भर्खरै :

गुठी विधेयकबारे अन्तरक्रिया

भक्तपुर, ३२ जेठ । नेपाल मजदुर किसान पार्टी जिल्ला समिति भक्तपुरको आयोजनामा शनिबार प्रस्तावित गुठी विधेयक, २०७५ काबारेमा अन्तरक्रिया कार्यक्रम भयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव एवम् प्रतिनिधिसभाका सदस्य पे्रम सुवालले जमिनको आधारमा शासन गर्ने सामन्तवादलाई समाप्त पार्ने र जोताहा मोही किसानलाई रैतानीमा परिणत गर्न दिने व्यवस्था उपयुक्त हुने बताउनुभयो ।
सांसद सुवालले भन्नुभयो, “विधेयकमा उल्लेख गुठी प्राधिकरण र प्रदेश गुठी व्यवस्थापन समितिको काम नगरपालिका र गाउँपालिकालाई दिएर संस्कृति र सम्पदा संरक्षणको जिम्मा लगाउनु आवश्यक छ । पशुपति, जनकपुरलगायतका मठहरूको आम्दानीको स्रोत व्यवस्थापन र खर्चको लेखा दुरुस्त हुनु आवश्यक छ । पशुपतिको २३१ रोपनी जग्गा गायब पारिएको पत्ता लगाउनुपर्छ र चढाएको सुन चाँदीको पनि खोजी हुनुपर्दछ । धार्मिकस्थल, पोखरी, वाग–बगँैचा, खुला जग्गा व्यक्तिको नाममा दर्ता गरिएको अविलम्ब खारेज गरी सार्वजनिक गरिनु आवश्यक छ ।”
कार्यक्रममा नेपाल क्रान्तिकारी किसान सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द दुवालले पञ्चायतले बनाएको गुठी ऐन किसानको हितमा नभएकोले नेक्राकिसङ्घले आन्दोलनको नेतृत्व गरेको स्मरण गराउँदै किसानको हितविरुद्ध कसैले कानुन बनाउन खोजे आन्दोलन गर्ने चेतावनी दिनुभयो । अन्यायको विरोधका सबै किसान एक हुनुपर्नेमा जोड दिँदै उहाँले केही मठाधीश र सामन्तहरूले किसानलाई गुठी जग्गा रैतानी गर्न दिननहुने भनिरहेको बताउनुभयो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष न्हुछेभक्त फोंजू, जिल्ला समितिका सदस्य पाण्डव सुवाल, कानुन अध्ययन समाज नेपालका सदस्यहरू गम्भिरमान ज्याख्व र राजु कैतीले गुठी विधेयक र मौजुदा ऐनको बारेमा बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *