भर्खरै :

पाँचखालमा युवा–विद्यार्थीले गरे समसामयिक विषयमा जनसभा

काभ्रे, ३२ जेठ । देशको समसामयिक राजनीतिबारे नेपाल क्रान्तिकारी युवा सङ्घ र नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घ काभ्रेले पाँचखाल समाजकल्याण चोकमा कोणसभा सम्पन्न गरेका छन् ।
सभामा नेपाल मजदुर किसान पार्टी पाँचखाल नगर समितिका अध्यक्ष धनबहादुर तामाङले कर्मचारीको तलब बृद्धि गरेर नेपाली जनतालाई महँगीको भार बोकाउनुभन्दा महँगी नियन्त्रण गरे जनताको हित हुने बताउनुभयो ।
“सरकार भ्रष्टाचारले बदनाम भएको छ । पाँचखाल नगर पालिकामा पनि भ्रष्टाचार भएको चर्चा छ । जनप्रतिनिधिहरूले पनि जनतालाई मनपरि कर लाद्ने काम गरेका छन्”, उहाँले भन्नुभयो ।
नेक्रायुसङ्घका भक्तपुर जिल्ला अध्यक्ष मीनबहादुर बाटाले गुठी बिधेयकबारे छलफल र विवेचना हुनु आवश्यक भएको, हचुवा टिकाटिप्पणी गरेर जनतामा भ्रम फैलाउन नहुने विचार राख्नुभयो ।
“सामन्त मठाधिशहरू किसानले उब्जाएको बाली खाएर मोटाएका थिए, जोताहा किसानलाई मोहियानी हक दिनुपर्ला भनि आतिएर सोझासिधा जनतालाई धर्म, परम्परा र संस्कृति लोप गर्न गुठी बिधेयक ल्याएको भ्रम फैलाएका छन्”, उहाँले भन्नुभयो ।
कोणसभामा नेक्रायुसङ्घ पाँचखालका अध्यक्ष सूर्यलाल तामाङ, बनेपा नगर समितिका अध्यक्ष ज्ञानेन्द्र डंगोल, सचिव ओमप्रसाद मानन्धर, नेक्रामजदुर सङ्घ काभ्रेका उपाध्यक्ष रविन तामाङ र नेक्राविसङ्घ काभ्रेका सदस्य सुमन न्यौपानेले समसामयिक राजनीतिबारे बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *