता समाचार असत्य भएको प्रस्ट पार्नुभयो ।
“हरेक देशका आ–आफ्ना कानुन हुन्छन् । कानुनको पालना नगर्नेलाई सरकारले कानुनअनुसार सजाय गर्छ । तर, पश्चिमा सञ्चारमाध्यमले प्रचार गरेजस्तो प्रजग कोरियामा भइरहेको सत्य होइन”, राजदूत जोले भन्नुभयो ।
प्रजग कोरिया पहाडी भूभागको देश हुनाले मनसुन याम ढिला हुँदा प्राकृतिक कारणले सुख्खा हुने कुरा सही भएको तर कोरियाली जनताले प्रत्येक सानोभन्दा सानो जग्गामा समेत बालीनाली लगाएर देशको कृषि उत्पादन बढाइरहेको उहाँले प्रस्ट पार्नुभयो ।
उहाँले संरा अमेरिकाले सबै समस्याको समाधान शक्तिको आधारमा खोजेको हुँदा समस्या बल्झिने गरेको विचार राख्दै वाशिङ्टनकै बलजफ्तीको कारण भियतनाममा भएको दोस्रो शिखर वार्ता बिनानिष्कर्ष टुङ्गिएको र पहिलो सिङ्गापुर वार्ताको वक्तव्य पनि मृत दस्तावेज बन्ने आशड्ढा रहेको बताउनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव तथा विदेश सम्बन्ध विभागका प्रमुख प्रेम सुवालले इराकमा आर्र्ईएईएले जैविक हतियार लुकाएको भनी संरा अमेरिकी नेतृत्वको साम्राज्यवादी मोर्चालाई हमला गर्न लगाएको तर हमलाबाट इराक ध्वस्त भएपछि जैविक हतियार नभएको भनी दोहोरो कुरा गरेको बताउनुभयो ।
उहाँले साम्राज्यवादीहरू प्रजग कोरियासँग भएका सबै हातहतियार नष्ट गर्न लगाएर लिविया र इराकलाई जस्तै ध्वस्त बनाउन खोजिरहेको बताउनुभयो ।
सचिव सुवालले प्रजग कोरियाले गरिरहेको साम्राज्यवादविरोधी सङ्घर्ष र दुई कोरिया एक हुनुपर्ने पुनःएकीकरणको मुद्दामा नेमकिपाले ऐक्यबद्धता जनाउँदै आएको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य रवीन्द्र ज्याख्व, कोरिया अध्ययन मण्डल नेपालका अध्यक्ष राजेन्द्र चवाल, सदस्य धीरेन्द्रमान बिजुक्छेँलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *