भर्खरै :

शैक्षिक अनुभव’ बारे अन्तरक्रिया

भक्तपुर, ३२ जेठ । सेवा निवृत्त शिक्षक समाज भक्तपुरले निवृत्त शिक्षक र प्रधानाध्यापकहरूबीच शनिबार ‘शैक्षिक अनुभव’ स्मारिका अङ्क ५ बारे एक अन्तरक्रिया कार्यक्रमको आयोजना ग¥यो ।
सेवा निवृत्त शिक्षकहरूलाई परिचालन गर्न, क्रियाशील बनाउन, आ–आफ्ना अनुभवहरू साटासाट गरेर बौद्धिक क्षितिजलाई फराकिलो पार्ने उद्देश्यले निरन्तर प्रकाशित ‘शैक्षिक अनुभव’ को अन्तरक्रिया कार्यक्रममा नेमकिपाका केन्द्रीय सचिव एवम् सांसद प्रेम सुवालले भक्तपुरलाई शिक्षा र संस्कृतिको केन्द्र बनाउने लक्ष्यअनुरुप शिशुस्याहार केन्द्रदेखि कलेजसम्म भनपाले सञ्चालन गरिरहेको बताउनुभयो ।
राज्यले सरकारी तलब खाने कर्मचारीका सबै सन्तान सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था गर्नुपर्ने विचार व्यक्त गर्दै उहाँले ख्वप विश्वविद्यालय स्थापनामा सरकारले पूर्वाग्रह राखेरै संसदमा प्रस्ताव नल्याएको बताउनुभयो ।
साम्राज्यवादी देश अमेरिकाले संसारका स्वाधीन मुलुकलाई आक्रान्त बनाइरहेको चर्चा गर्दै विश्व शान्तिको निम्ति अघि बढ्नुपर्ने संयुक्त राष्ट्र सङ्घ अमेरिकाको कठपुतली बनिरहेको प्रकाश पार्नुभयो ।
भारतमा झैँ नेपालमा पनि राजनीतिक व्यक्तित्वहरू आपराधिक क्रियाकलापमा संलग्न भइरहेकोमा चिन्ता व्यक्त गर्दै सांसद सुवालले समृद्ध देश बनाउने ध्वाङ फुकिरहेको बेला नेपालको अर्थतन्त्र कमजोर बन्दै गइरहेको औँल्याउनुभयो ।
पर्ती जग्गा सरकारीकरण गर्ने सरकारको योजना कार्यान्वयन गर्नुपर्नेमा जोड दिँदै उहाँले गुठी जग्गामा पनि मोहियानी कायम गर्नुपर्छ भन्नुभयो ।
सेवा निवृत्त शिक्षक समाज भक्तपुरका अध्यक्ष एवम् कार्यक्रमका सभापति नाति कवांले कार्ल माक्र्सको जीवनीबारे समीक्षा गर्नुभयो भने निवृत्त शिक्षक नरेन्द्रभक्त हाडाले ‘सम्मान कार्यक्रमबारे समाजको धारणा’ बारे टिप्पणी गर्दै रोगबाट पीडित निवृत्त शिक्षकहरूलाई आर्थिक सहयोग गर्न कोषको व्यवस्था गर्नुपर्ने सुझाव दिनुभयो ।
अम्बिकामान मानन्धरले ‘आमाबाबुप्रति छोराछोरीको दायित्व’ बारे आफ्नो विचार राख्दै आमाबाबुलाई हेरविचार र पालनपोषण गर्नुभन्दा बाबुआमाकै सम्पत्ति खोज्ने प्रवृत्तिको विकास भइरहेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
विष्णुभक्त राजचलले ‘प्रहरी सेवा’ विषयक लेखबारे समीक्षा गर्दै सबैले इमानदारीपूर्वक पदीय दायित्व निर्वाह गरे देश र जनताको सेवा हुने बताउनुभयो ।
उद्धव सुजखूले ‘ख्वप नगरको भौगोलिक परिचय’ बारे टिप्पणी गर्दै एक्काइसाँै शताब्दीको यो विज्ञान र प्रविधिको युगमा किंवदन्तीको प्रसङ्गभन्दा विज्ञानसम्मत विचारमा जोड दिनुपर्छ भन्नुभयो ।
कान्छा बासुकलाले ‘मौलिक पर्व सिथि नखा’ बारे समीक्षा गर्दै हाम्रो संस्कारको व्याख्या हामीले नै गर्ने हो अरुले होइन भन्नुभयो भने शान्ति निकेतन माविका प्रअ महेन्द्रगोपाल कर्माचार्यले ‘आफूलाई नियाल्दा’ लेखको टिप्पणी गर्दै शिक्षकको विवरणभन्दा आ–आफ्नो अनुभूति उल्लेख भए शिक्षाप्रद हुने बताउनुभयो ।
उक्त अन्तरक्रिया कार्यक्रममा शारदा माविका रोशनराज तुइतुईले ‘शिक्षाको सङ्क्षिप्त सिंहावलोकन समस्या र समाधान’, विश्वनाथ प्रजापतिले ‘शैक्षिक यात्रा र मेरो अनुभव’, विश्वराम कवांले ‘स्थानीय पाठ्यक्रम निर्माणबारे केही कुरा’, मजदुर दैनिकका सम्पादक विष्णुगोपाल कुसीले समग्र शैक्षिक अनुभवबारे समीक्षा गर्नुभएको थियो ।
कार्यक्रममा रामगोपाल कर्माचार्यले स्वागत मन्तव्य दिनुभयो भने सजीव श्रेष्ठले कार्यक्रमको औचित्यबारे प्रकाश पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *