भर्खरै :

वागीश्वरीमा ‘चीनविरुद्ध अमेरिकी व्यापार युद्ध’ बारे अन्तरक्रिया

भक्तपुर, ३२ जेठ । नेपाल प्राध्यापक समाज (नेप्रास), वागीश्वरी कलेज एकाइको आयोजनामा ‘चीनविरुद्ध अमेरिकी व्यापार युद्ध’ बारे शनिबार अन्तरक्रिया भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवम् नेप्रासका अध्यक्ष सरोजराज गोसाईले आर्थिक शक्तिको रूपमा उदाउँदो चीनको प्रगतिमा अवरोध खडा गर्न अमेरिकी साम्राज्यवादले चीनविरुद्ध व्यापार युद्ध छेडेको धारणा राख्नुभयो ।
उहाँले अमेरिकी साम्राज्यवादको युग समाप्तिको दिशामा गइरहेको भन्दै चीनविरुद्धको युद्धले विश्वलाई नै नकारात्मक असर पर्ने बताउनुभयो । उहाँले चीनको समृद्धि सन् १९४९ को चिनियाँ क्रान्तिको जगमा अडिएको भन्दै चिनियाँ शैलीको समाजवादले सफलता पाएको उल्लेख गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घका अध्यक्ष ज्ञानसागर प्रजापतिले विश्वव्यापिकरणको वकालत गर्ने संरा अमेरिका आफै राष्ट्रिय उद्योगको संरक्षणको नीति लिन थालेको भन्दै ग्लोवलाइजेसनले अमेरिका आफैलाई समाप्त पारेको उदाहरण हो भन्नुभयो ।
उहाँले पुँजीवादी व्यवस्थामा पुँजीपति वर्गबीच घाँटी रेट्ने प्रतिस्पर्धा हुने भन्दै सानो माछालाई ठूलो माछाले खाने व्यवस्था कामदार वर्गको निम्ति उपयुक्त नभएको विचार राख्नुभयो ।
वागीश्वरी माविका प्रधान अध्यापक कृष्णप्रसाद धन्छाले विश्वमाथि संरा अमेरिकाको दबदबा अन्तको निम्ति चीन अगाडि बढेको भन्दै चीनको प्रगतिले नेपालजस्ता विकासशील तथा अल्पविकसित देशले फाइदा पाउने विचार राख्नुभयो ।
वागीश्वरी कलेजका प्राचार्य धनकुमार श्रेष्ठले प्राध्यापकहरूले समसामयिक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विषयवस्तुमा आफ्नो विचार सार्वजनिक गर्नुपर्ने भन्दै युवा पुस्तालाई सचेत बनाउनु पर्ने बताउनुभयो ।
डा. बलराम दुवालले अमेरिका–चीन बीचको व्यापार युद्धले नेपालजस्ता देशहरू पनि प्रभावित हुने भन्दै यो युद्धमा अमेरिकाले सफलता नपाउने उल्लेख गर्नुभयो ।
नेप्रास, वागीश्वरीका अध्यक्ष ग्याहेन्द्र दाहालको सभापतित्वमा भएको कार्यक्रममा प्राध्यापकहरू सुशीला कर्माचार्य, जगनाथ खतिवडा, भानु होमागाईं, मनोज दिदिया, रवीन्द्र किवानायोलयायतले आफ्नो विचार राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *