भर्खरै :

गुठी विधेयकको सामन्तवादविरोधी प्रावधान सकारात्मक

भक्तपुर, ३१ जेठ । नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रतिनिधिसभाका सदस्य प्रेम सुवालको प्रमुख आतिथ्यमा ‘भक्तपुरको आर्थिक विकासका अवसर र चुनौती’ विषयक साक्षात्कार कार्यक्रम शुक्रबार सम्पन्न भयो ।
भक्तपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भएको उक्त कार्यक्रममा अतिथि सुवालले भक्तपुर नगरपालिकालाई सांस्कृतिक नगरको रुपमा विकास गरी मृत्तिका कला, हस्तकला, मूर्तिकला, प्रस्तरकला चित्रकलाजस्ता उद्योगलाई प्रवद्र्धन गर्नुपर्नेमा जोड दिनुभयो ।
कृषि उत्पादनमा आत्मनिर्भर हुनसक्ने देशमा सरकारको बेवास्ताको कारण वर्षको खर्बौँ रुपैँयाको खाद्यान्न आयात भइरहेको र यसले व्यापार घाटा बढाएको उल्लेख गर्नुभयो ।
शिक्षा, खेलकुद, हाजिरीजवाफ, चित्रकलामा अगाडि बढेको भक्तपुर जिल्ला उद्योग–व्यापारको क्षेत्रमा पनि इमानदार हुनुपर्ने आवश्यकता औँल्याउँदै सांसद सुवालले भन्नुभयो, “इमानदारहरुले मात्र सबैको अगाडि शिर ठाडो पारेर हिँड्न सक्छन् ।”
गुठी विधेयकले सामन्तवादको अवशेषलाई समाप्त पार्ने र मोही किसानलाई जग्गाको स्वामित्व दिने प्रावधान उपयुक्त नै भएको चर्चा गर्दै उहाँले संस्कृति र सम्पदा संरक्षण तथा यसको आम्दानीको व्यवस्थापन गर्ने जिम्मेवारी नगरपालिका र गाउँपालिकालाई दिने प्रावधान विधेयकमा राख्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
काठमाडौँ वा अन्य केही सहरमा जनसङ्ख्याकेन्द्रित गर्नु देशको सन्तुलित विकास नहुने चर्चा गर्दै सांसद सुवालले काठमाडौंँ र भक्तपुरको उत्तरी क्षेत्रमा १ लाख ३० हजार रोपनीमा आवास विकास गर्ने सरकारी योजना देशको सन्तुलित विकासविपरीत भएको स्पष्ट पार्नुभयो ।
भक्तपुर नेपालकै सानो जिल्ला भएकोले ठूलो उद्योग स्थापना र सञ्चालनको सम्भावना नभएको उल्लेख गर्दै सांसद सुवालले भक्तपुर औद्योगिक क्षेत्र बस्ती बीचमा परेको हुँदा आ.व. २०७३÷७४ को बजेट वक्तव्यको प्रतिबद्धताअनुसार स्थानान्तरण गर्नुपर्ने, पर्यटनमा आधारित उद्योग सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।
पर्व–संस्कृति सञ्चालनको लागि यसअघि गुठी जग्गा रैतानीबाट प्राप्त अर्बौँ रुपैयाँ र अब प्राप्त हुने अर्बौँ रुपैयाँको अक्षय कोषले स्रोत व्यवस्थापन हुने उल्लेख गर्दै पशुपति र अन्य मठहरुको आम्दानी केही व्यक्तिको हातमा गइरहेकोलाई जनताको संस्कृति संरक्षणमा उपयोग गर्ने नीति गुठी विधेयकमा राख्नु उपयुक्त हुने बताउनुभयो ।
देशमा राजनीतिक स्थिरता कायम नभएको, भारतको हालै सम्पन्न निर्वाचनमा निर्वाचितहरु आधाभन्दा बढीको विगत आपराधिक गतिविधिमा संलग्न भएको समाचार प्रकाशित भएजस्तै नेपालको संसद्को स्थिति पनि त्यस्तै हुने चिन्ता बढेको चर्चा गर्दै सांसद सुवालले चुनावमा पैसा–सामान बाँडेर भोज खुवाएर जितेकाहरुबाट स्थिर सरकार सम्भव नभएकोे बताउनुभयो ।
भक्तपुर नगरपालिका वडा नं. १ (साविक वडा नं. १७) को १०८ रोपनी जग्गामा भनपाको ख्वप विश्वविद्यालय र मेडिकल कलेज सञ्चालन गर्ने भक्तपुरका जनताको साझा इच्छा भएको उल्लेख गर्दै विदेशी लगानीले नेपालका देशभक्त उद्योगी र व्यापारीहरु नाङले पसलमा झर्ने यथार्थ ७ अर्ब रुपैयाँ विदेशी लगानी गर्नेले २६ अर्ब रुपैयाँ मुनाफा लगेबाट स्पष्ट भएको औँल्याउनुभयो ।
सांसद सुवालले खोना–बोङाको सम्पदा र कृषि क्षेत्र विनाश हुने गरी विनाडीपीआर द्रुतमार्ग निर्माण सुरु गरिएको खारेज गर्नुपर्ने उल्लेख गर्दै अख्तियारका अनुसार १८४८ वटा ठेक्का सम्झौता अलपत्र अवस्थामा रहेको र २३ अर्ब रुपैयाँभन्दा बढी परिचालन पेश्की लिएका ठेकेदारले काम सुरु नै नगरेको बताउनुभयो ।
अख्तियार, राजस्व, सम्पत्ति शुद्धीकरण, राष्ट्रिय सतर्कता केन्द्र आदि प्रधानमन्त्री कार्यालयअन्तर्गत ल्याइए पनि आर्थिक अनुशासन कायम नभएको उल्लेख गर्दै उहाँले भ्रष्टाचार र अनियमितता बढेकोमा प्रम र सरकारमा गएका पार्टीहरु नै दोषी भएको बताउनुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य सङ्घका प्रथम उपाध्यक्ष प्रदीप श्रेष्ठ, भक्तपुर उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष युवक राजभण्डारी र भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष रामप्रसाद प्रजापतिलगायतले बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *